पोखरा, हाइकर्स क्लब नेपालको नियमित हाइकिङ कार्यक्रमको ७३ औँ शृङ्खला पोखरा महानगरपालिका वडा नंं १३ काहुँखोलाबाट आर्वा गाउँ, महाप्रभुधाम हुँदै विजयपुर पोखरी गाउँसम्म पुगेर सम्पन्न भएको छ । ५० भन्दा बढि सहभागीहरूले आर्वा र विजयपुर गाउँको ग्रामीण परिवेश, प्राकृतिक सौन्दर्य, स्थानीय जीवनशैली तथा धार्मिक महत्व बोकेका स्थलहरूको अवलोकन गरेका थिए ।
आर्वाका स्थानिय युवाहरु केदार बराल, माधव बराल र विजयपुर पोखरी गाउँका मोती विक.ले हाइकिङ रुट देखाउन सहजीकरण गरेका थिए भने गाउँमा चण्डेश्वरी तमु आमा समुहकी अध्यक्ष धनकुमारी गुरुङ र पदाधिकारी तथा सदस्यहरु, स्थानिय आमा दिदीबहिनी लगायतले फुलगुच्छा र अविर खादाले हाइकर्स समुहलाई भव्य स्वागत गरेका हाइकिङ संयोजक रन पाटामगरले वताए ।
आर्वा गाउँको सिरानमा रहेको महाप्रभुधाम विकास समितिका अध्यक्ष नुमराज बरालले निर्माणधिन धामको बारेमा जानकारी गराएका थिए।
हाइकर्स क्लब नेपालका अध्यक्ष कृष्ण रानाभाटले पदयात्रामा सहभागी हाइकर्सहरूले ग्रामीण क्षेत्रका प्राकृतिक तथा सांस्कृतिक सम्पदालाई नजिकबाट नियाल्दै स्थानीय पर्यटनको सम्भावनाबारे समेत जानकारी लिएको गुरुकुल खबरलाई बताए । यस्ता पदयात्राले स्थानीय क्षेत्रमा आन्तरिक पर्यटनको प्रबर्द्दन गर्नुका साथै स्वस्थ जीवनशैली अपनाउन प्रेरणा दिने पोखरा विश्वविद्यालयका प्राध्यापक युवराज त्रिवाठीले वताए ।















