Play

मोदीखोलाको बाढीको बितण्डा: ५ सय मिटर सडक बग्दा घान्द्रुक, घोरेपानी र एबिसी पुग्ने सडक पूर्ण रुपमा अबरुद्ध

बाढीले दुवै तर्फका पुल बगाएपछि मन्दिरमा फँसेका पुजारी सहित तीनजनाको सकुशल उद्वार


गुरुकुल खबर


पोखरा, कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित मोदीखोलामा आएको बाढीका कारण प्रशिद्द पर्यटकीय गाउँ घान्द्रुक सहित घोरेपानी, उल्लेरी, अन्नपुर्ण बेस क्याम्प लगायतका क्षेत्रमा पुग्ने सडक पूर्ण रुपमा अबरुद्ध बनेको छ। बिरेठाँटीको उत्तरपट्टीको करिब ५ सय मिटर पक्की सडक मोदी खोलाको बाढीले बगाउंदा बिरेठाँटी हुँदै त्यस क्षेत्रका पर्यटकीय गन्तब्यमा स्वदेशी एबम बिदेशी पर्यटकहरु जना नसक्ने अबस्था सिर्जना भएको हो। बाढीले अन्नपूर्ण गाउँपालिकाको नयाँपुल-घान्द्रुक सडक खण्डमा पनि ठुलो क्षति पुर्‍याएको छ ।

अन्नपुर्ण गाउँपालिकाका पुर्व अध्यक्ष समेत रहेका नेपाली काँग्रेस कास्कीका उपसभापति युबराज कुँवरका अनुसार पक्की सडक खोलाले बगाएपछि त्यस क्षेत्रका स्थानीय बासिन्दा र सर्वसाधारण समेत आवत जावत गर्न समस्या उत्पन्न भएको छ। हाल उक्त स्थानबाट पैदल यात्रा गर्न समेत नमिल्ने भएको कारण माथिल्लो भाग घुमेर स्थानीय मानिसहरु आवतजावत गर्न बाध्य भएका छन।

राष्ट्रिय एबम अन्तराष्ट्रियस्तरमा पर्यटकीय गन्तब्यको रुपमा परिचित ठाउँमा पुग्ने सडक पूर्ण रुपमा अबरुद्ध बनेपछि शुक्रबार बिहान देखि नै त्यस क्षेत्रको अवलोकन गर्ने जनप्रतिनिधिहरु र सरकारी अधिकारीहरु त्यहाँ पुगेका थिए। कास्की कांग्रेसका उपसभापति कुँवरका अनुसार अन्नपुर्ण गाउँपालिकाका अध्यक्ष लगायतका जनप्रतिनिधि र गण्डकी प्रदेशका सांसद प्रकाश बराल सहितको टोलीले उक्त स्थानको अवलोकन गरेपछि स्थानीय सरकार, गण्डकी प्रदेश सरकार र संघिय सरकारसंग यथाशिघ्र समन्वय गरेर सडक निर्माण गर्न पहल गरिने भएको छ।

कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङसहित जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुले पनि घटनास्थलको निरिक्षण गरेका छन। बाढीका कारण नयाँपुलमा रहेका बिजुलीका पोलहरु समेत ढलेकाले बिरेठाटी क्षेत्रमा विद्युत आपुर्ती बन्द भएको छ । ‘ठुलो बाढीका कारण मन्दिर र सडकमा क्षति पुगेपनि मानवीय क्षति भने नभएको सशस्त्र प्रहरी बलका सूचना अधिकारी प्रेमप्रसाद सिग्देलले जानकारी दिए ।

यसैबीच, सोही खोलामा आएको बाढीका कारण स्थानीय मन्दिरमा फसेका ३ जनालाई सुरक्षाकर्मीले सकुशल उद्धार गरेका छन् । आज बिहान सबेरै अर्थात राति २ बजेतिर खोलामा आएको बाढीले अन्नपूर्ण गाउँपालिका ५ र ६ को सिमाना नयाँपुल-बिरेठाटी सडक खण्डमा रहेको उक्त मन्दिरको आधा भाग बगाउनुको साथै माता अन्नपूर्ण मन्दिर जाने दुवैतर्फका फलामे पुल बगाएपछि उनीहरु मन्दिरमै थुनिएका थिए ।

मन्दिरमा पुजारी र भक्तजन फसेको जानकारी पाएपछि सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले बिहान सवा ५ बजेदेखि नै डोरीको सहायताले उद्धार कार्य सुरु गरेको थियो । सशस्त्र प्रहरी जवानहरु देवराज खनाल र सन्तोष बाँनिया डोरीको सहायताले ज्यान जोखिममा पारेर खोला पारि पुगेर डोरी बाँधेपछि सशस्त्र प्रहरी सहायक हवल्दार इन्द्र बहादुर गुरुङ र जवान जनक बुढा थप मद्दतका लागि त्यहाँ पुगेका थिए ।

उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण कालिका कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक शरण बहादुर खड्काको कमाण्डमा १३ जनाको टोली, नेपाल प्रहरीको तर्फबाट वडा प्रहरी कार्यालय बगरका प्रहरी निरीक्षक राम प्रसाद सापकोटाको नेतृत्वमा १६ जनाको टोली घटनास्थल पुगेको थियो ।

उक्त टोलीको प्रयास पछि बिहान ८ बजे ३ जनालाई नै डोरीबाट उद्धार गरिएको थियो उद्वार गरिएकाहरुमा कास्कीको पोखरा- १८ सराङकोट घर भएका २८ वर्षीय प्रदीप ढकाल, सर्लाही घर भई बिरेठाटी माध्यमिक विद्यालयमा पढाउने ३० वर्षीय शिक्षक रेवन्तप्रसाद सिंह र ५२ वर्षीय भारतीय नागरिक (पुजारी) निर्माण गिरी रहेको बुझिएको छ। गिरी विगत ५ वर्षदेखि सोही मन्दिरमा पुजारीको काम गर्दै आएका थिए ।

उनीहरुले जोखिम मोलेर उद्धारमा खटिएका सुरक्षाकर्मीहरुलाई हौसला समेत दिएका थिए । सुरक्षाकर्मीको साहस र समयमै भएको सक्रियताका कारण मन्दिरमा फसेकाहरुको ज्यान जोगिएको स्थानीयले बताए । अवरुद्ध सडक र विद्युत सेवा सञ्चालनका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

२९ श्रावण २०८३, शुक्रबार १५:५८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा