काठमाडौँ, जनआस्था साप्ताहिकका प्रधानसम्पादक एबम प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष रहेका वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरेकोमा बिभिन्न संघसंस्थाले बिरोध प्रदर्शन गरेका छन । यसक्रममा उनको तत्काल रिहाईको माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौँ प्रहरी परिसर भद्रकालीमा धर्ना दिएको छ । समाचारसँग सम्बन्धित विषयलाई लिएर वरिष्ठ पत्रकार श्रेष्ठ पक्राउ परेको घटनाको विरोधमा महासंघले धर्ना दिएको हो ।
यसका साथै पत्रकारहौसंग सम्बन्धित बिभिन्न संघ संस्थाले पत्रकार श्र्स्था पक्राउ गरेकोमा बिरोध गर्दै तत्काल रिहाईको माग गरेका छन। नेपाल मिडिया सोसाइटी, प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन लगायतका संस्थाले सार्बजनिक रुपमा श्रेष्ठ पक्राउ गरेकोमा बिरोध गर्दै रिहाइको माग गरेको छन।
जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष श्रेष्ठलाई बुधबार राति ९ बजे काठमाडौँ प्रहरी परिसरको टोलीले ललितपुरको बागडोलस्थित उनको निवासबाट पक्राउ गरेको थियो । एक युवतीले दिएकाे जाहेरीका आधारमा प्रहरीले श्रेष्ठलाई पक्राउ गरेकाे बुझिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँमा उनिविरूद्ध वैयक्तिक गोपनीयता ऐन सम्बन्धी कसुरमा जाहेरी परेकाे थियाे। साउन २५ मा जनआस्था डटकममा सप्तरी क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद अमरकान्त चौधरीसँग सम्बन्धित एक सामग्री प्रकाशन भएको थियो। समाचारमा नाम जोडिएकी युवतीले प्रहरीमा जाहेरी दिएकी थिइन्।
त्यसपछि श्रेष्ठलाई बिना पक्राउ पुर्जी प्रहरीले नियन्त्रणमा लिएको भएपनि हाल उनलाई औपचारिक रूपमा थुनुवा पुर्जी थमाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई वैयक्तिक गोपनीयता सम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरी हिरासतमा राख्न पुर्जी दिएको हो ।
प्रहरीले जारी गरेको थुनुवा पुर्जी अनुसार दिपिका सिंहको जाहेरीका आधारमा श्रेष्ठविरुद्ध मुद्दा अघि बढाइएको हो । पुर्जीमा वादी नेपाल सरकार र प्रतिवादी किशोर श्रेष्ठलाई बनाइएको छ । ललितपुर महानगरपालिका वडा नं. ३ झम्सिखेल बस्ने ५५ वर्षीय श्रेष्ठलाई वैयक्तिक गोपनीयता सम्बन्धी कसुर मुद्दामा प्रहरी हिरासतमा राखी अनुसन्धान गर्नुपर्ने भएकाले पुर्जी दिइएको उल्लेख छ ।
यसैबीच, पत्रकार किशोर श्रेष्ठलाई समाचार लेखेकै आधारमा प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल मिडिया सोसाइटीले गम्भीर आपत्ति प्रकट गरेको छ। पत्रकारले प्रकाशित गरेको समाचारको विषयमा कुनै गुनासो वा आपत्ति भएमा प्रचलित कानुन तथा प्रेससम्बन्धी स्थापित प्रक्रियामार्फत समाधान खोजिनुपर्नेमा समाचार लेखेकै आधारमा पक्राउ गरिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मूल मर्मविपरीत भएको सोसाइटीको ठहर छ।
पत्रकार तथा सञ्चारमाध्यमले प्रचलित कानुनको पालना गर्नुपर्ने विषयमा आफू स्पष्ट रहेको जनाउँदै नेपाल मिडिया सोसाइटीका महासचिव बोधराज त्रिपाठीले भने, ‘पत्रकारिता तथा प्रकाशित समाचारसँग सम्बन्धित विषयमा कानुनी उपचार खोज्दा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक मूल्य, पत्रकारको व्यावसायिक अधिकार तथा प्रेससम्बन्धी स्थापित मान्यताको पूर्ण सम्मान हुनुपर्छ।’
सोसाइटीले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई तत्काल र निशर्त रिहा गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेको छ। प्रकाशित समाचारका सम्बन्धमा कुनै कानुनी प्रश्न वा आपत्ति भएमा कानुनी प्रक्रियामार्फत समाधान खोज्न सम्बन्धित पक्षलाई आग्रह गर्दै स्वतन्त्र पत्रकारितामाथि हुने कुनै पनि प्रकारको दबाब, हस्तक्षेप वा दमनप्रति सदैव सचेत, प्रतिबद्ध र खबरदारीमा रहने चेतावनीसमेत सोसाइटीले दिएको छ।


















