काठमाडौँ, स्वास्थ्य उपचारको लागि भनेर सिंगापुर र हंगकंग पुगेर लामो समयपछि बिहीबार स्वदेश फर्कन लागेका नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवालाई स्वागत गर्न पार्टीका शीर्ष नेताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जाने भएका छन् । कांग्रेसको संस्थापन इतर (निवर्तमान सभापति देउवा र डा. शेखर कोइराला) समूहले साउन २९ गतेदेखि काठमाडौँमा आयोजना गर्न लागेको राष्ट्रिय भेला तयारी समितिका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा विमानस्थलमा देउवालाई स्वागत गर्न शीर्ष नेताहरू पुग्ने कार्यक्रम तय गरिएको छ ।
‘उहाँ (देउवा)लाई स्वागत गर्न राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा शीर्ष नेताहरू विमानस्थलमा पुग्नुहुन्छ,’ नेपाली कांग्रेसका नेता एबम पुर्व प्रचार बिभाग प्रमुख मिन बिश्वकर्माले भने, ‘निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डा. शेखर कोइरालासहितका पूर्वपदाधिकारी, केन्द्रीय सदस्यहरूसहितको ठुलो समूह उहाँको स्वागतका लागि विमानस्थलमा पुग्ने कार्यक्रम तय भएको छ ।’
कांग्रेस नेता देउवा थाई एयरको विमानमार्फत बिहीबार मध्यान्ह १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ। लामो समयको उपचारपछि स्वदेश फर्कन लागेका नेता देउवालाई स्वागत भव्य स्वागत गर्ने तयारी कांग्रेसको इतर समूहले गरेको हो । गत फागुन १३ गते नेपालबाट स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका देउवा त्यहाँको उपचार सकिएपछि चैत ७ गते थप उपचारका लागि हङकङ पुगेका थिए । देउवा हङकङबाट थाइल्याण्ड पुग्ने र थाइल्याण्डबाटै नेपाल फर्कने कार्यक्रम तय भएको विश्वकर्माले जानकारी दिए ।
गत भदौ २४ गते ‘जेनजी’ आन्दोलनका क्रममा आन्दोलनकारीले देउवा दम्पतीमाथि बूढानीलकण्ठस्थित उनीहरूकै निवासमा मरणासन्न हुने गरी कुटपिट गरेका थिए । त्यसपछि सैनिक अस्पताल छाउनीमा लामो उपचार गरेका देउवा दम्पती थप उपचारका लागि सिंगापुर गएका थिए ।सोही घटनापछि उत्पन्न स्वास्थ्य जटिलताका कारण देउवा लामो समयदेखि विदेशमा उपचाररत रहेको उनको पारिवारिक स्रोतले बताउँदै आएको छ ।
स्वदेश फर्किए लगत्तै देउवा पार्टीको आन्तरिक गतिविधिमा सक्रिय हुने नेताहरूले बताएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले इतर समूहले साउन २९ देखि ३१ गतेसम्म काठमाडौँमा आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचार प्रसार समितिका संयोजक विश्वकर्माले पुष्टि गरे । कांग्रेसभित्र गत पुस अन्तिम साता भएको विशेष महाधिवेशनपछि देखिएको विवाद चरमोत्कर्षमा पुगेको छ । त्यही विवादका बिच इतर समूहले गर्न लागेको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने नेताहरूले प्रचार गरिरहेका छन् ।
यता नेपाली काँग्रेसको बिशेष महाधिबेशनबाट बनेको केन्द्रीय समितिमा रहेका केहि नेताहरुले भने सत्तारुढ दल रास्वपाले नेपाली काँग्रेस भित्र खेलेको आरोप लगाएको छन। ‘रेड कर्नर नोटिस जारी गरेर पक्राउ गर्ने भनेको सरकारले अहिले रेड कार्पेट बिछ्याएर देउवाको स्वागत गर्ने बाताबरण तय गरेको र रातिको समयमा आउने भनेका देउवालाई दिउँसोको समयमा आउने गरि बाताबरण मिलाएको कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जनाएका छन ।
यसैबीच देउवाको नेपाल आगमनको समयमा कास्कीबाट पनि केहि नेताहरु काठमाडौँ पुग्ने भएका छन काठमाडौँमा देउवाको स्वागतको लागि साउन २८ गते र पार्टीको देउवापक्ष अर्थात संस्थापन इतर समुहको राष्ट्रिय सम्मेलनमा सहभागि हुन कास्की जिल्लाबाट पनि ठुलो संख्यामा नेता कार्यकर्ताहरु काठमाडौँ पुग्ने भएका छन।
यसै सम्बन्धमा देउवा पक्षधर् नेता कार्यकर्ताहरुको छलफल एबम बैठक पनि आइतबार पोखरामा सम्पन्न भएको बताइएको छ। बैठकमा कास्कीका कांग्रेस नेताहरु पुर्व केन्द्रीय सदस्य गुरु बराल र शारदा पौडेल, पुर्व आमन्त्रित् केन्द्रीय सदस्य पुष्पराज पराजुली नेताहरु ऋषि काफ्ले, बिरेन्द्र नारायण बिजुक्छे, गणेशबहादुर भट्टराई, दुर्गा प्रसाद तिमिल्सिना, गण्डकी प्रदेशका सांसद सरस्वती गुरुङ, पुष्पमणि भण्डारी, युवाहरु आशिक गुरुङ, जयप्रकाश थापा, पशुपति भट्टराई लगायतका सहभागि रहेको बताइएको छ ।















