पोखरा, पोखरा महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याललाई काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा सरुवा गरिएको छ । बिगत एक बर्षदेखी पोखरामा रहेका उनलाई नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयानुसार काज सरुवामा काठमाण्डौं पठाईएको हो ।
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत रहेका नेपाल सरकारका सहसचिव सरोज गुरागाँई उमेर हदका कारण अनिवार्य अवकाशमा गएको कारण रिक्त पदमा अर्याललाई सरुवा गरिएको हो । अर्यालले गतवर्ष साउनमै पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका थिए ।
मन्त्रिपरिषद्ले बुधबार नेपाल प्रशासन सेवा तथा नेपाल ईन्जिनियरिङ्ग सेवाका सहसचिवहरूको सरुवा गरेको हो । सोही सरुवा अन्तर्गत अर्याल परेका हुन् ।
यसैगरी पूर्वाधार विकास मन्त्रालयका कार्यरत नेपाल ईन्जिनियरिङ्ग सेवाका सहसचिव महेश चन्द्र न्यौपानेलाई गृह मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव रमेश कुमार के।सीलाई कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको छ।














