काठमाडौँ, नेपाली कांग्रेसले वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनको शोकमा तीन दिन पार्टी कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको छ । बुधबार बिहान बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले १३–१५ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको हो ।
बैठकले बिहीबार एक दिन केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने पनि निर्णय गरेको छ । वरिष्ठ नेता श्रेष्ठको स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने निर्णय गरिएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । उनका अनुसार स्वर्गारोहणको १३ औं दिनमा श्रेष्ठको गृहजिल्ला (स्याङ्जा) को कालिगण्डकी राम्दीघाटमा अस्तु विसर्जन गरी जिल्लामा शोक सभाको आयोजना गर्ने निर्णय पनि भएको छ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानेपामा लागिएको र त्यहा उनको पार्थिव शरीरमा कांग्रेस सभापति गगन थापाले पार्टीको झण्डा ओढाउनुको साथै कांग्रेससहित बिभिन्न दलका नेताहरुले अन्तिम श्रद्दान्जली अर्पण गरेका थिए । कांग्रस केन्द्रीय कार्यालयमा पुगेर रास्वपाका सभापति रबि लामिछानेले पनि श्रेष्ठप्रति अन्तिम श्रद्दान्जली अर्पण गरेका थिए । श्रेष्ठको ८३ वर्षको उमेरमा मंगलबार उपचारका क्रममा जावलाखेलस्थित हेलिअस अस्पतालमा निधन भएको थियो।

कांग्रेस सभापति थापाले ७ साउनमा श्रेष्ठलाई पार्टीको वरिष्ठ नेतामा मनोनीत गरिएको घोषणा गरेका थिए । तर, मनोनयनको एक साता नपुग्दै निधन भएपछि कांग्रेसले अग्रज र अनुभवी नेतालाई सदाका लागि विदाइ गर्नु परेको छ ।
वि.सं. २००१ मा जन्मिएका नेता श्रेष्ठले नेपाली लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा थिए । २०१७ सालमा विद्यार्थी जीवनदेखि नै प्रजातन्त्र र लोकतन्त्रको पक्षमा निरन्तर संघर्ष गरेका श्रेष्ठले २०३६ सालको जनमतसंग्रहमा अग्रपंक्तिमा रहेर भूमिका निर्वाह गरेका थिए । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे पार्टीले २०४२ सालमा सुरू गरेको सत्याग्रह, २०४६ सालको जनआन्दोलन र २०६२–०६३ को जनआन्दोलनमा नेता श्रेष्ठले अग्रपंक्तिमा रहेर ऐतिहासिक भूमिका निर्वाह गरेको बताउँछन् ।
‘लोकतन्त्रको स्थापना, शान्ति प्रक्रियाको सफलताका साथै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न उहाँले पुर्याउनुभएको योगदान सदैव स्मरणीय रहने छ,’ आङ्देम्बले शोक वक्तव्य जारी गर्दै भनेका छन् । नेता श्रेष्ठले २०४२ देखि २०४८ सम्म कांग्रेस स्याङ्जाको सभापतिको जिम्मेवारी सम्हालेका थिए । प्रजातन्त्र पुनस्र्थापनापछिको पहिलो आमनिर्वाचन–२०४८ मा उनी स्याङ्जा–१ बाट निर्वाचित भएका थिए ।
२०४८ को आमनिर्वाचनपछि गठन भएको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा कांग्रेसले नेता श्रेष्ठलाई वाणिज्यमन्त्रीको जिम्मेवारी सुम्पिएको थियो । उनी २०५१ को मध्यावधि निर्वाचनमा भने स्याङ्जा–१ बाट पराजित हुन पुगेका थिए । २०५६ को निर्वाचनबाट फेरि प्रतिनिधिसभा सदस्यमा विजयी भएका श्रेष्ठलाई कांग्रेसले मुख्य सचेतक बनाएको थियो । उनले २०५७ मा वन मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।
कांग्रेस विभाजनका क्रममा नेता श्रेष्ठ नेपाली कांग्रेस (प्रजातान्त्रिक) को पक्षमा उभिएका थिए । उनले २०५९ देखि २०६३ सम्म नेपाली कांग्रेस प्रजातान्त्रिकको कार्यवाहक सभापति भएर पार्टी सञ्चालन गरेका थिए । पार्टी एकीकरणपछि नेता श्रेष्ठले उपसभापतिको जिम्मेवारी पाएका थिए। पहिलो संविधानसभा सदस्य निर्वाचन–२०६४ मा स्याङ्जा–२ बाट निर्वाचित भएका थिए । विषम् परिस्थितिमा निर्वाचन जितेका श्रेष्ठलाई पार्टीले भौतिक योजनामन्त्रीको जिम्मेवारी दिएको थियो ।
वरिष्ठ नेता श्रेष्ठ दोस्रो संविधानसभा सदस्य निर्वाचन–२०७० मा समानुपातिकतर्फ संविधानसभा सदस्य बनेका थिए । उनी २०७२ उपप्रधान तथा शिक्षामन्त्री भएका थिए ।















