Play

कांग्रेस नेता श्रेष्ठको निधनमा तीन दिनसम्म पार्टीको झण्डा झुकाईने, स्याङ्जा जिल्लामा शोकसभा गरिने

गुरुकुल खबर


काठमाडौँ, नेपाली कांग्रेसले वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनको शोकमा तीन दिन पार्टी कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको छ । बुधबार बिहान बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले १३–१५ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

बैठकले बिहीबार एक दिन केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने पनि निर्णय गरेको छ । वरिष्ठ नेता श्रेष्ठको स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने निर्णय गरिएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । उनका अनुसार स्वर्गारोहणको १३ औं दिनमा श्रेष्ठको गृहजिल्ला (स्याङ्जा) को कालिगण्डकी राम्दीघाटमा अस्तु विसर्जन गरी जिल्लामा शोक सभाको आयोजना गर्ने निर्णय पनि भएको छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानेपामा लागिएको र त्यहा उनको पार्थिव शरीरमा कांग्रेस सभापति गगन थापाले पार्टीको झण्डा ओढाउनुको साथै कांग्रेससहित बिभिन्न दलका नेताहरुले अन्तिम श्रद्दान्जली अर्पण गरेका थिए । कांग्रस केन्द्रीय कार्यालयमा पुगेर रास्वपाका सभापति रबि लामिछानेले पनि श्रेष्ठप्रति अन्तिम श्रद्दान्जली अर्पण गरेका थिए । श्रेष्ठको ८३ वर्षको उमेरमा मंगलबार उपचारका क्रममा जावलाखेलस्थित हेलिअस अस्पतालमा निधन भएको थियो।

कांग्रेस सभापति थापाले ७ साउनमा श्रेष्ठलाई पार्टीको वरिष्ठ नेतामा मनोनीत गरिएको घोषणा गरेका थिए । तर, मनोनयनको एक साता नपुग्दै निधन भएपछि कांग्रेसले अग्रज र अनुभवी नेतालाई सदाका लागि विदाइ गर्नु परेको छ ।

वि.सं. २००१ मा जन्मिएका नेता श्रेष्ठले नेपाली लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा थिए । २०१७ सालमा विद्यार्थी जीवनदेखि नै प्रजातन्त्र र लोकतन्त्रको पक्षमा निरन्तर संघर्ष गरेका श्रेष्ठले २०३६ सालको जनमतसंग्रहमा अग्रपंक्तिमा रहेर भूमिका निर्वाह गरेका थिए । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे पार्टीले २०४२ सालमा सुरू गरेको सत्याग्रह, २०४६ सालको जनआन्दोलन र २०६२–०६३ को जनआन्दोलनमा नेता श्रेष्ठले अग्रपंक्तिमा रहेर ऐतिहासिक भूमिका निर्वाह गरेको बताउँछन् ।

‘लोकतन्त्रको स्थापना, शान्ति प्रक्रियाको सफलताका साथै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न उहाँले पुर्‍याउनुभएको योगदान सदैव स्मरणीय रहने छ,’ आङ्देम्बले शोक वक्तव्य जारी गर्दै भनेका छन् । नेता श्रेष्ठले २०४२ देखि २०४८ सम्म कांग्रेस स्याङ्जाको सभापतिको जिम्मेवारी सम्हालेका थिए । प्रजातन्त्र पुनस्र्थापनापछिको पहिलो आमनिर्वाचन–२०४८ मा उनी स्याङ्जा–१ बाट निर्वाचित भएका थिए ।

२०४८ को आमनिर्वाचनपछि गठन भएको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा कांग्रेसले नेता श्रेष्ठलाई वाणिज्यमन्त्रीको जिम्मेवारी सुम्पिएको थियो । उनी २०५१ को मध्यावधि निर्वाचनमा भने स्याङ्जा–१ बाट पराजित हुन पुगेका थिए । २०५६ को निर्वाचनबाट फेरि प्रतिनिधिसभा सदस्यमा विजयी भएका श्रेष्ठलाई कांग्रेसले मुख्य सचेतक बनाएको थियो । उनले २०५७ मा वन मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

कांग्रेस विभाजनका क्रममा नेता श्रेष्ठ नेपाली कांग्रेस (प्रजातान्त्रिक) को पक्षमा उभिएका थिए । उनले २०५९ देखि २०६३ सम्म नेपाली कांग्रेस प्रजातान्त्रिकको कार्यवाहक सभापति भएर पार्टी सञ्चालन गरेका थिए । पार्टी एकीकरणपछि नेता श्रेष्ठले उपसभापतिको जिम्मेवारी पाएका थिए। पहिलो संविधानसभा सदस्य निर्वाचन–२०६४ मा स्याङ्जा–२ बाट निर्वाचित भएका थिए । विषम् परिस्थितिमा निर्वाचन जितेका श्रेष्ठलाई पार्टीले भौतिक योजनामन्त्रीको जिम्मेवारी दिएको थियो ।

वरिष्ठ नेता श्रेष्ठ दोस्रो संविधानसभा सदस्य निर्वाचन–२०७० मा समानुपातिकतर्फ संविधानसभा सदस्य बनेका थिए । उनी २०७२ उपप्रधान तथा शिक्षामन्त्री भएका थिए ।

१३ श्रावण २०८३, बुधबार १३:५७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा