पोखरा, कवि सावित्री आचार्यको दोस्रो गीति कविता संग्रह ‘देश परिवेश’ को लोकार्पण शनिबार पोखरामा गरिएको छ। अलिमियाँ वाङ्मय प्रतिष्ठान र दीपशिखा साहित्य सङ्गमले संयुक्त रुपमा आयोजना गरेको एक कार्यक्रममा ५९ वटा गीति कविता समेटिएको उक्त कृति लोकार्पण गरिएको हो ।
कार्यक्रममा दीपशिखा साहित्य सङ्गमका संस्थापक अध्यक्ष रामजी प्रसाद आचार्यले स्रष्टा परिचय प्रस्तुत गर्दै कवि सावित्री आचार्यको संघर्षपूर्ण जीवनयात्रा साहित्यिक योगदान तथा लेखन यात्राबारे प्रकाश पारे । उनले कठिन परिस्थितिका बाबजुद निरन्तर साहित्य साधनामा सक्रिय रहँदै नेपाली साहित्यमा योगदान पुर्याएको उल्लेख गरे ।
कृतिमाथि समीक्षा गर्दै गण्डकी प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ टुकादेवी पौडेल आचार्यले संग्रहमा समावेश गीति कविताहरू मौलिक, संवेदनशील र जीवनपरक रहेको बताइन्। गाउँघर, समाज, संस्कृति र मानवीय अनुभूतिलाई सरल भाषाशैलीमा प्रस्तुत गरिएको उल्लेख गर्दै उनले कृतिका सकारात्मक पक्षसँगै आगामी सिर्जनात्मक यात्राका लागि रचनात्मक सुझावसमेत प्रस्तुत गरिन् ।
बिम्ब कवि तथा प्राज्ञ रमेश श्रेष्ठले सावित्री आचार्यका कविताहरू बजारका कृत्रिम ‘प्लास्टिकका फूल’ जस्ता नभई नेपाली वनपाखा, पहरा र हिमाली काखमा फुल्ने रैथाने ‘सुनाखरी’ जस्तै मौलिक रहेको बताए। उनले ती कविताले आफ्नै माटोको सुवास, गाउँघरको जीवन, संस्कृति र नेपाली समाजको यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गरेको उल्लेख गरे।
पोखरा प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति पद्मराज ढकालले ‘देश परिवेश’ नेपाली गाउँघर, समाज, संस्कृति र जीवनशैलीका मौलिक तथा टिपिकल पक्षलाई जीवन्त रूपमा प्रस्तुत गर्ने कृति भएको बताए। उनले पुस्तकमा समेटिएका विषयवस्तुले पाठकलाई आफ्नै माटो र परिवेशसँग जोड्ने भएकाले सबैले पढ्नुपर्ने पुस्तकका रूपमा यसलाई लिनुपर्ने धारणा व्यक्त गरे ।

कृतिकार सावित्री आचार्यले कार्यक्रममा व्यक्त गरिएको माया र हौसलाप्रति आभार व्यक्त गर्दै आफूलाई आगामी दिनमा अझ सशक्त सिर्जना गर्न ऊर्जा मिलेको बताइन् । उनले साहित्य साधनालाई निरन्तरता दिने प्रतिबद्धतासमेत व्यक्त गरिन् ।
दीपशिखा साहित्य सङ्गमका सल्लाहकार विपिन आचार्यले संग्रहमा गाउँघरका मौलिक विषय, स्थानीय संस्कृति, परम्परा र नेपाली समाजका टिपिकल जीवनपक्षलाई प्रभावकारी रूपमा समेटिएको उल्लेख गर्दै कृतिको सफलताको शुभकामना व्यक्त गरे ।
अलिमियाँ वाङ्मय प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँ तथा दीपशिखा साहित्य सङ्गमका अध्यक्ष गौरव ढुङ्गानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न वक्ताहरूले ‘देश परिवेश’ नेपाली साहित्यका लागि महत्त्वपूर्ण उपलब्धि भएको धारणा व्यक्त गरेका थिए।
कार्यक्रममा संग्रहभित्र समावेश केही गीति कविताको वाचन पनि गरिएको थियो। प्राज्ञ सरस्वती श्रेष्ठ ‘सरु’, प्राज्ञ गायत्री पराजुली, गीता तिवारी, सुजन आचार्य तथा मुक्तक मञ्चका अध्यक्ष अम्बिका भण्डारीले कृतिका कविता वाचन गरेका थिए।कार्यक्रमको सञ्चालन दीपशिखा साहित्य सङ्गमकी महासचिव मनिषा लामिछानेले गरेकी थिइन् ।
















