पोखरा, नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) कास्की र पोखराको काजीपोखरीस्थित कालिका बहुमुखी क्याम्पसबीच प्राज्ञिक तथा शिक्षण दक्षता अभिवृद्धिका लागि एक समझदारी पत्रमा हस्ताक्षर भएको छ। क्याम्पसमा आयोजित एक विशेष कार्यक्रमका बीच नेल्टा कास्कीका अध्यक्ष भूमिराज पण्डित र कालिका बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्राध्यापक विरन्जी गौतमले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका छन।
सम्झौता अनुसार कालिका बहुमुखी क्याम्पसमा अध्ययनरत बिद्यार्थीहरुको अंग्रेजी भाषा शिक्षण दक्षता अभिवृद्धि गर्न नेल्टा कास्कीले विशेष प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्नेछ। उक्त तालिम कार्यक्रमहरू प्रत्येक वर्ष कालिका बहुमुखी क्याम्पसको आर्थिक सहयोग र नेल्टा कास्कीको प्राविधिक तथा व्यवस्थापकीय नेतृत्वमा आयोजना हुने समझदारी भएको छ।
कार्यक्रममा बोल्दै कालिका बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्राध्यापक विरञ्जी गौतमले नेल्टा जस्तो प्रतिष्ठित संस्थासँग सहकार्य गर्न पाउँदा क्याम्पस परिवार खुसि रहेको भन्दै यस किसिमको सहकार्यले क्याम्पसका विद्यार्थी र भावी शिक्षकहरूको व्यावसायिक विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास समेत ब्यक्त गरे।
त्यसैगरी, नेल्टा कास्कीका अध्यक्ष भूमिराज पण्डितले हाल शिक्षण क्षेत्रमा दक्ष र तालिमप्राप्त शिक्षकहरूको अभाव खड्किरहेको अवस्थामा यो कदम निकै फलदायी हुने बताउंदै शिक्षकहरूको व्यावसायिक क्षमता बढाउनुका साथै दुवै संस्थाबीचको शैक्षिक गुणस्तर र सहकार्यलाई थप मजबुत बनाउने विचार व्यक्त गरे।
उक्त हस्ताक्षर कार्यक्रममा नेल्टा कास्कीका उपाध्यक्ष बोधराज गौतम, सचिव डिल्लीराम भट्टराई र तालिम संयोजक मदनप्रसाद बराल लगायतका प्रतिनिधिहरू सहभागी थिए ।
















