पोखरा, विश्व बालश्रम विरुद्धको दिवसको अवसरमा पोखराको लेकसाइडमा सचेतनामुलक कार्यक्रम गरिएको छ । सामुदायिक सेवा केन्द्र बैदामको आयोजना र अनाहत नेपालसँगको सहकार्यमा कार्यक्रम भएको हो पोखराको लेकसिटी कलेजका विद्यार्थीहरूले समाचार, सन्देश, नारा र प्रतीकात्मक रातो दागहरू देखिने सेतो कपडा लगाएर प्रदर्शन गरेका थिए ।
उनीहरुले बालबालिकाको श्रम कहाँ शोषण हुन्छ, कसले शोषण गर्दछ र शोषण गर्नेहरु बिरुद्ध उजुरी गर्ने बारेमा सन्देश मुलक प्रर्दशन गरेका थिए । पोखरा- ६ लेकसाईडको फेवाताल किनार पैदलमार्ग तथा खहरेचोक देखी बाराहीचोकसम्म सचेतना मुलक प्रदर्शनी गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै वडाप्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नमराज भट्टराईले बालबालिकालाई श्रममा लगाउन नहुने बताउदै आफुहरुले बेला बेलामा अनुगमन गर्ने गरेको बताए । उनले पोखरा पर्यटकीय क्षेत्र भएका कारण पोखरा भन्दा बाहिरबाट बालबालिकालाई ल्याएर बालश्रममा लागउने गरेको बताए ।

उनले बालबालिकालाई श्रममा तथा योनजन्य क्रियाकलापमा लगाउनेहरुलाई प्रहरीले कडा कार्वाही गर्दै आएको उल्लेख गरे । यस्ता कार्यक्रमले बालबालिकालाई श्रममा लगाउनेलाई निरुत्साहीत गर्ने उनको भनाई थियो ।
बालबालिका माथी हुने शोषण विरुद्ध जनचेतना जगाउन यस्ता कार्याक्रमहरु सामुदायी सेवा केन्द्र बैदामले गर्दै आएको र आगामी दिनमा पनि आयोजना गर्ने केन्द्रका अध्यक्ष ठाकुर प्रसाद बरालले बताए । उनले पयटकीय क्षेत्र भएका कारण पनि लेकसाइडमा बालश्रमिक धेरै आउने र श्रमशोषणमा पर्ने गरेको बताए । सबैले बालबालिकाका क्षेत्रमा आवाज सशक्त बनाउन सके शोषणमा नपर्ने उनको भनाइ थियो ।
















