पोखरा, मुक्तिनाथ विकास बैंकले स्याङ्जा जिल्लाका विभिन्न विद्यालयमा अध्ययरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत जनजाती तथा दलित विद्यार्थीलाई लक्षित गरी शैक्षिक सामग्री स्वरुप झोला वितरण गरेको हो ।
जेहेन्दार तथा गरिब परिवारका विद्यार्थीलाई प्राथमिकता दिएर बैंकले शैक्षिक सामग्री वितरण गरेको जनाएको छ । बैंकले जिल्लामा पछिल्लो समय पुतली बजार नगरपालिका आसपास क्षेत्रका विद्यालयमा अध्ययरत विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको हो । एक साताको अवधिमा झण्डै ५ सय बिधार्थीलाई झोला वितरण गरेको बैंकले जनाएको छ ।
बैंकले पुतलीबजार नगरपालिका–३ को पुन्यशिला आधारभुत विद्यालयमा अध्ययरत करिब ८०जना विद्यार्थीलाई झोला वितरण गरेको छ भने पुतलीबजार नगरपालिका–९ को कोल्मा बराहचौर माविका करिब १ सय ५० जनालाई शैक्षिक सामग्री प्रदान गरिएको छ । त्यस्तै पुतलीबजार नगरपालिकाकै वडा नं.–१२ को पेल्काचौरस्थित मनकामना माध्यमिक विद्यालयका १ सयभन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री स्वरुप झोला विरतण गरिएको जनाइएको छ ।

शैक्षिक सामग्री वितरण गर्दै मुक्तिनाथ विकास बैंकका संस्थापक तथा संचालक भरतप्रसाद लम्सालले बैंकले निक्षेप संकलन र ऋण प्रबाहसँगै सेवा क्षेत्रका लक्षित वर्गको क्षमता अभिवृद्धिमाआफुनो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको बताए ।उनले समाजमा विभिन्न कारणले पछाडी परेका वर्गलाई बैंकले समुचित रुपमा अवसर प्रदान गर्ने उद्देश्यले सहयोग दिदै आएको बताए ।
शैक्षिक सामग्री विरतणले विद्यार्थीमा हौसला बढाएको भन्दै मनकामना माविका विद्यालय व्यवस्थापन समितिकाअध्यक्ष राजेन्द्र शर्माले पेल्काचौर आसपास क्षेत्रका जनजातीसँगै दलित परिवारका विद्यार्थीलाई झोला वितरणले ठूलो राहत प्रदान गरेको बताए । उनले जेहेन्दार तथा गरिब परिवारका विद्यार्थी लक्षित कार्यक्रमलाई निरन्तरता दिन बैंकलाई आग्रह गरे ।

त्यस्तै कोल्मा बराहचौर माविका प्रधानाध्यापक विजय यादवले राज्यले निरन्तर निगरानीगर्न नसक्ने क्षेत्रमा निजी क्षेत्रमा स्थापित प्रतिष्ठित संस्थाले गर्ने सहयोगले बिधालयको संस्थागत विकासमा महत्वपूर्ण टेवा पुगेको बताए । शैक्षिक सामग्री सहयोग सँगै भौतिक विकासमा सहयोग गर्न पनि उनले आग्रह गरे ।
मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत नगद र जिन्सी सहयोग गर्दै आएको छ । यसका साथै जिल्लाका ग्रामीण भेगका विद्यार्थीलाई शैक्षिक सामग्रीसँगै विभिन्न विद्यालयलाई कम्प्यूटर तथा फर्निचर प्रदान गर्नुको साथै सुरक्षा निकायको लागि आबश्यक सामग्री पनि सहयोग गर्दै आएको छ ।
















