Play

रास्वपा कोशी प्रदेशमा गुटबन्दीको प्रभाव: अध्यक्षमा राईको जितपछि प्रतिष्पर्धी गोमा तामांगद्वारा पार्टी परित्याग

गुरुकुल खबर


पोखरा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कोशी प्रदेशको प्रथम अधिवेशन गुटबन्दीका कारण विवादमा तानिएको छ। प्रदेश कार्यसमितिको निर्वाचनपछि पराजित पक्षले खुलमखुल्ला प्यानल बनाएर चुनाव प्रभावित गरिएको आरोप लगाएको हो। यस अगाडी रास्वपाका नेताहरुले पार्टीभित्र गुटबन्दी नगर्ने उद्घोष गर्दै आएको भएपनि बिभिन्न जिल्ला र प्रदेशमा सम्पन्न अधिबेशनमा चर्को गुटबन्दी देखिएको छ
कोशी प्रदेशको ६१ सदस्यीय कार्यसमिति चयनका लागि विराटनगरमा सम्पन्न निर्वाचनमा सभापति पदका उम्मेदवार चन्द्रबहादुर राई विजयी भएका छन्। तर निर्वाचन प्रक्रियामा संघीय सांसद तथा केन्द्रीय नेताहरूको सक्रिय हस्तक्षेप भएको भन्दै अर्को पक्षले असन्तुष्टि जनाएको छ।
पराजित पक्षका अनुसार मोरङ–२ बाट निर्वाचित सांसद यज्ञमणि न्यौपाने र महामन्त्री भूदेव शाहलगायतका नेताहरूले राईको पक्षमा खुलेर गुटको पक्षमा सक्रियता देखाएका थिए। मतदानअघि नै प्यानलसहितको चिट वितरण गरिएको र त्यसले निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठाएको उनीहरूको दाबी छ।
रास्वपाको कोशी प्रदेश निर्माणमा सुरुदेखि सक्रिय रहेकी तथा कार्यवाहक सभापतिको जिम्मेवारीसमेत सम्हालेकी धरानकी गोमा तामाङ सरिनले सभापति पदमा पराजय भोगेपछि राजनीतिबाट संन्यास लिने घोषणा गरेकी छन्। उनी १सय ४१ मतमा सीमित रहँदा विजेता राईले २८० मत प्राप्त गरेका थिए। अन्य उम्मेदवारमध्ये खगेन्द्र कटुवालले ४१ र चन्द्रकुमार गौलीले २७ मत मात्र प्राप्त गरेका थिए।
परिणाम सार्वजनिक भएपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै गोमा तामांग सरिनले आफू गुटबन्दी र सेटिङको राजनीतिमा विश्वास नगर्ने बताएकी छन्। उनले कथित रूपमा वितरण गरिएको प्यानलको चिट सार्वजनिक गर्दै लेखेकी छन्, “लोकतान्त्रिक पद्धतिमा हार–जित नौलो होइन। तर यसरी चिटै चोराएर अधिवेशन पास गर्न जानिनँ।”
यसअघि पनि उनले सामाजिक सञ्जालमा लेख्दै आफूलाई ‘माथिको ह्विप’ र गुटगत प्रभावका कारण पराजित बनाइएको संकेत गरेकी थिइन्। उनले कोशी प्रदेशमा गुटबन्दीले पार्टीलाई दीर्घकालीन रूपमा असर गर्न सक्ने चिन्ता व्यक्त गरेकी छन्।
यद्यपि, प्यानल वितरण, गुटबन्दी तथा केन्द्रीय नेताहरूको हस्तक्षेपसम्बन्धी आरोपबारे रास्वपाको केन्द्रीय नेतृत्व वा आरोपित नेताहरूले हालसम्म कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक गरेका छैनन्। कोशी प्रदेशको पहिलो अधिवेशनपछि उठेका यी आरोपहरूले रास्वपाभित्र आन्तरिक लोकतन्त्र, संगठनात्मक संस्कार र नेतृत्व चयन प्रक्रियाबारे नयाँ बहस सुरु गराएका छन्।

३० जेष्ठ २०८३, शनिबार ०७:३५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा