पोखरा, पोखराको लेखनाथमा रहेको बेगनासतालमा स्थानीय डुंगा व्यवसायी समितिको आयोजनामा छैटौं संस्करणको पुरुष तथा महिलातर्फ खुला डुंगा दौड प्रतियोगिता हुने भएको छ । यहि जेठ २७ गते हुने डुंगा दौड राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बेगनासतालबारे प्रचारप्रसार गर्ने, तालमा हुनसक्ने दुर्घटनाबाट र सम्भावित जोखिमबाट बच्न सिकाउने, बेगनासतालको महत्व बुझाउने तथा खेलको माध्यमबाट पर्यटन प्रबर्द्दन गर्ने उद्देश्यका साथ यो प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
आयोजक संस्था बेगनासताल डुंगा व्यवसायी समितिका अध्यक्ष नवराज बाँस्तोलाले गुरुकुल खबरलाई दिएको जानकारी अनुसार पुरुषतर्फ बेगनासताल डुंगाघाटबाट रातोटुंडा र कँडेलटुँडाको विचभागसम्म २ किमी दूरीमा तथा महिलातर्फ बेगनासताल डुंगाघाटबाट पिप्लेटुँडासम्म १ किमीको दुरीमा प्रतिस्पर्धा गराइने छ ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय प्रबर्द्दक रहेको डुंगा दौड प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फ प्रथमले १५ हजार, द्वितीयले १० हजार, तृतीयले ५ हजार तथा सान्त्वनाले ३ हजार रुपैयाँ सहित प्रमाणपत्र प्राप्त गर्ने निर्णायक समितिका संयोजक एवं समितिका निवर्तमान अध्यक्ष रबिराज कँडेलले जानकारी दिए ।
प्रतियोगितामा पुरुष र महिलातर्फ गरि २२ टिमको सहभागिता रहने आयोजकको अपेक्षा छ । प्रत्येक टिममा तीनजना डुंगा चालक रहने छन्।
प्रतियोगिता सफल पार्न बेगनासताल डुंगा व्यवसायी समितिका अध्यक्ष नवराज बाँस्तोलाको अध्यक्षतामा मूल आयोजक समिति गठन गरि तयारी तिव्र पारिएको छ । प्रतियोगितामा सहभागी हुनको लागी निशुल्क टिम दर्ताको ब्यबस्था गरिएको छ।
















