Play

पोखरा, भरतपुर र लुम्बिनीको पर्यटन विकास गर्न ‘सिल्भर ट्रयाङ्गल’ अवधारणा सहितको त्रिपक्षिय समझदारी

गुरुकुल खबर


पोखरा, मुलुकका प्रमुख तीन पर्यटकीय तथा धार्मिक गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीको पर्यटन प्रवर्द्धन र विकासका लागि ‘सिल्भर ट्रयाङ्गल’ अवधारणामा सहकार्य गर्ने समझदारी भएको छ । तीनवटा प्रमुख गन्तब्यस्थित स्थानीय तहले संयुक्त रूपमा पर्यटन ब्रान्डिङ, एकीकृत पर्यटन प्याकेज विकास, वार्षिक ट्राभल मार्टको आयोजना तथा अन्तरप्रदेशीय पर्यटन कनेक्टिभिटी विस्तारमा सहकार्य गर्ने समझदारी भएको हो ।

पोखरा भ्रमण बर्ष संयोजन समितिले मंगलवार पोखरामा आयोजना गरेको एक कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, भरतपुर महानगरपालिकाका काबा प्रमुख चित्रसेन अधिकारी र लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक प्रमुख कल्पना हरिजनले समझदारी पत्रमा हस्ताक्षर गर्दै तीनवटा स्थानीय तहले आफ्नो वार्षिक नीति, योजना तथा बजेटमा ‘सिल्भर ट्रयाङ्गल’ अवधारणालाई समावेश गर्ने र सहकार्यको नेतृत्व तथा समन्वय प्रत्येक वर्ष पालैपालो तीनै स्थानीय तहले गर्ने प्रतिबद्दता व्यक्त गरेका छन ।

उक्त समझदारीपत्रमा प्रत्येक वर्ष ‘सिल्भर ट्रयाङ्गल पर्यटन मेला (ट्राभल मार्ट)’ आयोजना गर्ने, आवश्यकता अनुसार व्यवसायदेखि–व्यवसाय (बीटूबी) तथा सरकारदेखि–सरकार (जीटूजी) बैठक सञ्चालन गर्ने र संयुक्त रूपमा पर्यटन प्रवर्द्धन तथा बजार विस्तार अभियान सञ्चालन गर्ने उल्लेख छ । यसका साथै पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर एकीकृत पर्यटन प्याकेज विकास गरिने र तीनवटा गन्तव्यको प्रचारका लागि संयुक्त ब्रोसर, भिडियो तथा डिजिटल सामग्री उत्पादन र वितरण गर्ने सहमति भएको छ । प्रत्येक सहरमा अन्य दुई सहरका प्रमुख पर्यटकीय गन्तव्यबारे जानकारी दिने डिजिटल सूचना बोर्ड स्थापना गर्ने योजना पनि सम्झौतामा समेटिएको छ ।

यसका साथै पर्यटन व्यवसायी, होटल, ट्राभल एजेन्सी तथा स्थानीय समुदायबीच सहकार्य र सञ्जाल विस्तार गर्ने, सांस्कृतिक, शैक्षिक तथा पर्यटन आदानप्रदान कार्यक्रम सञ्चालन गर्ने र पर्यटन प्रवर्द्धनका लागि स्थानीय, प्रदेश तथा संघीय सरकार, नेपाल पर्यटन बोर्ड तथा विकास साझेदार संस्थासँग संयुक्त समन्वय गर्ने विषय पनि समझदारीपत्रमा उल्लेख छ ।

कार्यक्रममा पोखरा महानगर प्रमख धनराज आचार्यले पर्यटनको राजधानीका रूपमा परिचित पोखरा, धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको भरतपुर र भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई एउटै पर्यटन सर्किटमा जोडेर आन्तरिक तथा बाह्य पर्यटकको बसाइ अवधि लम्ब्याउने र उनीहरुले नेपालमा गर्ने खर्च बढाउने उद्देश्यले ‘सिल्भर ट्रयाङ्गल’ अवधारणा अघि सारिएको बताए । ‘विगतका कमी-कमजोरीबाट सिकेर लामो अनुसन्धानपछि यो अवधारणा ल्याइएको हो,’ उनले भने, ‘तीनवटै स्थानीय तहको सहकार्यमा प्रवर्द्धन हुनेछ ।’  हरेक वर्ष तीन स्थानीय तहले पालैपालो अध्यक्षता गर्ने गरी कार्ययोजना तयार गर्ने जानकारी पनि उनले दिए ।

भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख अधिकारीले सिल्भर ट्रयाङ्गललाई जोड्न संयुक्त लोगो, क्यालेन्डर र यातायात सञ्चालनका लागि व्यवसायीसँग सहकार्य गर्ने बताए ।  लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक प्रमुख हरिजनले तीनवटै पालिकाले तीन गन्तव्य स्थललाई जोड्ने गरी आगामी नीति कार्यक्रममा प्राथमिकता दिने समझदारी ऐतिहासिक भएको बताइन् ।  सिल्भर ट्रयाङ्गललाई प्रवर्द्धन गर्न सके एक सातासम्म पर्यटकको बसाइ लम्ब्याउन सकिने उनको भनाइ थियो । पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले चीन र भारतका पर्यटक आकर्षित गर्न सिल्भर ट्रयाङ्गल अवधारणा कोशेढुंगा साबित हुने बताए ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले ‘सिल्भर ट्रयाङ्गल’ अवधारणालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके पर्यटकको बसाइ अवधि लम्बिने र पर्यटन क्षेत्रले थप लाभ लिन सक्ने बताए । उनले सिल्भर ट्रयाङ्गललाई सफल बनाउन बहुपक्षीय सरोकारवालाको सहभागितामा कार्यदल गठन गर्नुपर्ने, पर्यटनका आकर्षक गन्तव्य र गतिविधिलाई एकीकृत गरी पर्यटन प्याकेज विकास गर्नुपर्ने तथा डिजिटल माध्यमबाट प्रभावकारी प्रवर्द्धन र ब्रान्डिङमा जोड दिनुपर्ने बताए ।

पर्यटनविज्ञ विश्वराज सुवेदीले पोखरा-चितवन-लुम्बिनी जोड्ने गरी ७ देखि १० दिनको प्याकेज बनाउन सकिने बताए । पोखरा भ्रमण वर्षका संयोजक गोपीबहादुर भट्टराईले  गन्तव्यहरूलाई जोड्ने, अवसरहरूलाई विस्तार गर्ने, अन्तर्राष्ट्रिय विमानस्थलहरूलाई सक्रिय बनाउने, राष्ट्रिय वेलनेस वर्षलाई सार्थक बनाउने र नेपालको पर्यटनलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यले सिल्भर ट्रयाङ्गलको अवधारणा अघि सारेको बताए । पोखरा, लुम्बिनी र भरतपुरलाई एउटै पर्यटन परिपथका रूपमा विकास गर्ने ‘सिल्भर ट्रायङ्गल’ अवधारणा अगाडि ल्याइएको हो,’ उनले भने।

२६ जेष्ठ २०८३, मंगलवार २०:३७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा