काठमाडौ, प्रधानमन्त्री बालेन्द्र शाहले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी महाविर पुनलाई दिएका छन । म्याग्दीबाट स्वतन्त्र उमेदवारको रुपमा निर्बाचित पुनलाई मंगलवार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा नियुक्त गरिएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री पुन र गृह मन्त्रीमा पुन नियुक्त सुधन गुरुङलाई पद तथा गोपनियताको शपथ गराएका हुन ।

शपथ ग्रहण लगत्तै मन्त्री पुनले मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेकाथिए । उक्त अवसरमा मन्त्री पुनले विज्ञान र प्रविधिको विकासलाई द्रुत गतिमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘विज्ञान प्रविधिको काम सुस्त गतिमा हुँदैन, रातदिन काम गरेर अगाडि बढ्ने हो ।’
मन्त्री पुनले आफू मन्त्री पदमा लामो समय नबस्ने उल्लेख गरे । उनले भने, ‘म यो मन्त्रीको पदमा धेरै बस्दिनँ, सरकार पाँच वर्षको भए पनि म बढीमा तीन वर्ष मात्रै बस्ने हो ।’ आफ्नो कार्यकालमा विज्ञान प्रविधिसम्बन्धी जग बसालेर नयाँ पुस्तालाई जिम्मेवारी दिने उनले बताए । ‘अरु मन्त्रालयको आआफ्नो नियम छ, तर यो मन्त्रालय र मन्त्री नयाँ भएको हुनाले शून्यबाट काम सुरु गर्नुपर्ने छ, नयाँ नियम बनाउनुपर्नेछ ।’ उनको भनाई थियो।
















