पोखरा, विश्व वातावरण दिवस २०२६ का अवसरमा पोखरास्थित जनप्रिय बहुमुखी क्याम्पसका विद्यार्थीहरूले फेवाताल किनारमा सरसफाइ गरेका छन्। वातावरणीय सचेतना जगाउने र पर्यटकको मुख्य आकर्षणको केन्द्र फेवातालको सुन्दरता जोगाउने उद्देश्यले उक्त कार्यक्रम गरिएको हो।
क्याम्पसमा सञ्चालित ‘ब्याचलर इन माउन्टेन टुरिजम म्यानेजमेन्ट’ (BMTM) र ‘मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन’ (MBA) मा अध्ययनरत विद्यार्थीहरू तथा प्राध्यापकहरूको सहभागितामा ताल किनारमा रहेका फोहोर संकलन गरिएको छ। पन्जा लगाएर र सरसफाइका उपकरणहरू प्रयोग गर्दै विद्यार्थीहरूले किनारमा छरिएका प्लास्टिक तथा अन्य फोहोर संकलन गरी उचित व्यवस्थापन गरेका थिए।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले ‘हामीले प्रयोग गर्ने वस्तुबाट निस्कने फोहोरको जिम्मेवारी स्वयं उपभोक्ताको हो’ भन्ने सन्देश प्रवाह गरेका छन्। उनीहरूले सार्वजनिक स्थलको स्वच्छता कायम राख्नु नागरिकको कर्तव्य भएको बताउँदै फेवाताल जस्तो पर्यटकीय क्षेत्रको संरक्षणमा सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिए।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले ताल किनारलाई फोहोरमुक्त बनाउन राज्यका निकायहरूले थप सचेतनामूलक कार्यक्रमहरू नियमित सञ्चालन गर्नुपर्ने र नयाँ र प्रभावकारी नीति ल्याउनुपर्ने खाँचो औँल्याए। पर्यटकहरूलाई समेत वातावरणप्रति जिम्मेवार बनाउन स्थानीय निकायले पूर्वाधार र सूचनामूलक बोर्डहरूको व्यवस्था गर्नुपर्ने सुझाव उनीहरुले दिएका छन।
















