पोखरा, पोखराको पहिलो सामुदायिक क्याम्पस पोखरा बहुमुखी क्याम्पसले यहि जेठ १५ र १६ गते ब्यबस्थापन तथा सामाजिक बिज्ञानमा उदाउँदा प्रवृतिहरु बिषयमा राष्ट्रिय अनुसन्धान सम्मेलन गर्ने भएको छ। शैक्षिक संस्थाहरु केवल शिक्षण कार्यमा मात्र सिमित नरही अनुसन्धान तथा ज्ञान उत्पादन गर्न आंफ्नो भूमिकालाई स्थापित गर्ने तथा ब्यबस्थापन र सामाजिक बिज्ञानको समसामयिक बिषयमा शैक्षिक बहस, अनुसन्धान आदान प्रदान, नीति सम्बाद तथा विश्वबिधालय र समुदायको बिचमा सहकार्य अभिवृद्धि गर्ने उद्देश्यका साथ सम्मेलनको आयोजना गरिएको हो।
पोखरा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख शिशुकला पराजुलीका अनुसार क्याम्पसले पहिलो पटक यस किसिमको सम्मेलन आयोजना गरेको हो । उनले सम्मेलनमा हरित ब्यबस्थापन, डिजिटल बैंकिंग, दिगो बित्त, मानव संसाधन ब्यबस्थापन, स्थानीय शासन, सामाजिक तथा सांस्कृतिक रुपान्तरण, सार्वजनिक नीति लगायतका मुख्य बिषयसंग सम्बन्धित अनुसन्धान पत्रहरु समाबेश गरिने जानकारी दिईन।
क्याम्पस परिसरमा नै आयोजना गरिने दुई दिने सम्मेलनको बारेमा जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय सम्मेलन कार्यक्रम -२०२६ का संयोजक भीमप्रसाद नेउपानेले सम्मेलनमा नेपाल, चिन र थाईल्याण्ड गरि तिन मुलुकका ७ वटा विश्वबिद्यालय र २१ वटा क्याम्पसका ७८ जना अनुसन्धानकर्ताहरुका ५४ वटा अनुसन्धानपत्रहरु प्रस्तुत हुने बताए। सम्मेलनमा पोखरा क्षेत्रका ८ वटा कलेजका अनुसन्धानकर्ताहरुबाट पनि अनुसन्धानपत्र प्रस्तुत गरिने बुझिएको छ ।
सम्मेलनमा गण्डकी विश्वबिधालयका कुलपति डा. इन्द्रप्रसाद तिवारी, त्रिभुवन विश्वबिधालय ब्यबस्थापन संकायका रजिस्टार प्रा. डा. महानन्द चालिसे, सिनावात्रा विश्वबिधालय थाइल्याण्डका सहप्राध्यापक डा. थानाकोर्न लगायतको बिशेष उपस्थिति रहने र प्यानल डिस्कसन सेसनमा प्रा. डा. लेखनाथ भट्टराई, पोखराका ब्यबसायी विश्वशंकर पालिखे, बैंकर हरी बुढाथोकी समेत सहभागी बन्ने भएका छन। यसैगरी उच्चशिक्षा, आर्थिक बिकास, बैंकिंग, उधोग तथा सामाजिक रुपान्तरणको बिषयमा विषयबिज्ञहरुको बिचमा बहस तथा अन्तरक्रिया हुने बताइएको छ।
सम्मेलन सम्पन्न गर्न करिब ५ लाख रुपैया खर्च लाग्ने र विश्वबिधालय अनुदान आयोगले २ लाख ५० हजार उपलब्ध गराउने भएको छ भने अन्य खर्च सहभागीको दर्ता सहित क्याम्पसले जुटाउने भएको छ। त्यस अबसरमा क्याम्पसका सल्लाहकार एबम शिक्षासेवी डा. दिलबहादुर क्षेत्री, पुर्व सहायक क्याम्पस प्रमुख महेन्द्र रिमाल र पत्रकार सम्मेलनका संयोजक भानु पराजुली लगायतले सम्मेलन र क्याम्पसको अबस्थाको बारेमा जानकारी गराएका थिए ।
संकटपूर्ण समय पार गरेर क्युएए प्रमाणपत्र पाएको पोखरा बहुमुखी क्याम्पस
पोखराको पहिलो सामुदायिक क्याम्पस पोखरा बहुमुखी क्याम्पसको स्थापना २०४४ सालमा पोखराको बगरमा भएको थियो । तत्कालिन अबस्थामा पोखरामा उच्च शिक्षा हासिल गर्नको लागि पोखराको एकमात्र पृथ्वीनारायण क्याम्पस रहेको कारण बिधार्थीको चाप थेग्न समेत मुस्किल पर्थ्यो।
छिमेकी जिल्लाबाट र बिकट ठाउँबाट अध्ययनको लागि पोखरा आउने बिधार्थीहरुले क्याम्पसको अभावमा पठन पाठन गर्न समेत नपाउने अबस्था आएपछि तत्कालिन पोखरा नगर पंचायत र पोखरा उधोग बाणिज्य संघसमेतको पहलमा पोखराको बगरस्थित राष्ट्रिय माध्यमिक बिधालयको पूर्वाधार प्रयोग गर्ने गरि क्याम्पसको स्थापना गरिएको थियो ।
तर केहि बर्षमा नै राष्ट्रिय उच्च माबि र क्याम्पसको बिचमा असमझदारी उत्पन्न भएपछि र बिधार्थीसंख्यामा समेत कमि आएपछि २०५९ सालमा क्याम्पसलाई पोखराको नयाँबजारस्थित महेन्द्र निमाबिको पुर्वाधार प्रयोग गर्नेगरि स्थानान्तरण गरिएको थियो। नयाँबजारमा क्याम्पस संचालन गर्नको लागि क्याम्पसले करिब ५४ लाख रुपैया जुटाएर बिधालयको भवन र पुर्बाधारमा सुधार गरेको थियो।
क्याम्पस संचालक समितिका पुर्व अध्यक्ष शंकर देवकोटाका अनुसार २० बर्षसम्म बिधालय र क्याम्पसको बिचमा राम्रो बाताबरण कायम हुन् नसकेपछि आंफ्नै भवन सहितको पूर्वाधार बनाउनुपर्ने महशुस गरेर अहिलेको ठाउँमा सहयोग जुटाएर भवन बनाइएको जानकारी दिए।
पोखरा- ९ को शान्तिबन नजिक पोखरा उपत्यका नगर बिकास समितिको स्वामित्वको जग्गा ३० बर्षको लागि लिजमा पाएपछि क्याम्पसले ६ करोड बढीको लागतमा आंफ्नै भवनसहितको पूर्वाधार तयार गरेको छ। पोखरा महानगरपालिकाले मंत्रालयको समेत सहमतिमा जग्गा उपलब्ध गराउने निर्णय गरेलगत्तै भवन निर्माण कार्य शुरु गरेर १ बर्ष ४ महिना २५ दिनमा पुरा गरि २०७९ सालमा आंफ्नै भवनबाट संचालनमा आएको क्याम्पस संचालक समितिका अध्यक्ष शंकर गुरुङले गुरुकुल खबरलाई जानकारी दिए ।
क्याम्पस भवन निर्माणको लागि स्थानीय शिक्षासेवीहरु सहित बिभिन्न व्यक्ति र संस्ठासंग सहयोग संकलन गरिएको बताउंदै अध्यक्ष गुरुंगले भने, हामी क्याम्पसलाई अझै राम्रो बनाउन कसरि सक्छौं भनेर लागिरहेका छौं ।
क्याम्पसको भवन निर्माणको लागि क्याम्पसको तत्कालिन संचालक समितिका अध्यक्ष नरेन्द्रमान लालचनले ५० लाख रुपैया सहयोग गरेका थिए। समितिका बर्तमान अध्यक्ष शंकर गुरुङले आँफु र आंफ्नो नजिककाहरुबाट करिब १ करोड ५० लाख जुटाएका थिए यसका साथी क्याम्पसमा कार्यरत शिक्षक, कर्मचारी र अभिभावकहरु समेतले आर्थिक सहयोग गरेको थिए।
क्याम्पसका पुर्व अध्यक्ष नरेन्द्रमान लालचनले क्याम्पसमा धेरै बिधार्थीहरु बिपन्न र दुर्गम क्षेत्रबाट आएर अध्ययन गरिरहेको बताउंदै उनीहरुलाई शिक्षा दिन पाउँदा र कतिपयलाई छात्रवृतिमा पढाउन पाउँदा निकै खुसि लागेको गुरुकुल खबरसंग बताए। क्याम्पस सबैको साझा हो, हामि सेवामा निरन्तर लागिरहेका छौं र सन्तुष्टि प्राप्त गरिरहेका छौं’ उनले भने ।














