पोखरा, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको आयोजना एवम् गाउँ पर्यटन प्रबर्द्दन मञ्च (भिटोफ) गण्डकी प्रदेश समितिको सह–आयोजनामा लमजुङको बेसीशहर नगरपालिका–४ पुरानकोटमा त्रिदिवशीय घरवास(होमस्टे) व्यवस्थापन तालिम सम्पन्न भएको छ ।
पुरानकोट सामुदायिक होमस्टे व्यवस्थापन समितिको स्थानीय समन्वयमा आयोजित तालिममा ४० जनाको सहभागी रहेको गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ) गण्डकी प्रदेशका अध्यक्ष शोभा सापकोटाले जानकारी दिईन ।
तालिममार्फत होमस्टे सञ्चालन, पाहुना सत्कार, सरसफाइ, व्यवस्थापन, स्थानीय संस्कृतिको संरक्षण तथा पर्यटन सेवाको गुणस्तर अभिवृद्धिबारे व्यावहारिक ज्ञान प्रदान गरिएको उनले बताइन ।
तालिममा भिटोफ गण्डकीका सल्लाहकारहरू टिकाराम सापकोटा, डा. रामजी शर्मा तथा दीपेन्द्र पहारीले होमस्टे व्यवस्थापनका विभिन्न विषयमा सहजीकरण गरेका थिए ।
त्यस्तै रुकु थापाले हाउसकिपिङ सम्बन्धी तथा सजिना गुरुङले सांस्कृतिक नृत्य सम्बन्धी कक्षा सञ्चालन गरेको बताइएको छ । तालिममा पुरानकोट, नाल्मा, तुर्लुङकोट, काउलेपानी तथा नरुवाल मगर होमस्टेका सञ्चालकहरूको सहभागिता थियो ।
तालिममा सहभागी होमस्टे सञ्चालकहरूले यस्ता व्यावहारिक तथा क्षमता अभिवृद्धि कार्यक्रमले सेवा गुणस्तर सुधार गर्न, पर्यटकलाई आकर्षित गर्न तथा स्थानीय आयआर्जन बढाउन महत्वपूर्ण योगदान पुग्ने बताउँदै तालिमबाट आँफूहरू घरवास सञ्चालनका विविध पक्ष बारे जानकारी पाएर लाभान्वित बनेको बताए ।
ग्रामीण पर्यटन प्रबर्द्दन, स्थानीय संस्कृतिको संरक्षण तथा समुदायमा रोजगारी सिर्जना गर्ने उद्देश्यले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने आयोजकले जनाएको छ ।
तालिमको समापन समारोहमा सहभागीलाई भिटोफ गण्डकीका अध्यक्ष एवम् कार्यक्रमका सभापति शोभा सापकोटा सहित सल्लाहकारहरूले प्रमाणपत्र प्रदान गरेका थिए ।














