Play

समसामयिक भू-राजनीति बिषयका जानकार भन्छन ‘नेपाल राज्यको अस्तित्व जोगाउनु नै अहिलेको प्रमुख चुनौती’

गुरुकुल खबर


पोखरा, दुई ठुला राष्ट्र भारत र चिनको बिचमा रहेको नेपाल राज्य आन्तरिक सुरक्षा र प्रतिरक्षाको दृष्टिकोणले समेत कमजोर अबस्थामा रहेको र सिंगो नेपाल नै एउटा कमजोर राज्यको रुपमा रहेकोले गणतन्त्रात्मक राज्यको हिसाबले झनै कमजोर बन्ने अबस्था सृजना भैरहेको पोखरामा आयोजित एक कार्यक्रममा चर्चा गरिएको छ। गणेशमान फाउन्डेसन गण्डकी प्रदेश समितिले पोखरामा आयोजना गरेको ‘समसामयिक भू-राजनीति’ बिषयक विचार गोष्ठीमा बोल्ने बक्ताहरुले कमजोर अबस्थामा पुगेको नेपाल राज्यको अस्तित्व जोगाउनु नै अहिलेको प्रमुख आबश्यकता रहेकोमा समेत जोड दिए ।

‘समसामयिक भूराजनीति’ बिषयमा अबधारणा प्रस्तुत गर्दै विश्लेषक बुद्ध छिरिंग मोक्तानले नेपाललाई धेरैले दुई ढुंगाबिचको तरुलको रुपमा लिने गरेको भएपनि भारतले बफर स्टेट (मध्यवर्ती देश) को रुपमा र अमेरिकाले भेसल स्टेट (सामान क्यारी गर्ने ) देशको रुपमा लिने गरेको कुराको चर्चा गरे। उनले नेपाल जुनसुकै किसिमको राज्य भएपनि बलियो हुनुपर्ने थियो। तर जेनजी विद्रोहका क्रममा राज्यका सबै संरचना केहि अबधिमा नै ध्वस्त भएको देख्दा हामीले कति बलियो राज्य बनाएको रहेछौं भनेर गम्भीरतापुर्बक सोच्नुपर्ने अबस्था आएको बताए ।

नेपालमा राजनीतिक आन्दोलनबाट प्राप्त गणतन्त्रलाई निरन्तर चलाउने हो भने न्यायालय, सेना प्रहरी र राजनीतिक दलहरु बलियो बनाउनुपर्ने र एलाइट बर्ग अनुशासनमा बस्नुपर्नेमा समेत मोक्तानले जोड दिए। ‘हिजो बाबुराम र प्रचण्ड तथा केपी र देउवाको जस्तै अहिले बालेन्द्र शाह जस्तो एलाइट बर्गको कब्जामा मुलुक परेको छ तसर्थ यसमा सुधार नगर्ने हो भने नेपाल देशको अस्तित्व नरहन पनि सक्छ’ उनको भनाई थियो।

रास्वपा ठुलो राजनीतिक स्क्याम – मोक्तान 

मोक्तानले राष्ट्रिय स्वतन्त्र पार्टीलाई ठुलो राजनीतिक स्क्यामको रुपमा चित्रण गर्दै राज्य बिरुद्ध बिद्रोह गर्न उक्साएर जेनजी विद्रोहको नाममा मुलुक ध्वस्त बनाउने रास्वपाको तर्फबाट सभापति रबि लामिछाने र उपसभापति स्वर्णिम वाग्लेले स्पष्ट पार्नुपर्नेमा जोड दिए । उनले रास्वपाका बरिष्ठ नेता समेत रहेका बर्तमान प्रधानमन्त्री बालेन्द्र शाहलाई अघोरीको संज्ञा दिंदै रास्वपाका वाग्लेले पनि कांग्रेससंगको तुष्टि साधेर पार्टी र सरकारमा बढुवा खोजिरहेको आरोप लगाए।

नेपालमा अहिले पनि पूर्ण सम्प्रभुसत्ताको अबस्था नरहेको भन्दै उनले दुई ठुला मुलुकको बिचमा रहेको नेपाल राज्यले सम्प्रुभासत्ता कायम छ भनेर जतिसुकै कुरा गरेपनि त्यस किसिमको  स्वतन्त्रता नेपालमा नरहेको ठोकुवा गरे । ‘छिमेकी मुलुक सहित अन्य मुलुकसंगको सम्बन्धलाई बिर्सेर सम्प्रभुसत्ता कायम गर्न खोज्ने हो भने नेकपा एमाले र नेपाली काँग्रेसको संयुक्त सरकारले जेनजी विद्रोहका क्रममा गत भदौ २३ र २४ गतेको जस्तो हालत भोग्नुपर्नेरहेछ।’ उनले नेपालमा सम्प्रभुसत्ता नभएकै कारण बिदेशीको इशारामा उक्त घटना घटेको स्मरण गर्दै भने।

मोक्तानले नेपालको आन्तरिक सुरक्षा क्षमता र प्रतिरक्षात्मक क्षमता कमजोर रहेको भन्दै बिगतमा प्रचण्ड र बाबुरामले अमेरिकी साम्राज्यबाद, भारतीय बिस्तारबाद र देशीय सामन्तबादको नारा लगाएर सशस्त्र बिद्रोह गरेको भएपनि देशीय सामन्तबादको रुपमा मानेको राजसंस्थालाई समाप्त पार्नु बाहेक अरु कुनै उपलब्धि हासिल गर्न नसकेको उल्लेख गरे।

प्रतिरक्षा वा डिफेन्सको लागि सेना पाल्न मात्र नभएर सुरक्षित साथ अन्य हातहतियार बन्दोबस्त गर्न नेपालको श्रोत साधनले नपुग्ने मात्र नभएर बाह्य शक्तिले थाहा पाउन नसक्ने गरि सबै ब्यबस्थापन गर्ने ठाउँको समेत अभाव हुनसक्ने मोक्तानले बताए। त्यसमा पनि राज्यभित्रका बिभिन्न शक्तिबिचमा आन्तरिक मेलमिलाप नहुँदा प्रतिरक्षात्मक शक्ति कमजोर हुने उनको भनाई थियो।

राज्यका इन्स्टिच्युसन कमजोर बन्दा प्रतिरक्षात्मक शक्ति कमजोर भएको मोक्तानको भनाई 

‘इतिहास बोकेका राजनीतिक दल, न्यायालय, सेना र प्रहरी लगायत राज्यका सबै इन्स्टिच्युसन भित्र आन्तरिक बिबाद बढेर यस्ता संस्था कमजोर बन्दा राज्यको प्रतिरक्षात्मक शक्ति समेत कमजोर हुन पुगेको हो’ मोक्तानले भने । नेपाली सेनाले राज्यका सबै संरचना ध्वस्त हुँदा हेरेर बस्नु गलत भएको तर २४ गते बेलुकाबाट स्थिति सेनाले आंफ्नो नियन्त्रणमा लिएर थप क्षति हुनबाट जोगाएको समेत उनले उल्लेख गरे ।

राजनीतिक विश्लेषक मोक्तानले सिंगापुर जस्तो सानो देशले छोटो समयमा धेरै प्रगति गर्न सकेको र भुटान जस्तो सानो देशले पनि बौद्ध राजाको नामबाट ठुलो शक्ति आर्जन गरेको कुराको चर्चा गर्दै नेपालले भने बुद्ध नेपालमा जन्मेका हुन भनेर चित्त बुझाउनुपरेको भन्दै पिडा पोखे। उनले राष्ट्रको विकास र सुरक्षामा लोकतान्त्रिक शासनको आबश्यकता रहेपनि कांग्रेस जस्तो लोकतान्त्रिक शक्तिले उदारीकरणको नीति क्रमश लागु गर्दै जानुपर्नेमा एकैपटक धेरै उधोगधन्दाको निजीकरण गर्दा अहिलेसम्म पनि कांग्रेस बिरोधी शक्तिले आलोचना गर्ने नारा पाएको बताए ।

भदौ २३ र २४ को बिद्रोह बाह्य शक्ति र डिजिटल प्रविधिको प्रयोगबाट – मुल्मी 

कार्यक्रममा बोल्दै नेपाल उधोग बाणिज्य महासंघका पुर्व अध्यक्ष आनन्दराज मुल्मीले भदौ २३ र २४ गते देशलाई ध्वस्त बनाउने काम नेपालीको आंफ्नो सामर्थ्यले नभई बाह्य शक्तिले डिजिटल र अन्य प्रविधिको प्रयोगबाट समेत गरेको बताए। यस किसिमको बिद्रोह हुनुमा भूराजनीतिको प्रभाव रहेको मुल्मिको भनाई थियो  ।

२०१७ सालपछि नेपालको अर्थतन्त्रमा चिनिया सहयोग महत्वपूर्ण रहेको कुराको चर्चा गर्दै मुल्मीले चीनले पूर्वाधार विकास र बिभिन्न उधोगधन्दाको संचालनको लागि नेपाललाई सहयोग गरेको भएपनि २०४६ सालपछि निजीकरणको नाममा नेपालले त्यस्ता उधोगधन्दा बेचबिखन गरिदिएको कारण चिनसंगको सम्बन्धमा चिसोपन आएको बताए ।

उनले भदौ २३ र २४ को बिद्रोहपछि बनेको सरकारका गतिबिधिका कारण चिन चिढिएको बताउंदै रास्वपाको बर्तमान सरकारको कार्यशैलीको कारण भारत समेत चिढिने अबस्थाम पुग्यो भने नेपाल र नेपाली निरिह बनेर बस्नुपर्ने अबस्था आउनसक्ने उल्लेख गरे। हाम्रो बाध्यता र विवशता अनि निरीहताको कारण नेपाल राज्य बिहिन अबस्थामा पुग्ने त हैन भन्ने प्रश्न गर्दै मुल्मीले भने. यस्तो गम्भीर अबस्थामा पनि नेपालका प्रमुख राजनीतिक दलभित्र आन्तरिक द्वन्द र मौनताले सबैलाई चिन्तित बनाएको छ ।

निजि क्षेत्रको छाता संस्थाको अध्यक्ष रहेर काम गरिसकेका मुल्मीले नेपाल ब्ल्याक लिस्ट तर्फ उन्मुख भैरहेको र नेपालको अर्थतन्त्र समेत थेग्न नसक्ने अबस्थामा पुगेको भन्दै यस्तो अबस्थाम स्थानीय, प्रदेश र राष्ट्रपतिको चुनाब खर्च कसरि धान्ने भन्ने चुनौती थपिएको स्पष्ट पारे। ‘नेपालको बजेट १९ खर्ब हाराहारीको रहने र १२ खर्ब तलब भत्तामा तथा ४ खर्ब बैदेशिक ऋणको ब्याजमा खर्च हुने भएकोले ३ खर्बले कति काम गर्न सकिएला त ?’ मुल्मीले प्रश्न गरे।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भूराजनीतिको कारण संसार नै युद्धमा जाने हो कि भन्ने सम्भावना बढिरहेको बेला नेपालले पनि आंफ्नो अस्तित्व रक्षाको लागि के गर्ने भन्ने बारेमा गम्भीर बन्नुपर्ने आबश्यकता औंल्याए। पाण्डेले दुई ठुला मुलुकको बीचमा रहेको नेपालले अर्थतन्त्र लगायत अन्य बिषयमा पनि दुवै मुलुकबाट अपेक्षित फाइदा लिन नसकेको बताए ।

कार्यक्रमको बीचबिचमा योग पातन्जल नेपालका केन्द्रीय सदस्य सपना गुरुङले योगाको महत्व सहित छोटो योगा, राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशका उपाध्यक्ष रामजी पौडेलले गीत र मुक्तकमणी शंकर ज्ञवालीले मुक्तक प्रस्तुत गरेको गणेशमान सिंह फाउन्डेसनका गण्डकी प्रदेश समितिका सदस्य मोहन गुरुङले जानकरी दिए।

फाउन्डेसनका अध्यक्ष दुर्गाप्रसाद तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन फाउन्डेसनका सदस्य कुमार रानाले गरेको र कार्यक्रममा कास्की लगायत छिमेकी जिल्लाबाट बिभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, सामजिक ब्यक्तित्व र प्रदेश सांसदहरु लगायत सहभागी रहेको फाउन्डेसनका अर्का सदस्य राजकुमार गुरुंगले गुरुकुल खबरलाई जानकारी दिए ।

१० जेष्ठ २०८३, आईतवार १८:४८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा