पोखरा, सरकारले सशस्त्र प्रहरीको प्रमुख अर्थात प्रहरी महानिरिक्षक ( आइजीपी ) पदमा नारायणदत्त पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ। सरकारको उक्त निर्णयसंगै सशस्त्र प्रहरी बलको कमान्ड सम्हाल्ने जिम्मेवारी पौडेललाई मिलेको छ। उनी हाल सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकस्थित मानव स्रोत विभागका प्रमुख अर्थात सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजीपी) पदमा कार्यरत छन। पौडेलले दुईवर्ष सम्म संगठनको प्रमुख रहेर काम गर्न पाउनेछन । विद्यमान सशस्त्र प्रहरी नियमावली अनुसार ३० वर्षे सेवा हदका कारण उनी २०८४ को चैत्र १८ गते अवकाशमा जानेछन् ।
मन्त्रिपरिषद्को पछिल्लो बैठकले पौडेललाई संगठनको सर्वोच्च पदमा पदोन्नति गर्ने निर्णय गरेको शिक्षा मन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलले पुष्टि गरे। पौडेल अब सशस्त्र प्रहरी बलको १३ औं आइजीपी बनेका छन्। प्रवक्ता पोखरेलका अनुसार सरकारले उनलाई कार्यक्षमताको आधारमा उक्त पदमा नियुक्त गरेको हो। सुर्खेत घर भएका नबनियुक्त आइजीपी पौडेल बिभिन्न स्थानमा रहेर सशस्त्र प्रहरी बलको बिभिन्न जिम्मेवारी सम्हालिसकेका छन।
सशस्त्र प्रहरी बलका हालका आईजीपी राजु अर्याल चारवर्षे कार्यकाल पूरा गरी यही १८ वैशाखमा अवकाशमा जाने भएपछि मन्त्रीपरिषदको सोमबारको बैठकले पौडेललाई आईजीपी बनाउने निर्णय गरेको हो । पौडेल आईजीपी बढुवाको पहिलो दाबेदार थिए । उनी १८ चैत २०५४ सालमा नेपाल प्रहरीको इन्स्पेक्टरमा सेवा प्रवेश गरेका थिए । उनीसँगै आईजीपीको बढुवाका लागि सीमा विभागमा कार्यरत एआईजी वंशी दाहाल र कार्य विभागमा कार्यरत एआईजी गणेश ठाडा मगर पनि प्रतिस्पर्धामा थिए । तर उनीहरू दुवै जना पौडेलभन्दा जुनियर थिए ।

२०७९ जेठ ६ गते तत्कालिन एआइजी राजु अर्याल आईजीपी बनेपछि एआईजीको रिक्त पदमा पौडेललाई बढुवा गरिएको थियो । आईजीपीको दोस्रो दाबेदारका रूपमा रहेका दाहाल भने पौडेलभन्दा करिब ५ महिनापछि मात्रै एआईजीमा बढुवा भएका थिए । दाहाललाई सरकारले २८ असोज २०७९ मा एआईजीमा बढुवा गरेको थियो । दाहाललाई एआईजी बनाउन त्यतिबेला सरकारले सीमा सुरक्षा विभागमा एक एआईजीको दरबन्दीसमेत सिर्जना गरेको थियो । ठाडा मगर भने उनीहरूभन्दा करिब २ वर्ष जुनियर हुन् । उनी २ असार २०८२ मा मात्रै एआईजीमा बढुवा भएका थिए । भर्ना प्रक्रियामा पनि ठाडा मगर दुई वर्ष नै जुनियर हुन् । उनी २०५६ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका थिए ।
सोमबार आईजीपीमा नियुक्त भएका पौडेल सुरुमा खरिदार थिए । सुर्खेतको साविक जर्बुटा गाविस–५ मा जन्मेका उनले सुर्खेतबाटै एसएलसी उत्तीर्ण गरेपछि खरिदारको परीक्षामा उत्तीर्ण भई नगरपालिकातर्फको स्थायी नियुक्त लिएर काम गरेका थिए । खरिदारमा नाम निस्केर नगरपालिकाको काम गर्दैगर्दा साथीभाईको लहडमा इन्स्पेक्टरको तयारी गरेका पौडेलले पहिलो प्रयासमै इन्स्पेक्टरमा नाम निकाल्न सफल भएपछि खरिदार पदबाट राजीनामा दिएर २०५४ चैत्र १८ मा प्रहरी सेवामा प्रवेश गरेका थिए । नेपाल प्रहरीमा तिन बर्षसम्म काम गरेका उनीसंग पटक–पटक माओवादीसँग आमनेसामने भएर लडेको अनुभव छ ।
इन्स्पेक्टरको आधारभूत तालिम सम्पन्न भएपछि रोल्पा स्ट्रिाइकिङ टोलीका कमान्डर बनेर उनी खटिएका थिए । त्यतिबेला उनको कार्यक्षमता र आफू मातहतका प्रहरी कर्मचारीको मनोबल प्रोत्साहन गर्न उत्कृष्ट भूमिका खेलेको भन्दै पुरस्कारस्वरूप प्रहरी प्रधान कार्यालयले १ ग्रेड थप गरिदिएको थियो । एकातिर प्रहरीको अनुभव, त्यहाँ रहँदा रोल्पा स्ट्राइकिङको कमान्डर त्यहाँमाथि सशस्त्र र अनमिनमा रहँदासमेत काम गरेको अनुभवले उनमा थप निखार आइरहेकै बेला माओवादी द्वन्द्व उत्कर्षमा पुग्दा त्यसविरुद्ध लड्न तत्कालीन सरकारले सशस्त्र प्रहरी बल गठन गरेपछि पौडेल २०५८ बैशाख ४ गते सशस्त्र प्रहरीमा स्थानान्तरण भएको र २०५८ चैत्र १८ गते डीएसपीमा स्थायी बढुवा भएका थिए ।
एसपी र एसएसपी रहंदा बिभिन्न ठाउँमा पुगेर जिम्मेवारी सम्हालेका पौडेलले २०७५ कार्तिकमा डीआईजीमा बढुवा भएपछि कार्य तथा सीमा सुरक्षा विभाग, मानव स्रोत विभागमा रहेर काम गरेका थिए । यसैगरी उनले डीआईजी हुँदा लुम्बिनी तथा गण्डकी प्रदेशस्थित बाहिनीको कमान्ड गरेका थिए। २०७९ जेठ ६ गते एआईजीमा बढुवा भएपछि मानव स्रोत, सीमा तथा कार्य विभाग गरी सशस्त्रमा हाल कायम रहेकै एआईजीले कमान्ड गर्ने तीन वटै विभागको कमान्ड उनले गरिरहेका छन।














