पोखरा, पोखरा महानगरपालिका वडा नं. १३ कार्यालयले स्थानीयस्तरमा सिर्जनात्मक अभिव्यक्ति र बौद्दिक छलफलको साझा मंचको रुपमा शुरुवात गरेको ‘ साहित्य पर्व-२०८३ ‘ सम्पन्न भएको छ । दोश्रो पटक आयोजित साहित्य पर्व मार्फत पनि पोखराको सांस्कृतिक र साहित्यिक गतिविधिलाई थप सशक्त बनाउने लक्ष राखिएको आयोजकको भनाई छ
कार्यक्रमको बारेमा जानकारी दिंदै आयोजक पोखरा -१३ का वडाध्यक्ष किरण बरालले वडास्तरमा गर्नुपर्ने विकास निर्माण र सेवाग्राहीको समस्या सम्बोधन गर्ने नियमित कामसंगै साहित्य र संस्कृति अनि इतिहासको बारेमा जानकारी गराउने उद्देश्यले दोस्रोपटक साहित्य पर्व गरिएको बताए । यसलाई समयानुकुल परिमार्जन गर्दै लगिने जानकारी उनले गराए ।
उक्त साहित्य पर्वको उद्घाटन गर्दै लेखक तथा पत्रकार नारायण वाग्लेले आफ्नो साहित्यको जन्मस्थान एबम लेखन क्षेत्रको प्रेरणाको स्रोत पुस्तकालय रहेको बताए । ‘लेखक हुन मलाई हुटहुटी बढाएको त्यो पुस्तकालय नै हो, जब पुस्तकहरूको वरिपरि मैले पढ्न थालेँ, तब मेरो युवाकालमै मलाई लेखक भन्ने हुटहुटी भयो । वाग्लेले भने। साहित्यमा सिर्जना गर्न स्वतन्त्र बन्नुपर्ने र स्वतन्त्र हुनको लागि आफ्नो संघर्ष आफैले गर्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा पोखराका अग्रज कार्टुनिष्ट दुर्गा बराल ‘वात्स्यायन’ ले यस प्रकारका साहित्यिक पर्वले साहित्यमार्फत् समाजमा सकारात्मक परिवर्तन ल्याउने, सिर्जनशीलता अभिवृद्धि गर्ने र स्थानीय प्रतिभालाई पहिचान तथा प्रोत्साहन गर्ने बताए । अलि मियाँ जन्मथलो मियाँपाटनमा भएको साहित्यिक कार्यक्रमले साहित्य, कला र सांस्कृतिक विविधता प्रस्तुत गरेको उनको भनाइ थियो ।
साहित्य पर्वको पहिलो सत्रमा ‘बितेका पाइला र आउने बाटा : पोखराका युगपुरुषहरुको पदचापमा’ बिषयमा पत्रकार शोभाकान्त सिग्देलले पत्रकार पुण्य पौडेलसँग सम्बाद गरेका थिए भने दोस्रो सत्रमा ‘अक्षरदेखि अल्गोरिदमसम्म : हाम्रो अबको शिक्षा र बदलिदो समाजको स्वरुप’ विषयमा भौतिकशास्त्री डा. कपिल अधिकारीसँग डा. रामचन्द्र बरालले सम्बाद गरेका थिए ।
यसैगरी तेश्रो सत्रमा पत्रकार अनिशा श्रेष्ठले व्यावसायी नारायण पौडेल र समेसराज भण्डारीसँग उद्यमी र नवउद्यमीका विषयमा सम्बाद गरेकी थिईन । यो सत्रमा नेपालमै रोजगारीको संभावनाको खोजीका विषय उठान भएका थिए । चौथो सत्रमामा ‘साहित्यमा नारीको प्रतिनिधित्व’ शीर्षकको सेसनमा सहजकर्ता हसिना बस्नेतसँग साहित्यकार सरस्वती प्रतिक्षाले सम्बाद गर्दै साहित्य क्षेत्रमा महिलाको उपस्थितीसँगै चर्चा र चुनौतीका विषयमा बताएकी थिईन ।
साहित्य पर्वको अन्तिम तथा पाँचौं सत्रमा पत्रकार अमृत सुवेदी र गायक विनोद श्रेष्ठले संगितका विषय र त्यसमा पनि कन्दरा ब्यान्ड र पोखराको संगीतका बारेमा सम्बाद गरेका थिए ।

साहित्य पर्व कार्यक्रमका संयोजक राजेन्द्र भण्डारीले स्थानीय बासिन्दाहरुलाई साहित्य, संस्कृति र त्यस सम्बन्धि बिगत र बर्तमानको बारेमा जानकारी गराउन कार्यक्रम उपयोगी भएको बताए भने वडा सदस्य रजनी परियारले वडाले भाषा, साहित्य, कलालाई पनि विकासको एउटा माटो मान्दै साहित्यको कार्यक्रम आयोजना गरिएको बताइन् ।
कार्यक्रममा साहित्यकारहरु सरस्वती श्रेष्ठ ‘सरु’ धर्मराज अल्पायु, चन्द्रावती वाग्ले, कुशल गौतमले रचना वाचन गरिएका थिए । गायिका हरिदेवी कोइरालाले अलिमियाले संकलन गरेको ‘आकाशमा बादलु डम्मै छ’ बोलको गीत प्रस्तुत गरेकी थिइन् ।
कलाकार जित गुरुङ र कृपा श्रेष्ठको चित्र प्रदर्शनी गरिएको उक्त कार्यक्रममा भद्रकाली माविका विद्यार्थी र नवदुर्गा टोल विकास संस्थाको आमा समूहले नृत्य पनि प्रस्तुत गरेका थिए । कार्यक्रमा स्थानीय साहित्यकार, कलाकार तथा चित्रकारहरुको पनि उल्लेखनीय सहभागिता रहेको बताइएको छ ।














