Play

संसदीय समितिमा आज सभापति चुनिंदै : सभापतिको उमेदवारी र संसदीय दलका पदाधिकारी चयनले रास्वपामा झिनो असन्तुष्टि

गुरुकुल खबर


काठमाडौँ, संघिय संसदमा रहेका बिभिन्न १२ वटा विषयगत समितिको सभापति शुक्रबार चयन गरिंदै छ । प्रतिनिधिसभाका १० विषयगतसँगै राष्ट्रिय सभा र प्रतिनिधि सभाका दुईवटा संयुक्त समिति गरी १२ वटा संसदीय समितिका सभापतिको लागि बिहीबार मनोनयन दर्ता गरिएको र केहि समितिमा बाहेक सबैजसो समितिमा निर्बिरोध रुपमा सभापतिको चयन हुने सम्भावना छ ।

प्रतिनिधिसभामा रास्वपाको एकल बहुमत अर्थात  २७५ सदस्यीय प्रतिनिधिसभामा १८२ सांसद छन् । यस आधारमा प्रतिनिधिसभाका सबै १० समितिमा रास्वपाको एकल बहुमत पुग्ने भएपनि एउटा समितिको सभापति भने प्रमुख बिपक्षी नेपाली कांग्रेसलाई छोडेको छ । रास्वपाले प्रतिनिधिसभाका कानुन न्याय तथा मानवअधिकार समितिमा समीक्षा बाँस्कोटा, कृषि सहकारी तथा प्राकृतिक स्रोतमा अशोक चौधरी, पूर्वाधार विकासमा आशिष गजुरेल, महिला तथा सामाजिक मामिलामा आकृति अवस्थी, राज्य व्यवस्था तथा सुशासनमा हरि ढकाललाई सभापतिको उम्मेदवार बनाएको छ ।

त्यस्तै, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटनमा सुम्निमा उदास, अर्थमा कृष्णहरि बुढाथोकी, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हितमा रहबर अन्सारी र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ओजस्वी शेरचनलाई रास्वपाले सभापति पदमा मनोनयन दर्ता गराउन लगाएको छ । प्रतिनिधिसभाका १२ र राष्ट्रिय सभाका ३ सांसद रहने संसदीय सुनुवाइ समितिको सभापतिमा रास्वपाले सांसद बोधनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ भने अर्को संयुक्त समिति राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको सभापतिमा गणेश कार्कीलाई उम्मेदवार बनाएको छ ।

यता प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सभापतिमा कांग्रेसका भरतबहादुर खड्काको एकल उम्मेदवारी छ । रास्वपाले प्रमुख प्रतिपक्षी दललाई सार्वजनिक लेखा समितिको सभापति दिने निर्णय संसदीय दलको बैठकबाट गरेको थियो । सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दललाई दिने भन्ने संविधानको मर्म रहेकोले त्यो पद बिपक्षी नेपाली काँग्रेसको लागि छोडिएको रास्वपाले जनाएको छ ।

विपक्षी दलहरूले सार्वजनिक लेखा समितिका अलावा दुई समितिका सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा एमालेका गुरुप्रसाद बरालले उम्मेदवारी दर्ता गराएका छन् भने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन (संयुक्त) समिति सभापतिमा नेकपाकी मदनकुमारी शाह (गरिमा) को उम्मेदवारी परेको छ ।

यसैबीच रास्वपाले संसदीय दलका पदाधिकारीहरु समेत चयन गरेको छ । जसअनुसार रास्वपा संसदीय दलको उपनेतामा गणेश पराजुली, मुख्य सचेतकमा  कविन्द्र बुर्लाकोटी तथा सचेतकको जिम्मेवारीमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गरिएको रास्वपाले जनाएको छ । रास्वपाले संसदीय समितिका सभापति र संसदीय दलका पदाधिकारी चयनको बिषयलाई लिएर पार्टी भित्र केहि असन्तुष्टि समेत देखिएको छ । त्यसमा पनि संसदीय समितिको सभापति चयनलाई लिएर रास्वपामा मनमुटाव पनि सार्वजनिक भएको छ ।

रास्वपाले सुरुमा उद्योग समितिको सभापतिमा मनीष झालाई अगाडि सार्ने निर्णय गरेको थियो भने शिक्षा समिति सभापतिको जिम्मेवारी रहबर अन्सारीलाई दिने तय गरेको थियो । सिंहदरबारमा मनोनयन दर्ता हुने भए पनि झाले समिति सभापतिमा बस्न इन्कार गरेका थिए उनि जनकपुरमा नै बसेको र काठमाडौं समेत नआएको कारण रहबर अन्सारीलाई उमेदवारी दर्ता गर्न लगाइएको थियो  ।

यसैगरी कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति मा कास्की -२ बाट निर्बाचित सांसद उत्तमप्रसाद पौडेललाई उमेदवार बनाइने चर्चा चलेको भएपनि अन्तिम अबस्थामा अशोक चौधरीलाई उमेदवार बनाइएको छ ।  यस सम्बन्धमा पौडेलले आँफुलाई उक्त समितिको सभापति रहेर महत्वपूर्ण काम गर्ने चाहना भएको स्वीकार गर्दै पार्टीले गरेको निर्णयमा कुनै प्रतिक्रिया दिन आबश्यक नरहेको बताए ।  ‘जुन पद वा जिम्मेवारीमा रहेर पनि काम गर्ने हो मा त्यो समितिको सभापति नभएपनि सदस्य छु, त्यसैले काम गर्नको लागि खासै समस्या छैन’ उनले गुरुकुल खबरसंग भने ।

उमेदवारी दर्ता गर्ने  क्रममा प्रतिनिधिसभाको सबै भन्दा ठूलो दल रहेको राष्ट्रिय स्वतन्त्र पार्टी भित्र केहि असन्तुष्टि समेत सार्बजनिक भएको छ । समितिको सभापति बन्ने अवसर नपाएका पौडेलले बाहिर असन्तुष्टि सार्बजनिक नगरेपनि रास्वपा प्रबक्ता समेत रहेका मनिष झाले आँफुलाई कुनै समितिको सभापति दिने जानकारी गराइयो, तर आंफुले अस्विकार गरेको स्पष्ट पारेका छन । ‘अरु इच्छा हुने साथीहरूलाई सभापतिको जिम्मेवारी दिनुहोला भनेको थिए, मैले पार्टीको जिम्मेवारीमा नै रहेर काम गर्छु भनेको छु ।’ झाले संचारकर्मीसंग भनेका छन ।

४ बैशाख २०८३, शुक्रबार ०९:११ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा