पोखरा, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश समितिको अध्यक्षमा बागलुङका नरेश कँडेल निर्विरोध निर्वाचित भएका छन् । अध्यक्षका अर्का प्रत्यासी स्यांग्जाका नवराज सुवेदीले उम्मेदवारी फिर्ता लिएपछि कँडेल निर्विरोध निर्वाचित भएका हुन् । यसअघि बागलुङ उद्योग वाणिज्य संघको अध्यक्ष भएर काम गरिसकेका कंडेल नेपाल पत्रकार महासंघ बागलुङ शाखाका निवर्तमान अध्यक्ष पनि हुन् ।
महासंघको गण्डकी प्रदेशको अधिबेशन शुक्रबार शुरु हुने भएपनि निर्बाचन प्रक्रिया अन्तर्गत उमेदवारी दर्ता गर्ने क्रममा नै कार्यसमितिको अध्यक्ष सहित सबैजसो पदाधिकारी र सदस्यहरु निर्बिरोध बनेका हुन।
जसअनुसार महासंघको प्रदेश समितिको जिल्ला–नगर उपाध्यक्षमा मृगेन्द्र घिमिरे, एसोसिएट उपाध्यक्षमा सूर्यबहादुर भुजेल, वस्तुगत उपाध्यक्षमा हरिकुमार श्रेष्ठ र कोषाध्यक्षमा राजेन्द्र ओझा निर्विरोध निर्वाचित भएका छन् । निर्बिरोध निर्बाचित भएपनि औपचारिक घोषणा भने हुन बाँकी छ।
कार्यसमितिमा प्रतिनिधित्व गर्ने नौ जना सदस्य पनि निर्विरोध निर्बाचित भएको निर्वाचन समितिले जनाएको छ । तीनजना सदस्य भने अध्यक्षले मनोनीत गर्ने व्यवस्था रहेको छ ।
गण्डकी प्रदेश समितिको नेतृत्व चयन सहितका काम गर्नको लागि महासंघको गण्डकी प्रदेशको नबौं प्रदेश सभा तथा अधिबेशन शुक्रबार पोखरामा शुरु हुँदैछ। उक्त अधिबेशनको उद्घाटन नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने कार्यक्रम छ।















