Play

ओली र लेखकमाथि ज्यानसम्बन्धि कसुरमा अनुसन्धान हुने, बिभिन्न नेताको बिरोध (कसले के भने), कांग्रेस अझै मौन

गुरुकुल खबर


काठमाडौँ, नेकपा एमालेका अध्यक्ष एबम पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री एबम नेपाली काँग्रेसका नेता रमेश लेखकलाई महाराजगन्जस्थित सशस्त्र प्रहरी २ नम्बर गणमा राख्ने तयारी भएको प्रहरीले जनाएको छ ।  काठमाडौँ प्रहरी परिसरका एक अधिकारीले दिएको जानकारीअनुसार दुवै नेतालाई स्वास्थ्य परीक्षणपछि महाराजगन्जमा रहेको २ नम्बर गणमा लैजाने तयारी गरिएको छ ।

ओली र लेखकलाई प्रहरीले शनिबार बिहान भक्तपुरस्थित उनीहरुको छुट्टाछुट्टै निवासबाट पक्राउ गरेको थियो ।  पक्राउपछि उनीहरूलाई प्रहरी परिसर काठमाडौँ हुँदै अस्पताल लगिएको थियो । अस्पतालमा चेकजाँचपछि २ नम्बर गणमा राख्ने तयारी भएको प्रहरीले जनाएको छ ।

ओली र लेखकमाथि ज्यानसम्बन्धी कसुरमा अनुसन्धान हुने

यसैबीच, भदौ २३ गते भएका घटनालाई लिएर शनिबार बिहानै पक्राउ गरिएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथि ज्यानसम्बन्धी कसुरमा अनुसन्धान हुने भएको छ। ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न प्रहरीले अदालतबाट अनुमति लिएर २५ दिनसम्म हिरासतमा राख्न म्याद पाउने मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ मा उल्लेख छ।

त्यस अवधिमा अनुसन्धान प्रतिवेदन तयार गरी सरकारी वकिलको कार्यालयमार्फत् अदालतमा मुद्दा दर्ता गरिसक्नुपर्नेछ। यस अनुसार अब ओली र लेखक दुवैमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंमा आइतबार पेस गर्नुपर्नेछ। अदालतले अनुमति दिए मात्र प्रहरीले अनुसन्धानका लागि हिरासतमा राख्नेछ।

भदौ २३ गते जेनजी आन्दोलन क्रममा प्रहरीले बल प्रयोग गर्दा युवाहरूको गोली लागेर मृत्यु भएको थियो। उक्त घटनाबारे पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनलाई मन्त्रिपरिषदले कार्यान्वयन गर्ने निर्णय गरेसँगै ओली र लेखक पक्राउ परेका हुन्। प्रतिवेदनले मुलुकी अपराध संहिता, २०७४ को दफा १८१ र दफा १८२ अनुसार अनुसन्धान गर्न सिफारिस गरेको छ। यी दुई नेतामाथि अब यही कसुरमा अनुसन्धान हुने प्रहरीले जनाएको छ।

दफा १८१ मा लापरबाहीपूर्ण काम गरी ज्यान मार्न नहुने कसुर र दफा १८२ मा हेलचेक्र्याइँ गरी ज्यान मार्न नहुने कसुर भनिएको छ। लापरबाहीपूर्ण काम गरी ज्यान मार्न नहुने कसुरमा ३ देखि १० वर्षसम्म कैद र ३० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ। त्यस्तै, हेल्चेक्र्याइँ गरी ज्यान मार्न नहुने कसुरमा ३ वर्षसम्म कैद र ३० हजार रूपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

जाँचबुझ आयोगले यही सिफारिस तत्कालीन आइजिपी चन्द्रकुबेर खापुङका हकमा पनि गरेको थियो। तर मन्त्रिपरिषद बैठकले सुरक्षाकर्मीका हकमा अध्ययन समिति गठन गरी त्यसले सिफारिस गरे बमोजिम हुने भनेको हो। यही आधारमा खापुङ पक्राउ परेका छैनन्।

ओली र लेखकलाई अबिलम्ब रिहाइ गर्न एमाले नेता योगेश भट्टराईको माग

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकको रिहाइको माग गरेका छन्। लोकतान्त्रिक व्यवस्थामा राज्य र सरकार आक्रमक होइन संयम हुनु पर्ने भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत् भट्टराईले रिहाइको माग गरेका हुन्। ‘प्रतिशोध र बदला होइन संवाद र सहकार्यको बाटोमा जानु पर्छ। कानुनी राज्य र विधिको शासनको उपहास मान्य छैन।

घटनाको न्यायिक, निष्पक्ष र पारदर्शी छानबिन हुनु पर्छ। हाम्रो पार्टी नेकपा एमालेका अध्यक्ष कमरेड केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकको गिरफ्तारीको निन्दा गर्दछु। अविलम्ब रिहाइको माग गर्दछु,’ उनले भनेका छन्।जनताबाट प्राप्त जनादेशको दुरूपयोग नहोस् भन्दै उनले सरकारको ध्यानाकर्षण गराएका छन्।  ‘हाम्रो पार्टीले कानुनी र राजनीतिक बाटो लिनुपर्छ। संयम र धैर्यकासाथ एकताबद्ध भएर प्रतिकूल परिस्थितिको सामना गर्नुपर्छ,’ भट्टराईले भनेका छन्।

अब हुने भनेको यस्तै मात्रै हो ! आन्दोलन आन्दोलन अनि आन्दोलन !- हर्क साम्पांग

यसैबीच, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अहिलेको राजनीतिक घटनाक्रमलाई प्रतिशोधको संज्ञा दिँदै विगतमा राज्यका प्रमुख प्रशासनिक भवन जलाउने र भत्काउनेलाई पनि पक्राउ गरेर कारबाही गर्नुपर्ने माग गरेका छन  सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै साम्पाङले भने, ‘मेरो कुरा ढिलो गरी बुझ्छन् ! मैले ओखलढुङ्गाको कार्यक्रममा भन्या थेँ । अरू जसले जिते नि प्रतिशोधको राजनीति हुन्छ ! प्रगतिको राजनीति श्रम संस्कृति मात्रै हो ! भनेर ! अब हुने भनेको यस्तै मात्रै हो ! आन्दोलन आन्दोलन अनि आन्दोलन !’

यसै सन्दर्भमा साम्पाङले आन्दोलनमा भएका तोडफोडका घटनालाई पनि कोट्याएका छन्। राज्यको सम्पत्ति नष्ट गर्नेहरूप्रति आक्रोश पोख्दै उनले सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत र कैयौँ सरकारी भवन जलाउने तथा भत्काउने कार्यका अगुवाहरूलाई पनि तत्काल पक्राउ गर्नुपर्ने बताएका छन्। त्यस्ता कृत्यमा संलग्नहरूलाई गिरफ्तार गरेर भाटैभाटा लगाउनुपर्ने उनको भनाइ छ।

सरकार निषेध र प्रतिशोधको बाटोमा लाग्यो – कमल थापा, नेता राप्रपा 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले बालेन्द्र शाह नेतृत्वको सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लागेको टिप्पणी गरेका छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई शनिबार पक्राउ गरिएपछि थापाले वर्तमान समयमा द्वन्द्व र मुठभेड कसैको प्राथमिकता हुन नहुने बताएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सुशासन र आर्थिक समृद्धिको लक्ष्यसहित गठन भएको बालेन सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लागेको देखिन्छ। वर्तमान समयमा द्वन्द्व र मुठभेड कसैको प्राथमिकता हुनु हुँदैन।’  सुशासन र समृद्धिका लागि कानुनी राज्यको पालना, आपसी मेलमिलाप र एकता नै पहिलो सर्त भएको थापाको भनाई छ ।

प्रतिशोध र धरपकडले भलो गर्दैन – पुर्व राजदुत निलाम्बर आचार्य

पूर्वराजदूत निलाम्बर आचार्यले प्रतिशोध र धरपकडले भलो नगर्ने बताएका छन् । नेपाल प्रहरीले पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई शनिबार पक्राउ गरेपछि आचार्यले सामाजिक सञ्जालमार्फत सो टिप्पणी गरेका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘साह्रै नै नमिल्ने कुरा भइरहेको छ । प्रतिशोध र धरपकडले भलो गर्दैन।’  शनिबार बिहान भक्तपुरबाट पक्राउ गरेर ओली र लेखकलाई भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ ।

द्वन्दको बाटोमा नयाँ सरकार – एमाले नेता प्रदिप ज्ञवाली 

नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले नयाँ सरकार प्रतिशोध, निषेध र द्वन्द्वको बाटोमा अघि बढेको बताएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै सो कुरा बताएका हुन् । उनले लेखेका छन्, ‘प्रतिशोध, निषेध र द्वन्द्वको बाटोमा नयाँ सरकार । तर उसले चाहे जस्तो हुने छैन ।’ ओली पक्राउ परेपछि एमालेले आकस्मिक बैठक बोलाएको छ ।

देश बालेन युगमा जान्छ भनेको त ब्ल्याकहोल तिर जाने देखियो- एमाले नेता गोकुल बाँस्कोटा 

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले ओली पक्राउ परेपछि सामाजिक सञ्जालमा सरकारको कदम पूर्वाग्रही र प्रतिशोध रहेको र त्यसले राम्रो नगर्ने बताएका हुन्। उनले मुलुक बालेन युगमा जान्छ भनिएकोमा ब्ल्याकहोलतिर जाने देखिएको टिप्पणी गरेका छन्। ‘पार्ट थ्री कति समयमा पुग्ने हो? पाकिस्तानी र बंगलादेशी मोडल नेपाली समाजले स्वीकार गर्दैन। पूर्वाग्रह र प्रतिशोध फाईनल्ली राम्रो हुदै होईन। जसलाई जे सुकै लागोस्,’ उनले भनेका छन्।

कानुनी लडाईं पनि लड्छौं – एमाले नेता महेश बस्नेत 

नेकपा एमालेले पूर्वप्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको भन्दै कानुनी लडाई लड्ने जनाएको छ । एमाले सचिव महेश बस्नेतले अध्यक्ष ओलीलाई राजनीतिक प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरिएकाले कानुनी लडाई लड्ने बताएका हुन् । ‘कुनै कानुनी आधार छैन । प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरिएको छ, हामी यसको कानुनी लगायतका लडाई लड्छौ’, सचिव बस्नेतले भने, ‘पार्टीमा थप छलफल पनि गर्छौ ।’

कांग्रेसका नेताहरु परामर्शमा जुटेको छन – प्रबक्ता चालिसे 

यता कांग्रेस नेता एबम पूर्व गृहमन्त्री रमेश लेखक र पुर्व प्रधानमन्त्री ओली पक्राउ परेको भएपनि कांग्रेसका नेताहरुको भने अझैसम्म औपचारिक प्रतिक्रिया सार्बजनिक भएको छैन। यतिबेला कांग्रेस नेताहरू परामर्शमा जुटेको र उक्त घटनापछि कसरी अगाडि बढ्ने भनेर नेताहरूबिच परामर्श भइरहेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए।

उनले बिहान ११ बजे पार्टीका तर्फबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम राखिएको र त्यस अगाडि लेखक पक्राउबारे पार्टीको धारणा सार्वजनिक गरिने बताएका छन। ‘अहिले हामी परामर्शमा छौँ बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा सांसदहरूका लागि परामर्श राखिएको छ, त्यस अगाडि पार्टीको धारणा बाहिर ल्याउँछौँ। ‘चालिसेले भने ।

१४ चैत्र २०८२, शनिबार ०९:४६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा