पोखरा, प्रतिनिधि सभाको निर्बाचन पश्चात मतगणना र समानुपातिक तर्फका सांसदहरुको समेत छनौट भैसकेपछि सरकार गठनको प्रक्रिया समेत शुरु हुने भएको छ। यो संगै प्रधानमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको शपथको मिति समेत तय गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह तथा उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेबीच बिहिबार भएको छलफलबाट बालेन्द्र शाहले नयाँ प्रधानमन्त्रीको रुपमा शपथ लिने मिति तय गरेको हो ।

रास्वपा उपसभापति वाग्लेका अनुसार चैत १३ मा शाहले प्रधानमन्त्री पदको शपथ लिने मिति तय गरिएको हो । ‘चैत १२ गते सांसदहरूको शपथ हुन्छ, चैत १३ गते प्रधानमन्त्रीको शपथ हुन्छ,’ उपसभापति वाग्लेले भनेका छन ।
सांसदहरूको चैत १२ गते दिउँसो २ बजे शपथ लिने कार्यक्रम तय भएको छ । सांसदको शपथ लिएपछि मात्रै प्रधानमन्त्रीमा शाहले चैत १३ गते शपथ लिने तय भएको हो । रास्वपाका शीर्ष नेताहरूको छलफलमा चैत १३ गते नै मन्त्रीहरूको शपथ गराउने तयारी भएको बुझिएको छ ।
सरकार गठनलगायतका विषयमा रास्वपाका ४ शीर्ष नेताहरू छलफलमा जुटेको भन्दै रास्वपा उपसभापति स्वर्णीम वाग्लेले सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह र उपसभापति डीपी अर्यालसहितको तस्बिर सार्वजनिक गरेका छन् ।
केही दिनदेखि वरिष्ठ नेता बालेन्द्र शाह सरकार गठनको आन्तरिक तयारीमा रहेको भनिएका बेला ४ शीर्ष नेता छलफलमा जुटेका हुन् । एक नेताका अनुसार सभापति लामिछानेसहितको शीर्ष नेतृत्वसँग शाह निरन्तर छलफलमा छन् ।















