पोखरा, पैसाको सही प्रयोग र बचतको महत्व बुझाउने उद्देश्यका साथ आयोजित ग्लोबल मनी विक – २०२६ को अबसरमा पोखरामा बिभिन्न क्षेत्रका ब्यक्तित्वहरु बिचमा सम्बाद कार्यक्रमको आयोजना गरियो नेपाल राष्ट्र बैंकले वित्तीय क्षेत्रका विज्ञ, बैंकर्स, युवा तथा विद्यार्थीसँग बैंकिङ, बिमा, धितोपत्र लगायतका बिषयमा केन्द्रित रहेर संवाद कार्यक्रम गरेको हो ।
हरेक वर्षको मार्च महिनामा सप्ताहव्यापी रुपमा देशभरका बैंक तथा वित्तीय संस्थाले युवा, विद्यार्थीलाई लक्षित गरी यस किसिमको सम्बाद गर्ने गरेको बताइएको छ । यस किसिमको कार्यक्रमले युवालाई पैसाको व्यवस्थापन, बचत, र सुरक्षित लगानीबारे सचेत गराउने लक्ष्य राखेको साथै अभियानले सही वित्तीय निर्णय लिने र भविष्यका लागि योजना बनाउन सिकाउने गरेको नेपाल राष्ट्र बैंक पोखराका निर्देशक केशवप्रसाद तिमिल्सिनाले बताए ।
कार्यक्रममा बोल्ने बक्ताहरुले ग्लोबल मनी विकको चौधौं संस्करणको रुपमा यस बर्ष आयोजित कार्यक्रममा पनि पैसालाई कसरी बचाउने, कहाँ लगानी गर्ने र कसरी फजुल खर्च कम गर्ने भन्ने बिषयमा आआफ्नो भनाई राखेका थिए ।
नेपाल राष्ट्र बैंकका उपनिर्देशक रामकुमार कार्की र बैंकका सहायक निर्देशक अञ्जना जोशीले बालबालिका तथा युवामा वित्तीय जागरण ल्याउन २०१२ देखि अभियान थालेको जानकारी दिंदै डिजिटल ठगीबाट बच्न र मोबाइल बैंकिङको सुरक्षित प्रयोग गर्न सबैसंग अनुरोध गरे ।
नेपाल बैंकर्स एसोसिएन गण्डकी प्रदेशका उपाध्यक्ष बुद्धिराज बरालले २०४६ पछिको आर्थिक उदारीकरणका कारण नेपालमा निजी बैंक खुलेको कुराको चर्चा गरे ।
राष्ट्र बैंकको अनुमति विना वित्तीय कारोबार गर्न नपाइने भए पनि सहकारीले राष्ट्र बैंकबाट अनुमति नलिएको उनको भनाइ छ ।
डिभलपमेन्ट बैंक एसोसियसनका प्रतिनिधि हरि बुढाथोकीले पैसा कमाउनेमात्र नभएर सदुपयोग गर्न सुझाव दिए । नेपाल बिमा प्राधिकरण गण्डकी प्रदेश प्रमुख शम्भुप्रसाद मिश्रले बैंकले ऋण जारी गर्नुभन्दा अगाडि बिमा खोज्ने बताए ।
कालिका माइक्रो फाइनान्सका वरिष्ठ अधिकृत यमप्रसाद अर्याल, नेपाल राष्ट्र बैंक पोखराका सहायक निर्देशक रागनी सिंह,पोखरा फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरुङ, इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेडका प्रतिनिधि अर्जुन बराल र अमृता पौडेल लगायतले साना कर्जा प्रवाह गरेर ग्रामीण क्षेत्रको विकासमा ध्यान दिने आग्रह गरेका थिए।















