काठमाडौँ, नेपाली कांग्रेसले समानुपातिकको बन्दसूचीमा रहेकामध्येबाट निर्बाचन आयोगमा बुझाउनको लागि २० जनाको नाम टुंगो लगाएको छ । आइतबार दिउँसो बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सिफारिस गरेका २० जनाको नामआइतबार नै आयोगमा बुझाउने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
आदिवासी जनजातीबाट ६, खसआर्यबाट ६, थारु, दलित, मधेसी, मुस्लिम र पिछडिएको क्षेत्रबाट एक एक गरी ५ जनाको नाम आयोगमा पठाउने निर्णय गरे अनुसार क्लष्टर मिलाएर नामावली तयार गरिएको प्रवक्ता चालिसेले बताए ।
नेपाली कांग्रेसबाट समानुपातिक सांसदमा सिफारिस भएका २० जनाको नाममध्ये खसआर्य कोटाबाट सुशीला ढकाल, रुक्मिणीदेवी कोइराला, रीना उप्रेती, सीता थपलिया, गंगा शाही र अर्जुन नरसिंह केसी, आदिवासी जनजाति कोटाबाट गीताकुमारी सेन्दाङ, गंगालक्ष्मी अवाल, गीता गुरुङ, रेनुका काउचा, सुनिताकुमारी सुवेदी र भीष्मराज आङ्दम्बे रहेका छन ।
मधेशी कोटाबाट निनुकुमारी कर्ण, रेखाकुमारी यादव, चन्द्रमोहन यादव तथा दलित कोटाबाट हरिनादेवी कामी, पवित्रा विक र मानबहादुर नेपालीको साथै थारू कोटाबाट प्रमिलाकुमारी गच्छदार छन भने मुस्लिम कोटाबाट शाहजान खातुनको नाम सिफारिस गरिएको छ उल्लिखित २० जना मध्ये १५ जना महिला र ५ जना पुरुष रहेको छन ।
निर्वाचन आयोगले समानुपातिकमा पाएको मतका आधारमा सांसद सङ्ख्याको कोटा तोकेर नाम बुझाउन भनेको थियो । कांग्रेसले आफूले बुझाएका नामहरू आयोगले नै सार्वजनिक गर्ने समेत बताए । प्रवक्ता चालिसेले अब बस्ने केन्द्रीय कमिटी बैठकले निर्वाचनको पूर्ण समीक्षा गरेर पार्टीको धारणा सार्वजनिक गरिने बताए।















