पोखरा, नेपाली काँग्रेसको बिशेष महाधिबेशनबाट सभापतिमा निर्बिरोध निर्बाचित गगन कुमार थापा प्रतिनिधिसभा सदस्य पदमा पराजित भएका छन। यस अगाडिका निर्बाचनमा काठमाडौँ क्षेत्र न.४ बाट उमेदवार बनेर निर्बाचित हुँदै आएका थापा यस पटक मधेश प्रदेशको सर्लाही जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ बाट उमेदवार बनेका थिए । प्रतिनिधिसभा सदस्य निर्वाचनको सार्वजनिक मतपरिणामअनुसार उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. अमरेशकुमार सिंहले फराकिलो मतान्तरसहित पराजित गरेका छन ।
सांसदमा बिजयी रास्वपाका उमेदवार अमरेशकुमार सिंहले ३५ हजार ६८८ मत प्राप्त गरी जित हासिल गर्दा उनको निकटतम प्रतिस्पर्धी रहेका कांग्रेस सभापति थापाले २२ हजार ८३१ मतमा चित्त बुझाउनुपर्यो । सिंहले कांग्रेस सभापति थापालाई १२ हजार ८५७ मतको भारी अन्तरले पछि पारेका हुन् । थापा यसपटक निर्वाचन क्षेत्र परिवर्तन गरी पहिलो पटक मधेस झरेका थिए । तर, सर्लाहीका मतदाताले उनलाई अनुमोदन नगर्दा उनले पराजय भोग्नुपर्यो ।

गगन २०६४ सालदेखि नेपाली काँग्रेसको राजनीतिसंगै संसदीय यात्रामा थिए । पहिलोपटक समानुपातिक प्रणालीबाट निर्वाचित उनले पछिल्लो ३ पटक काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट जित निकालेका थिए । उनि गत पुसमा भएको कांग्रेसको दोस्रो महाधिवेशनबाट कांग्रेसको सभापतिमा निर्वाचित भएका थिए । कांग्रेसले गगनलाई नै भावी प्रधानमन्त्रीको रुपमा अघि सारेको थियो । गगन २०५१ सालमा त्रिचन्द्र क्याम्पसबाट स्वतन्त्र विद्यार्थी युनियनमा सदस्य निर्वाचित भएका थिए । २०५५ सालमा सोही क्याम्पसको स्ववियु सभापति निर्वाचित भएका थिए।
२०५७ सालमा नेपाल विद्यार्थी संघको उपाध्यक्ष हुँदै २०५९ मा महामन्त्री बनेका गगन कांग्रेसले आधिकारिक रुपमा स्वीकार गर्नुअघि नै गणतन्त्रको पक्षमा वकालत गर्ने नेता हुन । उनी २०५९ असोजपछि राजकाज मुद्दामा परेका थिए । २०६२/०६३ को आन्दोलनमा गणतन्त्रका पक्षमा खेलेको भूमिकाले थापालाई चर्चित बनायो । अहिले उनले पुस्तान्तरणलाई मुद्दा बनाएका थिए ।
पार्टीको १२ औँ महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित थापा २०७२ सालको १३ औँ महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थिए । गत वर्षको १४ औँ महाधिवेशनमा शेखर कोइराला समूहबाट महामन्त्रीमा निर्वाचित भएका थापा २०६४ सालको संविधान सभामा समानुपातिकबाट सदस्य बनेका थिए। दोस्रो संविधान सभामा काठमाडौं ४ बाट जितेका उनी अहिलेसम्म त्यही क्षेत्रबाट अपराजित छन् । २०७० सालमा उनी स्वास्थ्य मन्त्री बनेका थिए।
यस्तै अमरेश कुमार सिंह नेपालका एक चर्चित राजनीतिज्ञ तथा प्रतिनिधिसभाका सदस्य हुन्। उनको जन्म ५ सेप्टेम्बर १९७० मा सर्लाहीको बलरा क्षेत्रमा भएको हो । उनले उच्च शिक्षा भारतको जहारलाल नेहरु विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा पीएचडी गरेका छन् ।
सुरुमा मधेशकेन्द्रित आन्दोलनबाट राजनीतिमा आएका अमरेशले सुरुमा मधेशी जनाधिकार फोरममार्फत आफ्नो राजनीतिक यात्रा सुरु गरेपछि नेपाली कांग्रेसमा प्रवेश गरी सक्रिय राजनीतिमा लागेका हुन । २०७० र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी सर्लाही क्षेत्र नं. ४ बाट नेपाली काँग्रेसबाट सांसद निर्वाचित भएका थिए । त्यसपछि २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट टिकट नपाएपछि उनले स्वतन्त्र उम्मेदवारी दिए र फेरि निर्वाचित भए ।
संसदमा लोकप्रिय हुने खालको वक्तव्य दिनेदेखि संसदमै लुगा खोल्नेसम्मको हर्कतका कारण उनी चर्चित बन्दै आएका थिए । पछिल्लोपटक रास्वपाबाट उम्मेदवार बनेका उनले बालेन शाह प्रधानमन्त्री नबने जनकपुरमा आत्मदाह गर्ने र आफू निर्वाचित नभए आत्महत्या गर्ने अभिव्यक्ति दिएका थिए।
त्यस क्षेत्रबाट उमेदवारी दिएका २७ जना उमेदवारको मत १ सय भन्दा कम रहेको छ भने ६ जनाको मत ५०० भन्दा कम रहेको छ प्रतिस्पर्धामा रहेका नेकपा (एमाले) का उम्मेदवार अमनिशकुमार यादव तेस्रो स्थानमा रहे । उनले ९ हजार ३४३ मत प्राप्त गरेका छन भने जनमत पार्टीका राकेश कुमारले १ हजार ५७२ र नेपाली कम्युनिष्ट पार्टीका रजनीश रायले १ हजार ४०१ मत प्राप्त गरेका छन ।















