पोखरा, रङ्गहरूको पर्वका रुपमा प्रत्येक वर्ष मनाइने फागुपूर्णिमा अर्थात होली पर्व आज सोमबार देशभर मनाइंदै छ वसन्त ऋतुका अनेक रङ्गहरूलाई प्रतिविम्बित गर्ने पर्वका रुपमा होली पर्वलाई हर्षोल्लासपूर्वक मनाउने गरिन्छ । विभिन्न रङ्गीचङ्गी कपडाले सजिएको चिर ठड्याएपछि प्रारम्भ हुने होली पर्व पूर्णिमाको राति चिर दाह गरेपछि समापन हुन्छ ।
नेपालमा मनाइने प्रेम दिवस फागुन महिनामा पर्ने फागुपूर्णिमालाई मानिने संस्कृतविद्हरुको भनाई छ । ‘झ्याले दंक तुकङ मा वहे ल्यासे जिता मा…’ नेवार समुदायका युवाले यो बोलको गीत होलीको दिनमा गाउने गर्छन् । सो गीतमा झ्यालमा सागको माला सजाएर बस्ने युवतीलाई साथी बनाउँछु भन्ने भावना समेटिएको छ ।
राष्ट्रपति पौडेलको शुभकामना
यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको विशेष पर्व फागुपूर्णिमा (होली)ले समाजमा आपसी सद्भाव कायम राख्न थप प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गरेका छन । होली पर्वको सुखद अवसरमा सोमबार एक शुभकामना सन्देश जारी गर्दै पौडेलले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिका लागि मङ्गलमय शुभकामना व्यक्त गरेका हुन ।

राष्ट्रपति पौडेलद्वारा जारी सन्देशमा भनिएको छ, “होली पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवर्धन गर्न तथा समाजमा आपसी सद्भाव कायम राख्न थप प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु।”
असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा वैरभाव परित्याग गरी प्रेमभाव र आत्मीयताका साथ आफन्तजन एवम् साथीसङ्गीहरूसँग एकापसमा अबिर तथा रङ्ग दलेर सद्भाव प्रकट गर्ने तथा रमाइलो गर्ने परम्परा रहेको राष्ट्रपति पौडेलको भनाइ छ । राष्ट्रपति पौडेलले होलीमा खेलिने विविध रङ्गहरू जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रुपमा विविधतापूर्ण रहेको र त्यही विविधताबीचको एकता नै हामी नेपालीको पहिचान र सुन्दरता भएको समेत उल्लेख गरेका छन ।
प्रेम अभिव्यक्त गर्ने अवसर – होली अर्थात फागु
कुनै बेला होलीको लोकभाका गाउँदै आफूलाई मन परेको मान्छेसामु गीतमार्फत आफ्ना भावना व्यक्त गर्थे । महिला पुरुष सबैका लागि प्रेम अभिव्यक्त गर्ने अवसर हुन्थ्यो फागु । प्रविधिको विकास तथा पश्चिमी संस्कृतिका कारण अहिलेका युवापुस्ताले चाडपर्व भनेको रमाइलो गर्ने माध्यमका रूपमा मात्र लिन थालेको संस्कृतविद् गणेशराम लाछिको भनाइ छ, “टोल टोलमा गीत गाउँदै फागु खेल्दै हिँड्थे युवकयुवती । पुरुषहरू एकआपसमा अबिर छर्दै गीत गाउँदै हिँड्थे । महिला टोली पुरुषको स्वरमा स्वर मिलाउँथे । झन्डै तीन दशकअघिसम्मको प्रचलन अब त कथा जस्तै भएको लाछीको गुनासो छ ।”
एकआपसमा रङ खेलेर, अबिर छरेर फागु मनाउँदै गर्दा त्यहाँ विविध रङ देखिन्छ लाछिले भने, “ती रङमा सङ्गीतले प्राण भरेको हुन्छ । आत्मीयता साटासाट गर्ने पर्वका रूपमा रहेको फागु कालान्तरमा प्रेमगीतले जीवन्त बनाएको छ । उहाँले विस्तारै फागु ‘होली’ बनेको जानकारी दिँदै गीत/सङ्गीतमा समेत होली शब्दले व्यापकता पाएको बताउछन ।
प्रेम दिवस
नेपालमा मनाइने प्रेम दिवस फागुन महिनामा पर्ने फागुपूर्णिमालाई मानिने संस्कृतविद् ओम धौभडेलले जानकारी दिए । उनका अनुसार ‘झ्याले दंक तुकङ मा वहे ल्यासे जिता मा…’ नेवार समुदायका युवाले यो बोलको गीत होलीको दिनमा गाउने गर्छन् । सो गीतमा झ्यालमा सागको माला सजाएर बस्ने युवतीलाई साथी बनाउँछु भन्ने भावना समेटिएको छ ।
परम्परा अनुसार होली सुरु हुनुभन्दा दुई/तीन हप्ताअघिबाट नेवारको घर घरका झ्यालमा होलीको आगमनको सङ्केत गर्न सागका माला झुन्ड्याउने गरिन्छ, धौभडेल भन्छन, “मूलतः तरुणी र हुर्केकी चेली, जो असल पुरुष साथीको खोजीमा रहेका हुन्छन् उनैले यसरी मालाले घर सजाउने गर्दथे । होली खेल्न टोल टोलमा पुग्ने टोलीले विपरीत लिङ्गीसँग सम्बन्ध अघि बढाउने परम्परागत लोकगीत गाउने गर्छन् । नेवार युवाले होलीलाई पिरती गाँस्ने पर्वका रूपमा लिने गरेका छन् । यो दिन युवकयुवती अबिर, रङसहित होली खेलेर माया साटासाट गर्ने गर्छन् ।
सांस्कृतिक पक्षले के के गर्छ त होलीमा
हिरण्यकश्यपुले विष्णुभक्त प्रह्लादलाई मार्न अह्राएपछि होलिकाले प्रह्लादलाई काखमा राखेर आगोमा होमेकी थिइन् तर आगोले असर नपर्ने भनिएको होलिका मरेको, प्रह्लाद भने जीवित रहेको पौराणिक कथन यो पर्वसँग जोडिएको छ । काठमाडौँको धलासिक्वका मानन्धर समूहले परम्परा अनुसार नागार्जुन वनबाट ल्याइएको हरियो बाँसमा रङ्गीबिरङ्गी ध्वजासहित वसन्तपुर गद्दी बैठकको दक्षिण पटाङ्गिनीमा एक साताअघि फागुपर्वको चीर ठड्याइन्छ ।
यसै गरी हनुमानढोका दरबारस्थित नासलचोक, मोहनकाली चोक लुँह चोक र दाखः चोकमा पनि मयलका ससाना हाँगामा ध्वजा फहराएर चीर गाडिन्छ । यसै गरी गुरुमापा नामका राक्षसका लागि टुँडिखेलमा मध्यरात एक मुरी भात र एउटा सिङ्गो राँगोको भतेर लगाइने प्रचलन पनि छ ।















