पोखरा, पोखरा महानगरपालिका–२७, तालचोकस्थित डायमण्ड माविको ३८औँ वार्षिक उत्सव तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । माघ २२ देखि २४ गते सम्म मनाईएको वार्षिकोत्सवमा शैक्षिक, साहित्यिक तथा सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरिएको थियो ।
तेश्रो दिन आयोजित मूल समारोह विद्यालय प्राचार्य यमबहादुर रोकाको अध्यक्षतामा शनिबार सम्पन्न भएको हो कार्यक्रमका प्रमुख अतिथि पोखरा विश्वविद्यालयका रजिस्ट्रार तथा सह–प्राध्यापक डा. अजय थापाले विद्यार्थीलाई ज्ञान, अनुशासन र संस्कारसहित सक्षम नागरिक बनाउने कार्यमा विद्यालयको भूमिका महत्वपूर्ण रहेको बताए ।
कार्यक्रममा स्वागत गर्दै भूतपूर्व विद्यार्थी एबम पोखरा विश्वविधालय शिक्षण अस्पतालका छाला, कुष्ठरोग तथा यौनरोग विशेषज्ञ डा. रमेश शर्माले विद्यार्थी जीवनमा संस्कार, स्वास्थ्य सचेतना र सामाजिक उत्तरदायित्वको महत्वमाथि प्रकाश पारेका थिए ।

समारोहमा विद्यार्थीहरूले प्रस्तुत गरेको नाटक “आत्मबोध”, देशभक्ति गीतमा आधारित उत्कृष्ट नृत्य, सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो।
उक्त अवसरमा विद्यालयमा १० वर्षसम्म निरन्तर सेवा प्रदान गर्ने शिक्षक,कर्मचारीहरू दिनेश शर्मा, रविचन्द्र अधिकारी, सञ्जय सुबेदी, अस्मिता शर्मालाई दीर्घ सेवा सम्मान प्रदान गरिएको थियो। साथै पोखरा महानगरपालिका स्तरबाट सम्मानित उत्कृष्ट विद्यार्थीहरूलाई पनि विशेष सम्मान गरिएको थियो।
शैक्षिक उपलब्धिका आधारमा कक्षा १२ मा ३.९६ जिपिए सहित नेपाल टप गर्न सफल मयुर शाही, एसईई २०८१ मा उत्कृष्ट जिपिए प्राप्त गर्ने अङ्किता आचार्य र स्वस्तिका देवकोटा, तथा कक्षा ८ को बिएलई परीक्षामा ४.० जिपिए प्राप्त गर्ने युनिशा खड्कालाई सम्मानपत्र तथा दोसल्ला सहित सम्मान गरिएको थियो।
विद्यालयका निर्देशक माधव शरण उपाध्यायले त्रिदिवसीय कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथि, अभिभावक, शिक्षक, शिक्षिका, विद्यार्थी, शुभेच्छुक तथा सहयोगीप्रति हार्दिक आभार व्यक्त गरेका थिए ।
यस अगाडी पहिलो दिनको प्रमुख आकर्षणका रूपमा प्रख्यात साहित्यकार डा. नवराज लम्सालको बुक टक तथा प्यानल संवाद गरिएको थियो भने कृष्णशरण उपाध्याय लगायत शिव त्रिपाठीद्वारा कविता वाचन कार्यक्रम विशेष आकर्षण बनेको थियो । दोस्रो दिन खाना महोत्सव, शिक्षा र मनोरञ्जनलाई एकै थलोमा समेटिएको डायमण्ड मेला सम्पन्न भएको थियो ।
- राजन परियारबाट















