पोखरा, पोखराको प्रस्यांगमा रहेको सन्तानेश्वर महादेव मन्दिर परिसरमा महाशिवरात्री विशेष कार्यक्रम हुने भएको छ। शिवरात्रीका अवसरमा फागुन ३ गते सन्तानेश्ववर महादेव मन्दिर पोखरा–५ प्रस्र्याङ चिल्ड्रेन पार्कमा विशेष कार्यक्रम हुने भएको हो । प्रस्यांग बगैंचा पार्क व्यवस्थापन समितिको आयोजना र शिवालय भजन समूहको समन्वयमा सामूहिक व्रतवन्त्र तथा ‘भजन साँझ’ हुन लागेको कार्यक्रम संयोजक सन्तोष पराजुलीले जानकारी दिए ।
ऐतिहासिक तथा धार्मिक महत्व बोकेको संतानेश्वर मन्दिरमा बर्षेनी शिवरात्रीकाअवसरमा स्वतस्फूर्त रुपमा कार्यक्रम हुँदै आएको भएपनि यसपटक व्यवस्थित ढंगले कार्यक्रम हुन लागेको व्यवस्थापन समितिले जनाएको छ । पर्यटनसँग समेत जोडिएको उक्त पार्क र पौराणिक तथा धार्मिक महत्व बोकेको सन्तानेश्वर महादेव मन्दिर परिसरमा कार्यक्रम गर्न लागिएको हो ।
प्रस्यांगको सन्तानेश्वर मन्दिरकोआफ्नै महत्व र गरिमा छ । शिवरात्रीको अबसरमा स्वतस्फूर्त रुपमा कार्यक्रम हुने गरेको उक्त स्थानमा यस पटक विशेष कार्यक्रम गरेर सिंगो समुदायलाई जोड्न खोजिएको र यसको ब्यबस्थापन पार्क समितिले गर्ने संयोजक पराजुलीले गुरुकुल खबरलाई जानकारी दिए कार्यक्रम सम्पन्न गर्न बिभिन्न व्यक्ति र संस्थाले सहकार्य गरेको पनि पराजुलीले जानकारी दिए ।
उक्त कार्यक्रमलाई सफल पार्न पोखराको गैरापाटनस्थित फिस्टेल आइभिएस एन्ड फर्टिलिटी सेन्टरले पनि सहयोग गर्ने भएको छ । आइभिएफ सेन्टरको तर्फबाट डा. अनु शेरचन र व्यवस्थापन समितिको तर्फबाट कार्यक्रम संयोजक पराजुलीले सम्झौतापत्रमा हस्ताक्षर गरेको बताइएको छ । शिवरात्री विशेष कार्यक्रममा १०८ शिवलिंगमा दूध, जल तथा बेलपत्र अर्पण, सामूहिक चुडाकर्म, निशुल्क रक्त परीक्षण, विभिन्न सांस्कृतिक कार्यक्रम तथा झाँकी आकर्षणका रुपमा रहने आयोजकले जानकारी दिए ।















