पोखरा, पोखरा उद्योग वाणिज्य संघले बुद्ध विशाल बजारका व्यवसायीहरूलाई लक्षित गर्दै भ्याट तथा करसम्बन्धी दुईदिने तालिम आयोजना गर्यो। जर्मन सहयोग संस्था जीआइजेड-आरएसआरएसडीको आर्थिक सहयोग तथा बुद्ध विशाल बजार व्यापारिक एसोसियसनसँगको सहकार्यमा उक्त तालिम गरिएको हो। तालिममा बुद्ध विशाल बजारसहित पोखराका विभिन्न क्षेत्रका करिब ६० जना व्यवसायी सहभागि थिए।
कर प्रणाली, भ्याट व्यवस्थापन, कर दाखिला प्रक्रिया तथा सूचना प्रविधिको प्रयोगलगायत विषयमा व्यवसायीहरूलाई व्यवहारिक जानकारी दिने उद्देश्यले आयोजित तालिमको उद्घाटन सत्रमा बोल्दै आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिवप्रसाद ढुंगानाले राज्यले करको नाममा कसैलाई नतर्साउने बताए।
नेपालको कर प्रणाली स्वघोषणामा आधारित रहेको उल्लेख गर्दै उनले समयमै कर बुझाउन र उपभोक्ताबाट संकलन गरिएको भ्याट समयमै आन्तरिक राजश्व कार्यालयमा दाखिला गर्न आग्रह गरे। करसम्बन्धी करिब ८५ प्रतिशत सेवा कागजविहीन प्रणालीबाट सञ्चालन भइरहेको जानकारी दिँदै ढुंगानाले सूचना प्रविधिको प्रयोग गर्न र कर सहयोगीमा मात्र निर्भर नहुन व्यवसायीहरूलाई सुझाव दिए।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले व्यवसायीहरूले खातापाता चुस्त र दुरुस्त राखेमा अनावश्यक जरिवानाबाट जोगिन सकिने भन्दै करप्रति सचेत हुन आग्रह गरे। कार्कीले आगामी दिनमा आवश्यकता अनुसार अन्य क्षेत्रका व्यवसायीहरूका लागि पनि यस्ता तालिमहरू सञ्चालन गर्ने पोखरा उद्योग वाणिज्य संघको योजना रहेको बताए ।
समापन कार्यक्रममा बुद्ध विशालबजार व्यापारिक एसोसियसनका मानार्थ सदस्य तथा सल्लाहकार केशवबहादुर खत्रीले व्यापार–व्यवसाय किन संकुचनमा परेको छ भन्ने विषयमा राज्य गम्भीर बन्नुपर्ने धारणा राख्दै एशोसियसन आगामी दिनहरू पनि संघसँग सहकार्य गर्दे अगाडि बढ्ने बताए । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्वाचार्य र संघकी महासचिव शोभा गौतम लगायत सहभागी थिए ।
बुद्ध विशाल बजार व्यापारिक एसोसियसनका अध्यक्ष बुद्विवहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रमका संयोजक तथा बुद्ध विशाल बजार व्यापारिक एसोसियसनका उपाध्यक्ष मनोहरि पौडेल, एशोसियसनका महासचिव थमनसिह गुरूङ लगायतले आआफ्नो भनाई राखेका थिए । दुई दिने उक्त तालिममा चार्टर्ड एकाउन्टेन्ट विवेक श्रेष्ठले कर प्रणाली, भ्याट व्यवस्थापन, कर दाखिला प्रक्रिया तथा सूचना प्रविधिको प्रयोग लगायतका बिषयमा प्रशिक्षण दिएका थिए।
२१ माघ २०८२, बुधबार २१:५५ मा प्रकाशित














