पोखरा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कास्की -३ को प्रतिनिधिसभामा प्रत्यक्ष तर्फका उमेदवार बिना गुरुंगले आंफ्नो चुनाबी अभियान अगाडी बढाउने क्रममा निर्बाचन क्षेत्र अन्तर्गतका बिभिन्न स्थानमा पुगेर मतदाताहरुसंगको भेटघाटलाई तिब्रता दिएकी छन गुरुङले मतदातासँग भेट्ने, उनीहरुका कुरा सुन्ने र नीतिगत तहबाट गर्न सकिने कामहरुको बारेमा जानकारी लिएर सम्बन्धित व्यक्तित्वहरुसंग छलफल गर्ने अभियान चलाइरहेकी छन् । शनिबार पोखराको पुरन्चौर क्षेत्रका मतदाताहरु संग भेटघाट गरेकी उनले आइतबार हेमजावासीका कुरा सुनेर आंफुले गर्नसक्ने कामको बारेमा प्रतिवद्धता जनाएको बुझिएको छ ।
याम्दी, जैसीचौर, मिलनचोक, झिझिर्का लगायतका ठाउँका मतदातासँग भेटेकी गुरुङले राष्ट्रिय नीति निर्माणको विषयदेखि स्थानीय मुद्धासमेतलाई केन्द्रमा राखेर छलफल गरेकी थिईन । आलु, तरकारी उत्पादनको पकेट क्षेत्र मानिने हेमजाका बासिन्दाले अहिलेसम्मका उम्मेदवारले कृषिको आधुनिकीकरण र बजारीकरणको कुरा गरेर मत मागे पनि पूरा नगरेको दुखेसो पोखेका थिए ।
अहिले पनि किसानका उत्पादनको बजारीकरणमा विचौलिया हाबी हुने गरेको बताउंदै उनीहरुले हेमजाजस्तो कृषि योग्य भूमिको प्रयोग ब्यबस्थित रुपमा हुन नसकेको र बढ्दो सहरीकरणको चपेटामा त्यहाँको खेतीयोग्य र उर्बर जमिन परेको समेत बताए।

हेमजावासी र कास्की–३ का मतदाताको गुनासो पछि उमेदवार गुरुंगले आफूले चर्का भाषण र सस्तो आश्वासन नबाँड्ने तर नीतिगत तहबाटै नागरिकको पक्षमा काम गर्ने प्रतिवद्धता जनाएकी थिईन । करिब २५ करोड रुपैयाँको आलुमात्रै उत्पादन गर्ने हेमजाजस्ता क्षेत्रमा व्यवस्थित सहरीकरणको योजना बनाउन नीतिगत रुपमै काम गर्ने उनको भनाई थियो । कृषिलाई आधुनिकीकरण, यान्त्रीकरण र बजारीकरणका लागि विचौलियाको अन्त्य गर्ने गरी कृषि नीति आवश्यक पर्ने उनले स्पष्ट पारिन । कास्की क्षेत्र नम्बर ३ का विभिन्न ठाउँमा पुग्दा थुप्रै सम्भावना भएर पनि राजनीतिक स्वार्थ र कोपभाजनमा परेर प्रगति गर्न नसकेको धेरैले गुनासो गरेको उनले बताइन ।
महिला सशक्तीकरण, संस्कृति संरक्षण र सामाजिक न्यायका सवालमा निरन्तर सक्रिय हुँदै सञ्जीवनी सिस्टर्स एसोसिएसनको संस्थापक अध्यक्षका रूपमा सयौं महिलासँग जोडिँदै राजनीतिमा होमिएकी गुरुङले माटो सुहाउँदो नीति र विकासमा जोड दिने प्रतिवद्धता समेत जनाइन् ।















