काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने महाराजगंजस्थित त्रिवि शिक्षण अस्पताल उपचारार्थ भर्ना गरिएको उनको सचिबालयले जनाएको छ । केहि दिनदेखि सार्बजनिक कार्यक्रममा नदेखिएपछि लामिछानेको बारेमा बिभिन्न अड्कल काट्न लागिएको उनको सचिवालयले लामिछाने अस्पतालमा उपचारार्थ भर्ना भएको जनाएको छ ।
यहि माघ ५ गते जनकपुरमा आयोजित सभाका क्रममा लामिछानेको देब्रे खुट्टामा सामान्य चोट लागेको भएपनि उक्त चोट बढेर छालाको भित्री तहमा संक्रमण भएको कारण उपचारको लागि अस्पताल लागिएको उनको सचिवालयले जनाएको छ ।
अस्पतालका चिकित्सकहरूको परीक्षण तथा सल्लाहअनुसार यस प्रकारको संक्रमण जोखिमयुक्त हुन सक्ने भएकाले केही दिन चिकित्सकको निगरानीमा अस्पतालमा राखेर उपचार गराउनुपर्ने भएको उनको सचिवालयले स्पष्ट पारेको छ ।
‘चोट आफैंमा गम्भीर नभए पनि संक्रमण फैलिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै चिकित्सकहरूको सुझावअनुसार पूर्ण उपचार र स्वास्थ्य सुधारपछि मात्र उहाँ पुन: नियमित राजनीतिक तथा सांगठनिक अभियानमा फर्किने जानकारी गराइन्छ,’ सचिवालयले भनेको छ ।
साथै, अन्य बिरामीहरूको उपचार प्रक्रियामा असर नपरोस् तथा अस्पताल प्रशासनलाई हुनसक्ने असहजतालाई मध्यनजर गर्दै भेटघाटका लागि अस्पताल नआइदिन पनि सचिवालयले आग्रह गरेको छ ।
















