Play

नेपाली कांग्रेसमा दुवैपक्ष ‘पर्ख र हेर’को रणनीतिमा, बुधबार बिहान सहमति नभए कांग्रेसमा फुट निश्चित

बिशेष महाधिबेशनका नीति र स्वामित्व लिने कुरामा संस्थापन पक्ष सकारात्मक, देउवाको बहिर्गमन, टिकटमा हस्ताक्षर जस्ता बिषयमा बिबाद


गुरुकुल खबर


काठमाडौँ, नेपाली कांग्रेसको बिशेष महाधिबेशनबाट नेतृत्व चयन गर्ने भन्दै निर्बाचन प्रक्रिया शुरु गरेपछि उत्पन्न विवाद मिलाउनको लागि बिहान देखि बेलुकासम्म चलेको द्विपक्षिय एबम बहुपक्षिय छलफल बिना निष्कर्ष टुंगिएको छ । मंगलबार बिहान आंफ्नो समुहमा र दिउँसोदेखि रातिसम्म तीन चरणमा भएको छलफलले कुनै निष्कर्ष निकाल्न नसकेको पछि कांग्रेस विभाजनको संघारमा पुगेको अनुमान गर्न थालिएको छ।

कांग्रेस महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमा पेश गरेको पार्टीको आमसंरचनात्मक सुधार लगायतका प्रस्ताव मंगलवार बेलुका पारित गरेपछि बोल्नेक्रममा महामन्त्री थापाले आफूहरु विद्रोहमा सामेल भएकाले अब कुनै पनि निर्णयहरू जारी महाधिवेशनको हल भन्दा बाहिरबाट नहुने भन्दै बाहिर चलिरहेको सहमतिको कोशिसले निष्कर्षमा पुग्न जटिल रहेको संकेत गरेका छन् ।

पार्टीको भावी सभापति र प्रधानमन्त्री गगन थापा – शर्मा, बिशेष महाधिबेशन आन्दोलन अभियान र बिद्रोह हो- थापा 

अर्का महामन्त्री विश्वप्रकाश शर्माले गगन थापालाई कांग्रेसको भावी नेतृत्व र भावी प्रधानमन्त्रीको रुपमा प्रस्ताव गर्दै कांग्रेस नवीन उर्जा लिएर आउने उद्घोष गरेका थिए । महामन्त्री थापाले निर्बाचन प्रक्रिया अगाडी बढेको भन्दै कसैले यसलाई दखल अन्दाज गर्न नमिल्ने बताए । ‘हामीले छोटो समयका लागि यो नेतृत्व हाँक्ने हो । यसपछि नियमित महाधिवेशन गर्ने हो । यो बेलामा यो आन्दोलन अभियान र विद्रोह हो । सबैले म यो पदमा जानुपर्छ भन्ने सोच्न छोड्दिनुभयो भने यहाँ आउनुको अभियानको सार्थकता हुन्छ’ महामन्त्री थापाले महाधिवेशन प्रतिनिधिहरूलाई भने ।

त्यस अबसरमा बोल्दै अर्का महामन्त्री शर्माले नेतृत्व चयन गरिसकेपछि आँफुहरु निर्वाचन आयोगमा पुगेर हामीले सम्पूर्ण वैधानिक बन्दोबस्तका साथ नेतृत्व चयनसहित सबै कुरा गरिसकेको जानकारी गराउने बताए । निर्वाचन आयोगले विशेष महाधिवेशनले के म्याण्डेट लिएर आयो भनेर पर्खिरहेको हुने जिकिर उनले गरेका थिए ।

संस्थापन पक्षसँग सहमतिका लागि सोमबार दिउँसोबाट नै प्रयास भएको थियो । आज दिनभर पनि संस्थापन पक्ष, शेखर कोइराला पक्ष र विशेष महाधिवेशन पक्षधरहरूबीच वार्ता भएको थियो । तर वार्तामा संस्थापन पक्ष विशेष महाधिवेशन पक्षधरहरूले राखेको प्रस्तावमा टसमस भएन ।विशेष महाधिवेशन पक्षधरले पार्टी सुधारका प्रस्तावहरू पारित गर्नुपर्ने, शेरबहादुर देउवाले सभापति छोड्नुपर्ने, महाधिवेशनलाई स्वामित्व लिएर जानुपर्ने लगायतका प्रस्तावहरू राखेका थिए । तर यो प्रस्तावमा संस्थापन पक्ष तयार भएन ।

महाधिवेशनलाई नै संस्थापन पक्षले अवैधानिक भन्दै आएको छ । कांग्रेसले मंगलबार दिउँसोका लागि केन्द्रीय समिति बैठक बोलाएको थियो । यता विशेष महाधिवेशन पक्षधरले के गर्छन् भन्ने पर्ख र हेरको नीतिमा रहेर संस्थापन पक्षका नेताहरूले बैठक गरेनन् । साँझ छोटो समयका लागि बैठक राखेर बुधबार बिहानका लागि बैठक सारिएको छ ।

मंगलबार विशेष महाधिवेशनस्थलमा वार्ताको नाममा अल्झिन नहुने भन्दै प्रतिनिधि र समर्थकहरूले नाराबाजी समेत गरेका थिए । यस कारण पनि अब विशेष महाधिवेशन नीति र नेतृत्वबारे निर्णय नगरी नहुने विन्दुमा पुगेको छ । नीतिबारे त दुई जना महामन्त्रीहरू प्रस्ताव पारित भएपछि टुंगिइनै सकेको छ ।  यो बीचमा रातारात संस्थापन पक्षले विशेष महाधिवेशन पक्षधरको माग पुरा गर्ने गरी कुनै स्वीकार्य प्रस्ताव ल्याउला कि भन्ने झिनो आश त छ । तर विभाजनको स्पष्ट रेखा कोरिइसकेकाले सामान्य प्रस्तावले अब रोक्ने जस्तो देखिएको छैन ।

विशेष महाधिवेशन पक्षधरले के कस्तो निर्णय लिन्छन, त्यसको आधारमा महाधिवेशन आयोजनकहरूलाई के गर्ने भन्ने संस्थापन पक्षको रणनीति देखिन्छ । पार्टी कार्यालयमा पुगेका संस्थापन निकट केही नेताहरूले अब प्रक्रिया गगन थापा लगायतका नेताहरूलाई कारबाही निर्णय हुनसक्ने बताएका छन् । आज राती नै कुनै सहमतिको विन्दु नभेटे भोलि बस्ने बैठकले त्यो निर्णय गर्न सक्छ ।

कांग्रेस बिभाजन रोक्नुपर्ने दवाबमा संस्थापन र  बिशेष महाधिबेशन पक्ष पनि

मंगलवार दिउँसो बाट निर्बाचन प्रक्रिया शुरु गरि बेलुका ९ बजे देखि राति १ बजेसम्म मतदान गर्ने भनि बिशेष महाधिबेशन पक्षधरले निर्बाचनको कार्यतालिका प्रकाशन गरेको भएपनि पटक पटक संसोधन गरिरहेका छन। मंगलवार रातिको निर्बाचन प्रक्रियालाई स्थगित गरि बुधबार बिहान ८ बजेदेखि पुन बन्दसत्रको हलमा उपस्थित भएर बाँकी प्रक्रिया अगाडी बढाउने बिशेष महाधिबेशन पक्षधरले जानकारी गराएका छन।

नेतृत्व चयनको प्रक्रिया अगाडी बढाईएमा नेपाली काँग्रेसको बर्तमान केन्द्रीय समितिले बिशेष महाधिबेशन पक्षधरहरुमाथि कारबाही गर्न सक्ने सम्भावना सहित पार्टी विभाजनको डरका कारण पनि महाधिबेशन पक्षधरले निर्बाचन प्रक्रियाको लागि समय थप्दै गएका छन । बिशेष महाधिबेशनको अगुवाई गरेका कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा दुबैले निर्बाचनको बेला पार्टी बिभाजनको खतरालाई राम्रैसंग बुझेको कारण  कुनै मिलनबिन्दु खोज्नुपर्ने दवाबमा उनीहरु पनि छन।

बिशेष महाधिबेशनबाट नेतृत्व चयन गर्दा पार्टी विभाजन हुने खतरा सहित आसन्न निर्बाचनमा कांग्रेस कम्जोर बन्ने बिषय बुझेका महामन्त्री थापा र शर्मालाई त्यहा उपस्थित कार्यकर्ता र अन्य क्षेत्रको दवाब पनि त्यत्तिकै रहेको कारण उनीहरु चेपुवामा परेको विश्लेषण धेरैतिरबाट गर्न थालिएको छ।

यस्तै दवाबमा पार्टीको वर्तमान संस्थापन पक्षसहित कोइराला पक्षपनि परेको छ बिशेष महाधिबेशन पक्षधरलाई कारबाही गर्दा वा उनीहरुको कुनै कुरालाई सम्बोधन नगर्दा पार्टी विभाजनको खतरा र उनीहरुका मागलाई सम्बोधन गर्दा वर्तमान संस्थापनको भूमिका कम्जोर हुने मात्र नभएर यस अगाडी आँफैले गरेका निर्णय पनि गलत ठहरिने भएकोले पनि देउवा र कोइराला समूहमा पनि दवाब परेको छ यसका साथै आम कार्यकर्ताहरु र बहुमत महाधिबेशन प्रतिनिधिको आवाजलाई बेवास्ता गर्न नमिल्ने स्थानमा संस्थापन पक्ष रहेको छ ।

‘मंगलवार राति अबेरसम्मको छलफल टुंगोमा पुग्ने नसकेपछि छलफल जारी राख्ने र भोलि बिहानै छलफल सुरु गर्ने भन्ने कुरा भयो,’ छलफलमा सहभागी एक नेताका अनुसार सभापति शेरबहादुर देउवाको बहिर्गमनको विषयमा कुरा मिलिरहेको छैन । देउवाले पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिएर उपचारका लागि विदेश गएको भएपनि फर्किएपछि पुनः देउवा सक्रिय भएको भन्ने विषयमा विशेष महाधिवेशन पक्षरले आपत्ति प्रकट गर्दै आएका छन । उनीहरुको आक्रोश बिशेष गरि सभापति देउवासहित देउवाको निकट रहेका भनिएका पुर्व पदाधिकारीहरुसंग देखिएको छ।

त्रिपक्षिय बार्ता पनि निष्कर्ष बिहिन

मंगलवार दिनभर जसो चलेको बार्ता त्रिपक्षीय रुपमा भएको थियो। जसअनुसार संस्थापन समूह अर्थात देउवापक्षबाट नेताद्वय बालकृष्ण खाण र रमेश लेखक, विशेष महाधिवेशन पक्षबाट नेताहरु प्रदीप पौडेल, देवराज चालिसे, गुरुराज घिमिरे र मधु आचार्य तथा डा. शेखर कोइराला पक्षबाट जीवन परियार र मीनेन्द्र रिजाल छलफलमा सहभागी थिए ।

विशेष महाधिवेशनको स्वामित्व लिने, विशेष महाधिवेशनमा पेस भएका प्रतिवेदन र कार्यविधिहरु संस्थापन समूहले अध्ययन गरी सुझाव दिने अनि त्यसलाई समेटेर पारित गर्नेलगायतको विषयमा मोटामोटी सहमति भएको छ । सभापति देउवाको राजनीतिक बहिर्गमन, आगामी निर्वाचनका उम्मेदवारको टिकटमा कसले हस्ताक्षर गर्ने साथै बिशेष महाधिबेशनको नाममा भएको करोडौं रुपैयाको खर्च पार्टीले ब्यबस्थापन गर्नुपर्ने जस्ता बिषय भने टुंगिन बाँकी छ ।

यिनै बिषयमा टुंगो लगाउन बुधबार बिहान पनि छलफलमा बस्ने सहमति भएसंगै बिशेष महाधिबेशन पक्षधरले निर्बाचन प्रक्रिया समेत बुधबार सम्मको लागि सारेको बताइएको छ विशेष पक्षले महाधिवेशन प्रतिनिधिहरुलाई धेरै दिन काठमाडौँ राख्न नसकिने भन्दै भोलि बिहानसम्मको डेड लाइन दिएको बताइएको छ ।

बार्ता जारी र सकारात्मक छ- घिमिरे 

नेपाली कांग्रेसका नेता श्यामकुमार घिमिरेले नेताहरूबीच वार्ता जारी रहेको र त्यसले निष्कर्ष निकाल्ने बताउंदै वार्ता सकारात्मक रुपमा अघि बढिरहेको बताएका हुन् । ‘नेताहरूबीच वार्ता प्रक्रिया चलिरहेको छ । यसले केही आकार दिन्छ भन्ने विश्वास छ,’ उनले भने, ‘सकारात्मक हुने कुरामा अहिले नै सबै कुरा नभनौं । सकारात्मक रुपमा नै अघि बढेको छ ।’ घिमिरेले नेताहरूबीच भएको छलफलको निष्कर्षबाट आगामी रणनीति तय गर्ने पनि बताए ।

पार्टी फुटाउने अभियानमा सामेल हुन्न – भण्डारी 

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले आफू पार्टी फुटाउने अभियानमा सामेल नहुने स्पष्ट पारेका छन् । पार्टी केन्द्रीय समितिको बैठकमा सहभागी हुन सानेपा पुगेका उनले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै विभाजनको पक्षमा आफू नरहेको बताएका हुन् । केन्द्रीय समितिको बैठक बिहान ११ बजेको लागि बोलाइएको भएपनि समय सारेर दिउँसो १ बजेको लागि तय गरिएको थियो। तर बिशेष महाधिबेशन पक्षधरसंग सहमति हुन नसकेपछि समय सारेर बुधबार बिहानको लागि बोलाइएको छ।

केन्द्रीय समितिको बैठकमा सहभागी हुन् भनि केन्द्रीय कार्यालय सानेपा पुगेका नेताहरु दिनभर त्यहा रहेपनि बैठक हुन सकेन। तर केन्द्रीय समिति बैठकमा सहभागी हुन कांग्रेस विशेष महाधिवेशन पक्षधर भने पार्टी कार्यालयमा आएनन । बिशेष महाधिबेशनको उद्घाटन समारोहमा सहभागी भएर सम्बोधन गरेका नेता चन्द्र भण्डारी सहित अन्य कतिपय नेताहरु भने केन्द्रीय समितिको बैठकको लागि कार्यालयमा पुगेका थिए।

बिशेष महाधिबेशन हैन पार्टीको भेला हो – साउद 

यसैबीच नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले भृकुटीमण्डपमा भइहेको विशेष महाधिवेशनलाई भेला भन्दै टिप्पणी गरेका छन् । पार्टी कार्यालय सानेपामा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले आइतबारदेखि भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई भेला भनेका हुन् । उनले पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पार्टीको निर्णय नमानेको भन्दै प्रश्न पनि गरे ।

पार्टीको केन्द्रीय समितिको बैठकले नै नियमित महाधिवेशन पुसबाट वैशाखमा सार्ने निर्णय गरेको र उक्त निर्णय भएको बैठकमा महामन्त्रीहरू पनि सहभागी भएको उनको भनाइ छ । ‘नियमित महाधिवेशन स्थगित भइसकेपछि वहाँहरुले बोलाउनुभएको यो कार्यक्रम भेलाभन्दा अरु हुन सक्दैन’ उनले भने ।

बिशेष महाधिबेशनले गर्ने निर्णयको जवाफ केन्द्रिय कार्यालयले दिन्छ – महर

यसैगरि नेपाली कांग्रेसका अर्का केन्द्रीय सदस्य नैनसिंह महरले विशेष महाधिवेशनको बन्दसत्रबाट के निर्णय हुन्छ भन्नेमा पार्टीले के गर्ने भन्ने निर्णय हुने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महरले संस्थापन समूह र विशेष महाधिवेशन समूहबीच केही कुराहरू नमिलेको बताएका छन् । उनले विशेष महाधिवेशनको हलले गर्ने निर्णयको जवाफ केन्द्रीय कार्यालयले दिने चेतावनी दिए ।

‘विशेष महाधिवेशनमा भएका कुरालाई ग्रहण गर्नेलगायत विभिन्न प्रस्ताव आएको छ । यसबारे महाराजगञ्जमा छलफल भइरहेकै छ,’ विशेष महाधिवेशन निर्वाचन समितिले प्रक्रिया नै अघि बढाइसक्यो नि भन्ने प्रश्नमा उनले थपे, ‘स्वभाविक रुपमा एक्सनको रियाक्सन हुने कुरामा दुई मत भएन ।’

 गगन थापालाई तरुण दलका अध्यक्ष गुरुङले भने-  पार्टी फुट्नबाट जोगाउनुस, हामी नेता बनाउछौं

यसैबीच, नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले पार्टी एकताको पक्षमा दबाब अभियान शुरु गरेको छ । विशेष महाधिवेशन पक्षधरले नयाँ नेतृत्व चयन प्रक्रिया शुरु गरिरहेका बेला संस्थापन पक्ष निकट तरुण दलका नेता, कार्यकर्ताहरूले ले मंगलवार सानेपास्थित पार्टी कार्यालयमा भेला भएर पार्टी एकताको पक्षमा दवाव दिएका हुन् । उनीहरूले पार्टीलाई एकतावद्ध बनाएर लैजान महामन्त्री गगनकुमार थापालाई आग्रह समेत गरेका छन् ।

महामन्त्री थापा सिंगो पार्टीको नेता बन्नसक्ने भएकाले उनलाई पार्टीलाई एकताबद्ध बनाएर लैजान आग्रह गरिएको पनि तरुण दलका सभापति विद्वान गुरुङले बताए । ‘हामीलाई के विश्वास छ भने गगन थापा नेपाली कांग्रेसका महामन्त्री पनि हुनुहुन्छ । उहाँ जनताको प्रिय नेता पनि हुनुहुन्छ । हमीलाई विश्वास छ–उहाँलाई सिंगो पार्टीको नेता बनाउन हामीले चाहेका छौं । त्यस्तो खालको दबाब पनि छ, उनले अहिलेको अवस्थामा महामन्त्री जीले नेपाली कांग्रेसलाई फुटाएर होइन, जुटाएर लैजाने कुरामा पक्कै पहल गर्नुहुनेछ भन्ने बिश्वास पनि ब्यक्त गरे।

तरुण दलका अध्यक्ष गुरुंगले सभापति देउवा पार्टी एकताको पक्षमा रहेको र सोही कारण वार्ता भइरहेको समेत स्पष्ट पारे । नेपाल तरुण दलका नेता, कार्यकर्ताहरूले पार्टी विभाजन भएपनि पार्टी कार्यालय सानेपा कब्जा गर्न कसैलाई पनि नदिने चेतावनी उक्त भेलामा दिएका थिए ।

बिशेष महाधिबेशनबाट नयाँ नेतृत्वका लागि उमेद्वारको मनोनयन शुरु 

यता विशेष महाधिवेशन निर्वाचन समितिले भने निर्वाचन तालिका सार्वजनिक गरी उम्मेदवार मनोनयनको कामसमेत सुरु गरिसकेको छ । आज साँझ साढे सात बजेसम्म मनोनयन दर्ता गरिने र भोलि बिहान मतदानलगायतको काम सुरु हुने निर्वाचन समितिका संयोजक सीताराम केसीले जानकारी दिए ।

यता, नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचन समितिले उम्मेदवारी मनोनयन दर्ता सुरु गरेको छ । साँझ पौने सातबजेदेखि निर्वाचन समितिले  उम्मेदवारी मनोनयन दर्ता सुरु गरेको हो । आइतबारदेखि विशेष महाधिवेशनको बन्दसत्र जारी रहँदा निर्वाचन समितिले भने निर्वाचनको प्रक्रिया सुरु गरेको हो ।समितिले दिउँसैदेखि उम्मेदवारका आकांक्षीहरूलाई फाराम वितरण गरेको थियो ।

नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन केन्द्रीय निर्वाचन समितिले उम्मेदवारको मनोनयन शुल्क निर्धारण गरेको छ । निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीका अनुसार सभापति पदमा उम्मेदवारी दिनेले ३० हजार रुपैयाँ बुझाउनुपर्ने छ त्यस्तै उपसभापति र महामन्त्री पदका लागि २५ हजार रुपैयाँ शुक्ल बुझाउनुपर्छ । सहमहामन्त्रीका उम्मेदवारले २० हजार र केन्द्रीय सदस्य पदका उम्मेदवारले १० हजार रुपैयाँ बुझाउनुपर्ने केसीले जानकारी दिएका छन् ।

३० पुष २०८२, बुधबार ०१:३९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा