काठमाडौँ, काठमाडौँको भृकुटीमण्डपमा आइतबारदेखि हुन लागेको नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ। नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको समर्थनमा हुन लागेको दोस्रो विशेष महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको विशेष महाधिवेशन पक्षधर समूहले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो।
महाधिबेशनको मञ्च व्यवस्थापन समितिका संयोजक गोविन्द पुडासैनीले विशेष महाधिवेशनलाई सभ्य र भव्य रूपमा सम्पन्न गर्न मञ्च व्यवस्थापनको काम पुरा भएको जानकारी दिए । भृकुटीमण्डपस्थित खुला चौरमा हुने कार्यक्रमको मञ्चमा ५० कुर्सी र मैदानमा ६ हजारभन्दा बढी कुर्सीहरू राख्ने गरी व्यवस्थापन गरिएको उनले बताए ।
मञ्च वरिपरि कांग्रेसको झण्डा, ब्यानर तथा प्रचारप्रसार सामग्री राखिएका छन् । काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट आउने र्यालीलाई व्यवस्थित गराउने गरी तयारी थालिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । आइतबारदेखि सुरु हुँदै गरेको विशेष महाधिवेशनका लागि देशभरबाट महाधिवेशन प्रतिनिधिहरू काठमाडौं आउने क्रम जारी छ ।
विशेष महाधिवेशनमा आउने तीन हजार छ सय प्रतिनिधिका लागि आवासको व्यवस्थापन गरिएको आवास तथा खाना व्यवस्थापन समितिका संयोजक रमेश धमलाले जानकारी दिए । महाधिवेशन प्रतिनिधि बस्नका लागि काठमाडौँको सुन्धारा, बागबजार, ठमेल, एयरपोर्ट, सिनामङ्गल र गौशाला क्षेत्रका विभिन्न होटलमा व्यवस्थापन गरिएको उनले बताए ।
यसैबीच, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई महाधिवेशनको उद्घाटन गर्नको लागि प्रमुख अतिथिको रुपमा आमन्त्रण गरेको निम्तो पत्र बुझ्न देउवाको सचिबालयले अस्वीकार गरेको बताइएको छ । शनिबार दिउँसो विशेष महाधिवेशन अतिथि स्वागत तथा सत्कार समितिका संयोजक रामपल्टन साह निम्तो पत्र बुझाउन सभापति देउवाको निवास महाराजगञ्ज पुगेको भएपनि देउवाका स्वकीय सचिव भानु देउवाले निम्तो पत्र बुझ्न अस्वीकार गर्दै साहलाई सभापतिसँग भेट्न नदिई फिर्ता पठाएको बताइएको छ ।
संस्थापन पक्षका अधिकांश नेताहरूको विरोधबीच महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको माग बाध्यकारी रहेको भन्दै यो विशेष महाधिवेशन आयोजना गरेका हुन् ।















