काठमाडौँ, उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले पार्टीको अध्यक्षमा कुलमान घिसिङलाई चयन गर्ने निर्णय गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता तोडिएसँगै आज शनिबार बसेको पार्टीको बैठकले अध्यक्षमा घिसिङलाई चयन गर्ने निर्णय गरेको हो ।
बैठकपछि पत्रकार सम्मेलन गरी नवनियुक्त अध्यक्ष घिसिङले रास्वपासँग भएको सहमति भङ्ग भएको घोषणा गर्दै अब आफ्नो छुट्टै पार्टीको चुनाव चिह्न लिएर प्रतिनिधिसभाको निर्वाचनमा सहभागी हुने बताए ।
उनले भने, “हाम्रो पार्टीलाई पदका लागि मोलमालाई गरेको भन्ने आरोप रास्वपाले लगाएको छ, यो गलत हो । समावेशिता, सङ्घीयता लगायतको विषयमा पूरक सम्झौता नभएपछि एकता तोडिएको हो ।” यसअघि आँफु वरियता क्रममा तल रहेर उपाध्यक्ष पदमा बसेको समेत स्पष्ट पारे ।
अध्यक्ष बनेका घिसिङले आज नै उज्यालो नेपाल पार्टीको सदस्यता लिएको समेत जनाकारी दिए । उनले भने, “आजै बसेको केन्द्रीय कमिटीको बैठकले अध्यक्षमा मलाइ चयन गरेको हो । अब उज्यालो नेपाल पार्टीलाई मेरो नेतृत्वमा देशव्यापी अभियान संचालन गरेर प्रभावकारी रूपमा चुनावी गतिविधिलाई अगाडि बढाउनेछु ।”
उनले आसन्न प्रतिनिधि सभाको निर्बाचनका लागि उज्यालो नेपाल पार्टीको चुनाब चिन्ह लिएर प्रत्यक्षतर्फबाट उमेदवार बन्न चाहनेहरुको लागि सार्बजनिक आह्वान गरिने समेत बताए ।















