काठमाडौँ, नागरिक सरकारको रुपमा बनेको सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारमा मन्त्री रहेका कुलमान घिसिंग, जगदीश खरेल र बब्लु गुप्तालाई राजनीतिक दलसंग जोडिएको कारण प्रधानमन्त्री स्वयमले राजीनामा दिन आग्रह गरेपनि खरेल र गुप्ताले भने अझैसम्म राजिनामा दिएका छैनन । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकास मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङले अब आफ्नो औपचारिक राजनीतिक यात्रा सुरु भएको घोषणा गरेका छन् ।
बुधबार बेलुका मन्त्री पदबाट राजीनामा दिएपछि आयोजित पत्रकार सम्मेलनमा घिसिङले भने, ‘भोलिदेखि नै मेरो नयाँ राजनीतिक जीवन सुरु हुन्छ । मन्त्रालयको कोठामा बसेर मात्र होइन, अब जनताको बिचमा गएर देश परिवर्तनको नेतृत्व गर्ने मेरो संकल्प छ ।’ उनले जेन–जी आन्दोलनको भावना र जनअपेक्षा पूरा गर्न आफू अब दलीय राजनीतिमा होमिएको स्पष्ट पारे । केही अघि उनले उज्यालो नेपाल पार्टी रास्वपामा मिलाएका थिए ।
घिसिङले आफू कुनै पनि पार्टीको सदस्यता नलिईकनै सरकारमा सहभागी भएको भए पनि अब औपचारिक रूपमा रास्वपासँगको सहकार्यमा अघि बढ्ने संकेत गरे । उनले आफ्नो ‘उज्यालो नेपाल अभियान’ लाई राजनीतिक रूपमा थप सशक्त बनाउन र सुशासन कायम गर्न निर्वाचनमा होमिने घोषणा गरे । पत्रकार सम्मेलनमा उनले पदभन्दा आत्मसम्मान ठूलो हुने र जनभावना नै आफ्नो शक्तिको स्रोत रहेको बताए । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमा भाग लिने मन्त्रीहरूलाई पद त्याग्न दिएको निर्देशनको सम्मान गर्दै उनले मार्ग प्रशस्त गरेका हुन् ।
यसैबीच, युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमण प्रकरणको छानबिन गरी कारबाही गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ मुलुक बचाउने नागरिक (ममुबना) अभियानका प्रमुख युवराज सफलले फर्जी आयोजक र फर्जी निमन्त्रणा पत्रका आधारमा मन्त्रिपरिषद्बाट अमेरिका भ्रमण स्वीकृत गराइएको भन्दै उजुरी दिएका हुन् ।
उजुरीमा आगामी माघ ३ गते अमेरिकामा आयोजना हुने भनिएको ‘रोल अफ एनआरएनए युथ इन द डेभलपमेन्ट अफ नेपाल पोस्ट जेनजी रिभोल्युसन’ कार्यक्रमसम्बन्धी आयोजक नेपाल सरकार, अमेरिकी सरकार वा नेपाली दूतावासको अभिलेखमा नरहेको दाबी गरिएको छ ।
उजुरीकर्ताले मन्त्री गुप्ताले आफ्नो हैसियत दुरुपयोग गरी सामूहिक रुपमा अमेरिका जान खोजिएको भन्दै यसलाई संगठित मानव तस्करीसँग जोडेर अनुसन्धान गर्न माग गरेका छन् । साथै भ्रमण स्वीकृतिसँग सम्बन्धित मन्त्रिपरिषद्को निर्णय, निमन्त्रणा पत्र, आयोजकको कानुनी वैधता र भ्रमण टोलीको विवरण झिकाएर छानबिन गर्नुपर्ने उल्लेख छ । अख्तियारमा दर्ता उजुरीमा दोषी देखिएमा गुप्तामाथि मानव तस्करीसमेतको अभियोगमा कारबाही गर्न र अनुसन्धान अवधिमा मन्त्री पदबाट निलम्बन गर्न माग गरिएको छ ।
















