काठमाडौं, नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका केहि नेताले पार्टीको केन्द्रीय समितिको म्याद जेठसम्म थप गर्ने र महाधिबेशनको नयाँ कार्यतालिका ल्याउने निर्णयप्रति फरक मत राखेको बुझिएको छ । शुक्रबार सम्पन्न पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले म्याद थप सम्बन्धी र महाधिवेशनको नयाँ तालिका सम्बन्धि प्रस्ताब बहुमतले पारित गरिएपछि दुवै महामन्त्रीले फरक मत राखेको बुझिएको छ ।
महामन्त्री थापाले विधानमा भएको बहुमतले पारित गर्ने व्यवस्थाअनुसार नै उक्त निर्णय पारित भएको बताए । महामन्त्री थापाले बैठक पछि संचारकर्मीहरु संग भने ‘आजको बैठकमा कार्यवाहक सभापतिले कांग्रेस केन्द्रीय समितिको म्याद थप गर्दै विधानको धारा ४३ अनुसार पार्टीको महाधिबेशन वैशाख महिनामा गर्ने प्रस्ताव गर्नुभयो, केन्द्रीय समितिले बढीमा एक वर्षको अवधि बढाउन सक्ने विधानको व्यवस्थाअनुसार उहाँले प्रस्ताव ल्याउनुभएको हो।’
‘हामी ४/५ जना साथीहरुले यस बिषयमा फरक मत राख्यौं तर कार्यबाहक सभापतिले राखेको प्रस्ताब बहुमतले पारित गरियो ।’ महामन्त्री थापाको भनाई थियो । बैठकको उक्त निर्णयमा महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा, सहमहामन्त्री फरमुल्लाह मन्सुर, कार्यसम्पादन समिति सदस्य अर्जुननरसिंह केसी र उमा रेग्मीले फरक मत राखेको बुझिएको छ ।

महामन्त्री थापाले पार्टी बिधान अनुसार बहुमतले कार्यसमितिको म्याद थप गर्ने र महाधिबेशनको कार्यतालिका पास गर्ने कुरा हुन्छ भने विधानले ब्यबस्था गरे अनुसारको बिशेष महाधिबेशन गर्ने काम किन नहुने भन्ने प्रश्न गर्दै विशेष महाविधेशन सम्बन्धी व्यवस्था पनि स्पष्टरुपमा नै विधानमा रहेको स्मरण गराउँदै त्यहाँ विधान किन लागु नहुने ? भनी प्रश्न गरे ।
‘पार्टी विधानको धारा १७ (२) ले ४० प्रतिशत महाधिबेशन प्रतिनिधिले महाधिवेशन बोलाउन माग गरेमा तीन महिनाभित्रमा विशेष महाधिवेशन बोलाउनुपर्नेछ भन्ने उल्लेख छ । यो कसैको च्वाइसको कुरा होइन । यो धारा प्रयोग गरेर बुझाएको हस्ताक्षरको ९० दिनको समय सकिन लाग्यो। ९० दिनभित्र विशेष महाधिवेशन काठमाडौंमा हुन्छ ।’ महामन्त्री थापाले आँफुलाई मनलागेको कुरा बिधान अनुसार गर्ने भन्ने तर मन नलागेको कुरा बिधान बमोजिम गर्नुपर्ने भए पनि नगर्ने प्रवृति प्रति असन्तुष्टि प्रकट गरे
उनले विशेष महाधिवेशनसम्बन्धी प्रस्तावमाथि पनि सभापतिले विचार गरेर केन्द्रीय समिति बैठक बोलाएर त्यहीँबाट निर्णय हुने विश्वास लिएको बताउँदै त्यस्तो हुन नसकेमा विधानले दिएको व्यवस्थाअनुसार केन्द्रीय कार्यालयले विशेष महाधिवेशन बोलाउनसक्ने ब्यबस्था भएकोले आँफुहरुले बिशेष महाधिबेशन बोलाउने स्पष्ट पारे । महामन्त्री थापाले अझै पनि १–२ दिनको समय राखेर सभापतिले नै विशेष महाधिवेशन बोलाउँदा राम्रो हुने अपेक्षा आफूहरुले गरेको समेत उल्लेख गरे ।
महामन्त्री थापाले बिशेष महाधिबेशन बोलाउनको लागि केन्द्रीय समितिको बैठकको निर्णय अनुसार र बैठक हुन वा बैठकले निर्णय गर्न नसकेमा केन्द्रीय कार्यालयको तर्फबाट बिधान अनुसार नै बिशेष महाधिबेशन बोलाइने प्रतिबद्दता समेत व्यक्त गरे उनले भने “१–२ दिनको समय छ, सभापति र जिम्मेवार नेताहरुले विधान उल्लंघन गर्नुहुनेछैन। १–२ दिनभित्र केन्द्रीय समिति बोलाएर विशेष अधिवेशन बोलाउनुभयो भने राम्रो हुन्छ। नभए अब समय थप्यौँ, हामी गाउँ जाउँ भन्नुभयो भने मैले विधानको पालना गर्छु । केन्द्रीय कार्यसमितिको बैठक बसेर निर्णय गर्छौँ । केन्द्रले विधानले दिएको अधिकार प्रयोग गरेर विशेष महाविधेशन बोलाउँछ । केन्द्रीय समितिले निर्णय गरेर हुन्छ कि केन्द्रीय कार्यालयले निर्णय गरेर हुन्छ, विशेष महाधिवेशन हुन्छ नै ।”
उनले सबै महाधिवेशन प्रतिनिधिलाई पुस मसान्तभित्र काठमाडौं आइपुग्ने तयारीमा लाग्न पनि अनुरोध गरेका छन । “पुसको मसान्तमा काठमाडौं आउने तयारी देशभरिका साथीहरुले गर्नुहोला, विशेष महाधिवेशनको कार्यविधि केन्द्रीय समितिले बनाउनुपर्ने हो । बनाएन भने विशेष महाधिवेशनको हलबाटै कार्यविधि आफैँ बन्छ ।” पार्टी फुटका सम्बन्धमा पटक–पटक पार्टीकै नेताहरुले भित्र नभइ बाहिर हल्ला फिँजाएको बताउँदै उनले आक्रोश व्यक्त गरे ।
“जस्तोसुकै अवस्था आओस्, जुनसुकै विषम् परिस्थिति आओस् फुट्दैन । फुटाउन दिइँदैन । धारा १७ (२) को व्यवस्थाअनुसार विशेष महाविधेशन हुन्छ,” उनले भने, “हामीले धेरैपल्ट भनिसकेका छौँ, पार्टी फुट्दैन भनेर । अब यो कुरा कसैले सोध्दै नसोधे हुन्छ ।”















