काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) बीच पार्टी एकता भएको छ । काठमाडौँको राष्ट्रिय सभा गृहमा आयोजित पार्टी एकता घोषणा कार्यक्रममा दुवै पार्टीका अध्यक्षहरू राजेन्द्र लिङ्देन र कमल थापाले संयुक्त रूपमा एकता घोषणापत्र सार्वजनिक गरे ।

राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच एकीकरण भएसँगै राजावादी शक्तिहरू एकीकृत भएका हुन् । पार्टी एकतापछि पार्टीको नाम राप्रपा नै रहनेछ। यस अगाडी यहि पुस ९ गते धुम्बाराहीस्थित राप्रपा केन्द्रीय कार्यालयमा दुवै दलका नेताले एकताको समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

२०७८ मंसिरमा राप्रपाको सातौं महाधिवेशन भएको थियो। उक्त महाधिवेशनमा अध्यक्ष पदमा कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा भएकोमा लिङ्देनले जितेका थिए। त्यसको केही समयमै थापाले राप्रपा परित्याग गरेर राप्रपा नेपाल नाममा अर्को पार्टी खोलेका थिए।
२०७८ सालको राप्रपा महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएपछि राप्रपा नेपाल गठन गरेका थापाले राप्रपा नेपाल पार्टी चार वर्षमा राप्रपामै एकता गरेका हुन्।















