Play

रबि लामिछानेको धरौटी शृंखला : ५ करोड २७ लाख बुझाए, २ करोड ६८ लाख बुझाए थुनामुक्त गर्न अदालतको आदेश

गुरुकुल खबर


काठमाडौँ, देशका बिभिन्न स्थानमा रहेका सहकारी संस्थाहरुको रकम अपचलन गरेको अभियोगमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चारवटा अदालतमा ५ करोड २७ लाख धरौटी बुझाइसकेका छन् । उनै लामिछानेलाई बिहीबार उच्च अदालत बुटवल इजलासले २ करोड ६८ लाख रुपैयाँ जमानतबापत राख्न र त्यो राखेमा थुनामुक्त गर्न आदेश दिएको हो ।

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ जमानतवापत राख्न र त्यो राखेमा थुनामुक्त गर्न आदेश दिएको हो । न्यायाधीश बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासमा उनीहरूको मुद्दाको सुनुवाइ भएको हो । लामिछानेले बिगो बापतको रकम बुझाएर थुनाबाहिर बस्नु पाउँ भनी निवेदन दिएका थिए । त्यो वापत उच्च अदालतले थप एक करोड रुपैयाँ धरौटी राख्नसमेत आदेश दिएको छ ।

यसअघि २०८१ माघ १३ गते रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले एक करोड रुपैयाँ धरौटीमा लामिछानेलाई रिहा गर्न आदेश गरेपछि उनी त्यहाँ पनि बैंक ग्यारेन्टी देखाएर रिहा भएका थिए । लामिछानेलाई धरौटीमा छाड्ने सो आदेशविरुद्ध उच्च अदालत बुटवल इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्च अदालतले पनि उच्चकै आदेश सदर गरेपछि लामिछाने जेल चलान भएका थिए ।

यस सहकारीको रकम अपचलनमा २०८१ माघ ६ गते लामिछानेसहित २२ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा पूरक अभियोगपत्र दर्ता गरिएको थियो । जहाँ ५५ करोड ५९ लाख ८३ हजार ८ सय ४२ रुपैयाँ बिगो मागदाबी गरिएको थियो । लामिछानेमाथि व्यक्तिगत दुई करोड रुपैयाँ पनि बिगो दाबी गरिएको थियो ।

२०८० वैशाख ३ मा सुप्रिमको बचत अपचलनमा २८ जनाविरुद्ध ८६ करोड १८ लाख २३ हजार ७ सय ५४ रुपैयाँ बिगो कायम गरी सहकारी ठगीमा मात्र मुद्दा दायर गरिएको थियो । यसअघि लामिछाने काठमाडौँ, कास्की र चितवन जिल्ला अदालतबाट धरौटीमा रिहा भएका थिए । तीनवटै जिल्ला अदालतले तोकेको धरौटी केही घण्टाभित्रै बुझाएका थिए ।

कास्कीको सूर्यदर्शन सहकारी मुद्दामा ६५ लाख धरौटी  

लामिछानेविरुद्ध सर्वप्रथम कास्की जिल्ला अदालतमा पोखराको सूर्यदर्शन सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको थियो । उक्त मुद्दामा जिल्ला अदालत कास्कीका न्यायाधीश नितिज राईको इजलासले २०८१ पुस २५ गते ६५ लाख धरौटी माग गर्ने आदेश दिएको थियो ।

सरकारी वकिलको कार्यालय कास्कीले २०८१ पुस ७ गते जिल्ला अदालत कास्कीमा तीनवटा मुख्य अभियोग दाबी गर्दै उनीविरुद्ध मुद्दा दायर गरेको थियो । लामिछानेसँग सहकारी ठगी गरेको कसुरमा मात्रै ३ करोड ३७ लाख ६५ हजार रुपैयाँ बिगो मागदाबी भएको थियो ।

सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ स्रोत नखुलेको भन्दै सोही बराबर बिगो मागदाबी गरिएको थियो । सम्पत्ति शुद्धीकरण ऐन २०६४ को दफा २७ अनुसार मुद्दा दायर भएपछि उनी संसद् पदबाट निलम्बन भएका थिए ।

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम गैरकानुनी हिसाबले गोर्खा मिडियामा आएको भन्दै गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेमाथि कारबाही गर्न संसदीय छानबिन समितिले सिफारिस गरेपछि प्रहरीले अनुसन्धान गरेको थियो ।

काठमाडौँको स्वर्णलक्ष्मीको मुद्दामा ६० लाख धरौटी 

लामिछानेसहित ३९ जनाविरुद्ध काठमाडौँको स्वर्णलक्ष्मी सहकारीका साढे ५ हजार बचतकर्ताको १ अर्ब १९ करोड संगठित रूपमा ठगी गरेको अभियोगमा २०८१ पुस २१ मा मुद्दा दायर भएको थियो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले लामिछानेलाई २०८१ माघ २ गते ६० लाख धरौटीमा रिहा गर्ने आदेश गरेको थियो ।

स्वर्णलक्ष्मी सहकारी संस्थाको बैंकिङ सफ्टवेयर प्रणालीमा आफ्नो नाम देखिएको सन्दर्भमा लामिछानेले के कसरी त्यो भयो भन्ने जानकारी नभएको तर सहकारीमा आफू ऋणी पनि नरहेको जिकिर गरेका थिए । तर लामिछानेको नाममा गाडी खरिदका लागि समेत सहकारीबाट पैसा लगेको दाबी अभियोगपत्रमा गरिएको थियो ।

चितवनको सहारा सहकारी ठगी मुद्दामा ५४ लाख धरौटी

सहारा चितवन सहकारी ठगीको अभियोगमा लामिछानेसँग ५४ लाख रुपैयाँ धरौटी माग्ने आदेश भएको थियो । चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले लगातार लामिछानेसँग धरौटी माग गर्ने आदेश दिएको थियो । अदालतले माग गरेको धरौटी बुझाए लामिछाने रिहा भएका थिए । रविमाथि सहारा चितवन सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको अभियोग छ ।

उक्त सहकारीको १० करोड ८० लाख १ हजार १५१ रुपैयाँ ६ पैसा गोर्खा मिडियामा प्रवाह गरेको भेटिएको छ । सहकारीको रकम कम्पनीमा लैजानु गैरकानुनी रहेको र यसमा रविसँगै छविलाल जोशी बन्जाडे, जीबी राई र कुमार रम्तेलको संलग्नता रहेको दाबी अभियोगपत्रमा गरिएको छ ।

पर्साको सानोपाइलाको अनुसन्धान हुँदै

लामिछानेविरुद्ध पर्सामा पनि मुद्दा छ । सानोपाइला बचत तथा ऋण सहकारी ठगीको जाहेरीमा उनीमाथि अनुसन्धान भइरहेको छ । लामिछाने मंसिर २५ गते पर्सा पुगेर सानोपाइला सहकारी ठगीमा बयान दिएका थिए । पर्सामा लामिछानेसहित १४ जनाविरुद्ध जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । मंसिर १९ मा उनीविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

यो सहकारीका पूर्वसञ्चालक तथा संरक्षक जीबी राई हुन् । तत्कालीन वीरगञ्ज उपमहानगरपालिकाको ८, १३, १४, १८ र १९ नम्बर वडा कार्यक्षेत्र रहेको सानो पाइला सहकारीले करिब ८०० बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ बचत हिनामिना गरेको थियो ।

अदालतले धरौटी किन माग्छ ?

अदाललते प्रतिवादी विदेश भाग्न नसक्ने र गम्भीर प्रकारको कसुर नभएको अवस्थामा धरौटी माग गर्ने गर्छ । अदालतले विदेशी नागरिकको हकमा धरौटी माग्ने अभ्यास न्यून छ भने स्वदेशी नागरिक र पहिलो सुनुवाइका क्रममा अपराधमा संलग्नताको आधारहरू कम देखिएको अवस्थामा धरौटी माग गर्ने गर्छ ।

अदालतले माग गरेको धरौटी नगद वा बैंक ग्यारेन्टी दुवै राख्न पाइन्छ । अदालतले तोकेको रकम बैंकले ग्यारेन्टी दिन तयार भए अदालतले स्वीकार गर्छ । फैसलाका क्रममा ठहर भए त्यहीबाट बिगो र जरिवाना अदालतले असुल गर्ने गर्छ ।

एक पक्षले अर्को पक्षलाई दिने भुक्तानीको सुनिश्चितता गर्न बैंक जमानी बस्ने व्यवस्थालाई नै बैंक ग्यारेन्टी भनिन्छ । सर्वोच्च अदालतले जारी गरेको धरौटी र जमानीसम्बन्धी निर्देशिकाअनुसार अदालतले बैंक ग्यारेन्टी स्वीकार गर्न सक्ने व्यवस्था छ । यस्तो धरौटी नेपाल राष्ट्र बैंकको ‘क’ वर्गको इजाजतप्राप्त बैंकबाट मात्रै स्वीकार गर्न सकिने अदालतको निर्देशिकामा उल्लेख छ । बैंकहरूले जम्मा भएको रकम रोक्का गरेर वा घर, जग्गा जस्ता अचल सम्पत्ति धितो राखेर पनि ग्यारेन्टी बसिदिने गरेका छन् ।

३ पुष २०८२, बिहीबार २२:३३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा