काठमाडौँ, नेकपा एमालेको ११ औँ महाधिवेशन भक्तपुरको सल्लाघारीमा शुरु भएको छ । नेकपा एमालेका अध्यक्ष एबम पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले रिमोट थिचेर झण्डोत्तल र बत्ति बालेर एमालेको महाधिबेशनको उद्घाटन गरेका थिए। उद्घाटन समारोहमा एमालेका नेता कार्यकर्तासहित विभिन्न पार्टीका नेताहरु अतिथिका रुपमा सहभागी थिए । सल्लाघारीस्थित तीनकुने मैदानमा महाधिबेशनका सहभागीहरुको बाक्लो उपस्थिति रहेको र त्यस क्षेत्रको सुरक्षा व्यवस्था समेत कडा पारिएको छ ।
महाधिबेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद पुनर्स्थापना गराएरै छाड्ने उद्घोष समेत गरे । ‘देशलाई लोकतान्त्रिक बाटोमा फर्काएर छाडिन्छ, संसद पुनर्स्थापना गराएर छाडिन्छ, संविधानलाई ट्र्याकमा ल्याएर छाडिन्छ, यो एमालेको सङ्कल्प हो’, ओलीले यो सङ्कल्पमा सबैलाई लाग्न आग्रह समेत गरे ।

‘यो मानिसहरूको भीड मात्र होइन, देश जोगाउने आन्दोलन र अभियान हो’, ओलीले भने, ‘यसलाई कसैले पनि गल्तीले पनि अन्डर माइन्ड नगरोस् ।’ उनले एमालेको भक्तपुरको उपस्थिति एउटा थोपा मात्र भएको भन्दै एमालेलाई होच्याउने र जिस्काउने काम नगर्न चेतावनी दिए ।
उनले वर्तमान सरकार हिंसाबाट जन्मेको भन्दै सोही कारण आफूहरूले नस्विकारेको र नस्विकार्ने प्रस्ट पारे । ‘हामी हिंसा या युद्ध समय परिवर्तनको साधन हुन सक्दैन, हुन हुँदैन भन्छौँ । जनताको मन जितेर पनि शान्तिपूर्ण ढङ्गले पनि समाज बदल्न सकिन्छ,’ ओलीले थप भने, ‘हामी भन्छौँ अनि प्रहार हुन्छ । विविधता र बहुलता हाम्रो सम्पदा हो दूरी बढाउने विषय होइन भन्छौँ ।’
उनले राष्ट्र, राष्ट्रियता र नेपाली जनताको पक्षमा निर्णय गर्ने एमालेमाथि चौतर्फी प्रहार भएको भन्दै भदौ २४ को विनाशलाई बिर्सन नसक्ने र अपराधीले सजाय पाउनुपर्ने बताए । ‘हामी नविर्सौ त्यो महाविनाशलाई । त्यस दिनको विनाश छानबिन होस्, दोषीलाई कारबाही होस्’, ओलीले भने, ‘त्यो असामान्य परिस्थितमा थप क्षति नहोस् भनेर मैले राजीनामा दिए ।’
ओलीले लोकतन्त्र अजय र लोकतन्त्र अजम्बरी रहेको बताउंदै भने ‘सम्झिरहेको छु तीन महिनाअघिका कहाली लाग्दा दिन । जतिबेला देश आततायीबाट जलाइएको थियो’, ओलीले भने, ‘संविधान र लोकतन्त्रसहितका आधार स्तम्भ राजनीतिक दलमाथि भिषण हमला गरिएको थियो।’उनले जनेजी आन्दोलनपछि पुराना नेता र दलका दिन गए भनेर भाष्य निर्माण गर्न खोजिए पनि महाधिवेशनमा धुवा, खरानी र निषेधलाई चिर्दै जनसागर उर्लिएको बताए ।

सोहि समारोहलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले भदौ २३ र २४ को घटनाको निष्पक्ष छानबिन गर्नुपर्नेमा जोड दिए। खड्काले मुलुकको विषम परिस्थितिलाई राजनीतिक दलहरू एक ठाउँमा उभिएर लिकमा फर्काउन सक्नुपर्ने बताए ।मुलुकका राष्ट्रिय धरोहरदेखि सन्त नेता कृष्णप्रसाद भट्टराईको आश्रम समेत खरानी बनाएको भन्दै खड्काले यी सबै काम किन भए भनेर प्रश्न गरे ।
‘यी विषयमा हामी सबै राजनीतिक दलले निधार खुम्च्याएर, गम्भीर भएर, जिम्मेवारी बोध गरेर नयाँ सङ्कल्प, दृष्टिकोण र सोचका साथ राज्य प्रणालीमाथिको आक्रमणविरुद्ध एकताबद्ध भएर पुनर्निर्माण, भरोसा र डिरेल भएको संविधानलाई लिकमा ल्याएर जनताको अधिकारको रक्षाका लागि सबै दल एक भएर लाग्नुपर्ने छ’, खड्काको भनाइ छ । नेता खड्काले संवैधानिक निकासका लागि सर्वोच्चको आदेश पर्खने र सँगसँगै निर्वाचन भए निर्वाचनमा जानेगरी निर्णय गरेको बताए ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता देव गुरुङले वामपन्थीहरूबिच एकताको विकल्प नभएको बताए । ‘विखण्डित कम्युनिस्ट आन्दोलनलाई एकता नगरी लोकतन्त्र रक्षा गर्न कठिन छ’, गुरुङले भने । साथै उनले नेकपाले कम्युनिस्टहरू एकता प्रक्रिया सुरु गरेको बताए । ‘यतिखेर सङ्घीय लोकतान्त्रिक गणतन्त्र गम्भीर सङ्कटमा छ, संविधान कोमामा छ । मुलुकको राष्ट्रिय स्वाधीनता सुगौली सन्धिपछि सबैभन्दा सङ्कटमा छ’, गुरुङले भने, ‘यो सङ्कट सम्बोधन गर्ने अग्रगामी शक्ति कम्युनिस्ट पार्टी मात्र हुनसक्छ ।’ कम्युनिस्टहरू एकताबद्ध भएर अघि बढ्नुको विकल्प नभएको पनि बताए । ‘सङ्कटको समाधान गर्न सक्षम र सही अर्थमा राष्ट्रवादी हुन सक्छन्। विखण्डित कम्युनिस्ट आन्दोलनलाई एकता नगरी लोकतन्त्र रक्षा गर्न कठिन छ’, गुरुङको भनाइ छ ।

नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले वर्तमान सुशीला नेतृत्वको सरकार अवैधानिक भएकाले समर्थन गर्न नसकिने बताए । महासचिव विप्लवले राजनीतिक दल विना मुलुकको समृद्धि सम्भव नभएको भन्दै नेपाललाई कसैका अधीनमा लैजान नदिने बताए ।उनले मुलुकको निकासका लागि सर्वपक्षीय सरकार गठन गर्नुपर्नेमा जोड समेत दिए । ‘देश जटिल परिस्थितिमा छ । दल छन्, देश छ नेताहरू पनि छन् । तर आज राज्य कहाँ छ ? राज्य छ कि छैन भन्ने प्रश्न उब्जेको छ । यस्तो जटिल परिस्थितिमा महाधिवेशन हुन लाग्दैछ’, विप्लवले भने, ‘एमालेमाथि थुप्रै प्रश्न छ सायद त्यसको जवाफ दिन एमालेले यो कार्यक्रम गरिएको होला ।’
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले संविधान ब्युँताएर मुलुकलाई थप दुर्घटनामा लाने भन्दा पनि नयाँ समझदारी गर्नुपर्नेमा जोड दिए। उनले जेनजी आन्दोलन कसैको उक्साहट मात्र नभई चरम कुशासन र बेरोजगारीको पृष्ठभूमिमा आक्रोश व्यक्त भएको बताए । उनले सरकार, दलहरू र पूर्व राजासहित नयाँ समझदारी गरेर देशले जित्ने निर्णय गर्नुपर्नेमा जोड दिए ।
जनमत पार्टीका उपाध्यक्ष वसन्त कुशवाहाले आफ्नो पार्टी एमालेसँग अझै सहकार्य गर्न तयार रहेको बताएका छन् । उनले देशको विषम परिस्थिति जनमत पार्टी नौलो गणतन्त्रका लागि सङ्घर्ष रहेको.धारणा राखे । उनले प्रदेश सरकार पूर्ण रूपमा सञ्चालित नरहेको बताउँदै उनले एमालेसँग सदैव सहकार्यमा रहेको समेत बताए । आफ्नो पार्टी विगत तीन वर्षदेखि संसदीय राजनीतिमा रहेको बताउँदै उनले त्यसमा एमालेले देखाएको सद्भावप्रति धन्यवाद दिए । कुशवाहाले अगामी दिनमा पनि एमालेसँग सहकार्य हुने अपेक्षा लिएको बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कवीन्द्र बुर्लाकोटीले जेनजी आन्दोलन विस्फोट हुनुमा ३०, ३५ वर्ष राज्यको नेतृत्व गरेका सबै राजनीतिक दलले जिम्मेवारी दिनुपर्ने बताएका छन् । ‘सरकारमा रहेका बेलाको जति भाग आए रास्वपाले समेत जिम्मेवारी लिनेछ’, बुर्लाकोटीले भने– ‘केही घण्टा राज्य विहीनता र प्रधानमन्त्री समेत सेनाको हेलिकप्टबाट हिँड्नुपर्ने अवस्था कसरी आयो भनेर विश्लेषण गर्न जरुरी छ ।’उनले समयमै निर्वाचन गर्न र लोकतन्त्रलाई लिकमा ल्याउने काममा एमाले पछि हट्न नहुने भन्दै बुर्लाकोटीले पार्टी सभापति रवि लामिछानेलाई तत्कालीन सरकारले प्रतिशोधपूर्ण ढङ्गले हिरासतमा राखेको बताए ।
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले राष्ट्र निर्माणका सवालमा आफ्नो पार्टीले सहकार्य गर्न ढोका खुलै राखेको बताएकी छन् । उनले नेकपा एमालेको ११औँ महाधिवेशनले राष्ट्रको स्थिरता, विकास र भावनात्मक एकताको दिशामा नयाँ अध्यायको सुरुवात हुन सकोस् भन्ने शुभकामना दिइन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा झाँकी समेत प्रदर्शन गरिएको थियो। विभिन्न ठाउँबाट निस्केको नेवार, मगर, शेर्पालगायत विभिन्न जातजातिको झाँकीसहित भक्तपुरको सल्लाघारीस्थित मञ्चमा पुगेको थियो । पञ्चैबाजा नौसिङ्गे बाजागाजासहित विभिन्न वेशभूषासहित भक्तपुरका विभिन्न ठाउँ निस्केका थिए ।

















