प्रकाश डोटेल / स्याङ्जा
स्याङ्जाको प्रमुख व्यापारिक केन्द्र वालिङमा प्रथम वालिङ सडक खाना महोत्सव शुरु भएको छ । वालिङ खेल मैदानदेखि सुर्कौँदीपुल सम्म मङ्सिर १९ गतेसम्म संचालन हुने तीन दिने महोत्सवको आयोजना वालिङ् नगरपालिकाले गरेको हो ।
मौलिक खानालाई प्रर्वद्धन गर्दै बजारसम्म पुर्याउने लक्षका साथ आयोजनागरिएको सडक महोत्सवको नारा ‘हाम्रो नगरमा हाम्रै खाना, स्थानीय वृद्धि हाम्रो चाहाना’ रहेको छ । सडक खाना महोत्सवले स्थानीय खानाको संरक्षण तथा दस्ताबेजीकरण, विभिन्न जातजातिको सांस्कृतिक विविधताको प्रचार प्रसार हुने अपेक्षा गरिएको छ ।
२५ वटा स्टल रहेको महोत्सवमा गुरुङ, मगर, नेवार, बाहुन, क्षेत्रि लगायतका जातजातिहरुको मौलिक परिकारको प्रर्दशनी तथा बिक्रि, जातीय एबम परम्परागत नृत्य, भेषभूषा, लोक गीत संगीत, जातिय रितिरिवाज तथा जीवनशैली एकै थलोमा हेर्न सकिनेछ ।
आँधीखोले सभ्यता, स्थानीय इतिहास र समग्र नगरको सांस्कृतिक पहिचानलाई समेटेर आयोजना गरिएको महोत्सवमा स्थानीय चुलो चौकाको स्वाद, पुर्खेउली परिकारदेखि आधुनिक परिकार सम्मको स्वाद लिन पाईने आयोजकले जनाएको छ । महोत्सव सम्पन्न गर्न नगरपालिकाले ६ लाख रुपैया विनियोजन गरेको वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले जानकारी दिए।
महोत्सवमा स्थानीय कृषि उत्पादनहरुको लागि निशुल्क स्टलको व्यवस्था गरिएको छ ।स्थानीय किसानहरुले उत्पादन गरेका फलफूल, तरकारी, बीउविजनतथा कृषि प्रविधि एवं नवीन उद्यमहरुको प्रर्दशनी महोत्सबमा गरिएको छ । राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको प्रस्तुति देखि नगर भित्रका प्रतिभा प्रस्फुटन समेत गरिने व्यवस्था महोत्सबमा मिलाइएको छ ।
प्रथम सडक खाना महोत्सवको उद्घाटन गर्दै जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्रीप्रसाद जिटीले महोत्सवले स्थानीय होटलहरुको प्रर्वद्धन गर्दै मौलिक खानालाई बजार सम्म ल्याउन भूमिका खेल्ने र स्थानीय कलाकार र परिकार तथा उत्पादनलाई प्रबर्द्दन गर्न सहयोग पुग्ने बिश्वास ब्यक्त गरे ।

















