पोखरा, जनप्रिय बहुमुखी क्याम्पसको ३४ औँ वार्षिकोत्सवको सन्दर्भ पारेर यहि मङ्सिर ७ गतेदेखि क्याम्पसमा अतिरिक्त क्रियाकलाप तथा बिभिन्न खेलकुद कार्यक्रम सञ्चालन गरिएको छ। क्याम्पसको वार्षिकोत्सव सप्ताहव्यापी रुपमा विविध कार्यक्रमका साथ मनाइने क्याम्पसले जनाएको छ।
सप्ताहब्यापी कार्यक्रम अन्तर्गत भलिबल, बास्केटबल, टेबल टेनिस, चेस लगायतका खेलहरूका साथै निबन्ध प्रतियोगिता, अंग्रेजी-नेपाली निबन्ध लेखन, वक्तृत्वकला र हाजिरी जवाफ प्रतियोगिता, एकल तथा सामूहिक नृत्य प्रतियोगिता, चित्रकला जस्ता रचनात्मक एवं सिर्जनात्मक कार्यक्रमहरू संचालान गरिने भएको छ।

जनप्रिय बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण बिजुक्छेले खेलाडीहरूलाई भलिबल हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए। प्रमुख अतिथि बिजुक्छेले खेलकुद कार्यक्रमले क्याम्पसको गरिमा बढाउने बताए।
शुभारम्भ कार्यक्रममा क्याम्पस प्रमुख कृष्णबाबु बराल, सहायक क्याम्पस प्रमुख नवीनराज खनाल, अतिरिक्त क्रियाकलाप संयोजक गोपाल बराल लगायत प्राध्यापकहरू, कर्मचारीहरू र विद्यार्थीहरू सहभागी थिए।
खेलकुद कार्यक्रमका सञ्चालक कृष्ण त्रिपाठीका अनुसार आइतबार पहिलो खेल माछापुच्छ्रे र सगरमाथा समूहका बीच, दोस्रो खेल धौलागिरी र गौरीशंकर समूहका बिचमा र तेस्रो खेल गणेश हिमाल र अन्नपूर्णका समूुहका बीच भने चौथो खेल मनास्लु र मकालु समूहका बीच भइरहेको जानकारी दिए ।
क्याम्पसको विद्यार्थी हित शाखा प्रमुख बेदहरी तिमिल्सिनाका अनुसार अतिरिक्त क्रियाकलाप संयोजक गोपालप्रसाद बरालको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको थियो।
७ मंसिर २०८२, आईतवार १६:०२ मा प्रकाशित














