Play

जिल्ला जिल्लामा एमालेको जनसभा: असंबैधानिक सरकारले चुनाबको बाताबरण बनाएन- अधिकारी

गुरुकुल खबर


पोखरा, नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले शनिबार देशका ७७ वटै जिल्लामा जनप्रदर्शनसहित जनसभा गरेको छ । एमालेले भदौ २३ र २४ मा ‘जेनजी’ प्रदर्शनका क्रममा भएका घटनाको निष्पक्ष छानबिन, तोडफोड, लुटपाट र आगजनीमा संलग्नलाई कारबाही तथा प्रतिनिधिसभा पुनःस्थापनालगायत माग गर्दै जनप्रदर्शन र जनसभाको आयोजना गरेको हो। यसअघि एमालेले यही कात्तिक २२ गते देशका सबै वडामा वडा भेला र कात्तिक २५ गते ७५३ वटै पालिकास्तरमा भेला  सम्पन्न गरिसकेको छ ।

पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले दिएको जानकारी अनुसार तेस्रो चरणको कार्यक्रमअन्तर्गत आज जिल्लास्तरमा जनसभा गरिएको हो। जिल्लामा हुने सभालाई पार्टीका केन्द्रीय नेतादेखि शीर्ष नेताहरूले सम्बोधन गरेका छन् । उनका अनुसार आजको जनसभामा महासचिव शङ्कर पोखरेलले बाँकेको नेपालगञ्ज, उपमहासचिव प्रदीप ज्ञवालीले गुल्मी र उपमहासचिव पृथ्वीसुब्बा गुरुङले लमजुङको आमसभालाई सम्बोधन गरेका छन् । यसैगरी रुपन्देहीको कार्यक्रममा सचिव छविलाल विश्वकर्मा, झापाको विर्तामोडमा सचिव पद्मा अर्याल र कैलालीको धनगढीमा सचिव लेखराज भट्टले सम्बोधन गरेका छन्।

पोखरामा जनप्रदर्शन: संसद पुनस्थापना गरेर सुशासन प्रर्वद्धन र भ्रष्टाचार नियन्त्रणको काम गर्नुपर्नेमा अधिकारीको जोड 

यसैबीच बिभिन्न जिल्लामा जनप्रदर्शन र जनसभा गर्ने क्रममा नेकपा (एमाले) जिल्ला कमिटी कास्कीले शनिबार पोखरामा जुलुस प्रदर्शन सहित खबरदारी सभाको आयोजना गर्यो । स्थानीय सिर्जनाचोक, बुद्धचोक र नयाँबजारस्थित बृहस्पति पेट्रोल पम्प अगाडिबाट निस्केको जुलुस पोखरा पृथ्वीचोकमा पुगेर सभामा परिणत भएको हो ।

सभामा एमाले स्थायी समिति सदस्य खगराज अधिकारीले शान्तिपूर्ण वातावरण नबनेसम्म फागन २१ को चुनाव हुन नसक्ने अडान राखे । उनले संविधान विपरीत बनेको सरकारले हर्ष बढाई गरेको भरमा चुनाव नहुने तर्क गरे । जनताप्रतिको उत्तरदायी संस्था संसद भएको उल्लेख गर्दै उनले उनले छिटो संसद पुनस्थापना गरेर रोड म्याप बनाएर सुशासन प्रर्वद्धन र भ्रष्टाचार नियन्त्रणको काम गर्न सकिने जनाए ।

जेन्जीको प्रर्दशनका क्रममा नेपाल प्रहरीको लुटेको हतियार फिर्ता र फरार अपराधीलाई जेल नहालेसम्म चुनावको वातारण बन्न नसक्ने उनले उल्लेख गरे । ‘प्रहरीका लत्ताकपडा, हातहतियार, गोला, बारुद सरकारसँग छैन । प्रहरीले प्रयोग गर्ने गोलाबारी बाहिर छन्,’ उनले भने, ‘बलत्कार, ज्यान केस, चोरी डकैतीमा संलग्न व्यक्ति जेलबाट फरार छन् । प्रहरीका तिनै हातहतियार र पोशाकका साथ मतदान केन्द्रमा आउन सक्छन्, जसको कारण नेपाल प्रहरी भ्रममा पर्न सक्छन्।’

गण्डकी प्रदेश सरकारका पुर्व मुख्यमन्त्री समेत रहेका अधिकारीले लुटिएका हतियार फिर्ता र फरार अपराधीलाई जेल हालेर शान्तिपूर्ण वातावरण नबनेसम्म चुनाव हुन नसक्ने बताए । उनले यथास्थितिमा चुनाव गरे मतदान केन्द्र रणभूमि बन्न सक्ने दाबी गरे । नेता अधिकारीले चुनावको प्रचारमा जान पर्ने एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई काठमाडौंको चार किल्ला बाहिर जान नदिने अधिकार कसैलाई नभएको उल्लेख गरे ।

व्यक्तिलाई स्वतन्त्र रुपमा हिड्डुल गर्न नदिने काम संविधान विपरीतको कदम भएको दाबी गर्दै उनले अध्यक्ष ओलीलाई काठमाडौं बाहिर जान नदिएर चुनाव हुन नसक्ने बताए । उनले प्रधानमन्त्री सुशीला कार्कीले दलका नेतासँग संवाद नगर्ने, अनुहार नहेर्ने भन्ने तथा दलका नेतालाई स्थानहद तोकेर प्रचारप्रसारमा जान नदिएर चुनाव हुन नसक्ने अडान राखे।

जेन्जी पुस्ताको आन्दोलनको नाममा व्यवस्था समाप्त गर्ने प्रयत्न भएको दाबी गर्दै नेता अधिकारीले एमाले सरकारमा हुँदा ५ दशमलव २ प्रतिशतको विकास दर अहिले २ प्रतिशतमा झर्नु पश्चगमन भएको तर्क गरे । सरकारी भवन, निजी आवास तथा उद्योग प्रतिष्ठानमा आगजनी तोडफोड र लुटपाटका घटनाले धेरैको रोजगारी गुमेको चर्चा गर्दै उनले घटनाको निश्पक्ष छानबिन गर्न अर्को आयोग गठन गर्न माग गरे।

जनसभामा नेकपा एमालेका पोलिटब्युरो सदस्य जगत विश्वकर्मा, केन्द्रीय सदस्य कृष्ण थापा, कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्री, उपाध्यक्ष भेषराज बराल, सचिव दर्शन लामा लगायतले बोलेका थिए । सभामा पार्वती जिसी लगायतका कलाकारले गीत संगीत प्रस्तुत गरेका थिए।

२९ कार्तिक २०८२, शनिबार २२:४४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा