Play

स्काउटको जग्गामा डोजर प्रकरण: खड्का ल्याण्ड प्रालि मेरो स्वामित्वमा छैन, मेरो चरित्रहत्या गरियो- पुर्वमन्त्री खड्का

खड्का ल्याण्ड मेरो एकल स्वामित्वमा छ, गैरकानुनी तरिकाले बल प्रयोग गर्दा करोडौं क्षती भयो , कानुनी उपचारमा जान्छौं- बिकल क्षत्री


गुरुकुल खबर


काठमाडौँ,  नेपाली काँग्रेसका नेता एवं पूर्वऊर्जामन्त्री दीपक खड्काले नेपाल स्काउटको जग्गामा रहेको खड्का ल्यान्ड डेभलपमेन्ट प्रालि आफ्नो स्वामित्वमा नरहेको बताएका छन् । बिहीबार एक विज्ञप्ति जारी गर्दै उनले खड्का ल्यान्डमा आफ्नो स्वामित्व नरहेको स्पष्ट पारेका हुन् ।कुनै पनि स्वामित्वसमेत नरहेको खड्का ल्यान्डसँग चरित्रहत्या गर्ने उद्देश्यले बारम्बार नाम जोडेको पूर्वऊर्जामन्त्री खड्काको भनाई छ । यसले व्यक्तिगत र राजनीतिक जीवनमा आघात पुगेको समेत उनको भनाई छ ।

नेता खड्काले विज्ञप्ति मार्फत भनेका छन्, ‘नेपाल स्काउटको भाडा विवादको विषयमा मेरो नाम जोडेर विभिन्न सञ्चार माध्यममा आएका समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । मेरो कुनै पनि स्वामित्वसमेत नरहेको खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिसँग बारम्बार नाम जोडेर चरित्रहत्या गर्ने उद्देश्यले विभिन्न सञ्चार माध्यममा प्रकाशित र प्रसारित समाचारले मेरो व्यक्तिगत र राजनीतिक जीवनमा गम्भीर आघात पुगेको छ ।’ उनले आफू हरेक कुरामा पारदर्शी र जबाफदेही रहेको भन्दै केही समूहले राजनीतिक प्रतिशोध साँध्ने र चरित्र हत्या गर्ने उद्देश्यले स्काउटसँग आफ्नो नाम जोडेको बिज्ञप्तीमा उल्लेख गरेका छन ।

‘केही गिरोहले आफ्नो क्षणिक स्वार्थका लागि मेरो नाम जोडेर बदनाम गराउने र मेरो राजनीतिक प्रतिसोध साँध्ने खेलमा लागेका छन् । मेरो जीवन खुला किताबजस्तो हो । मेरो हरेक कुरा पारदर्शी र जबाफदेही छ । राज्यको चौथो अङ्ग रूपमा रहेको सञ्चार जगतले सत्य, तथ्य र निष्पक्ष समाचार प्रकाशित गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु,’उनले विज्ञप्ति मार्फत भनेका छन् ।

खड्का ल्यान्डले लामो समयदेखि काठमाडौँ लैनचौरस्थित नेपाल स्काउटको जग्गामा संरचना बनाएर जग्गाको भाडासमेत नतिरेको भन्दै विवाद उत्पन्न भएको थियो । त्यससँगै बिहीबार युवा तथा खेलकुद मन्त्रालयले काठमाडौँ महानगरको सहायतामा खड्का ल्यान्डको संरचनामा डोजर चलाएको थियो।

बिहिबार बिहान महानगर प्रहरीहरु डोजरसहित पुगेर संरचनाहरु भत्काएका हुन्। स्काउटले २०६५ सालमा भाडामा दिएको ३ रोपनी जग्गामा खड्का ल्याण्डले लैनचौर ब्याङ्क्वेट खोलेको छ। त्यस्तै, माई च्वाइस नामक रेस्टुरेन्टको संरचना पनि बनाइएको छ। स्काउटका दुई वटा व्यवसायिक भवनसमेत खड्का ल्याण्डले भाडा लगाइरहेको छ। दुई व्यवसायिक भवनमध्ये पहिलोमा ३६ र दोस्रोमा १२ वटा पसल रहेका छन्।यी दुई भवनमध्ये पहिलो भवन २०६३ र दोस्रो २०६४ सालमा टेन्डर गरेर खड्का ल्याण्ड डेभलपमेन्टलाई दिइएको थियो।

यसैबीच खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिका अध्यक्ष विकल क्षत्रीले पनि एक बिज्ञप्ती जारी गर्दै २०७९ भदौ १३ गतेदेखि आंफुले एकल स्वामित्व कायम गरेर कम्पनि चलाउँदै आएकोमा पुर्व मन्त्री खड्काको नाम समेत जोडेर दुष्प्रचार गरिएको भन्दै आपत्ति प्रकट गरेका छन।

उनले नेपाल स्काउटसंगको सम्झौता अबधि अझै ३ बर्ष बाँकी रहेको भन्दै अदालतको आदेश समेत पालना नगरी बल प्रयोग गरेर बिरेन्द्र कुमार श्रेष्ठ र राजेन्द्र कुमार पौडेलले करोडौं लगानी गरेर संचालन गरिरहेको लैनचौर बेन्क्युट र माई च्वाइस रेस्टुरेन्ट भत्काइएकोमा आपत्ति प्रकट गरेका छन। अदालतमा विचाराधीन बिषयमा गैरकानुनी तरिकाले हस्तक्षेप गरिएको भन्दै आन्फुहरु कानुनी उपचारमा जाने उनले बताएका छन।

२८ कार्तिक २०८२, शुक्रबार ११:०५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा