पोखरा, नेपाल प्रहरीको ३३ औं प्रमुख (आइजिपी) अर्थात प्रहरी महनिरिक्षक पदमा सरकारले दानबहादुर कार्कीलाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले अतिरिक्त प्रहरी महनिरिक्षकको जिम्मेवारीमा रहेका कार्कीलाई नियुक्त गरेको सञ्चार, सूचना तथा प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए। कार्की हाल काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख छन्।
अहिलेका आइजिपी चन्द्रकुबेर खापुङ कात्तिक २६ गते रातिदेखि अवकाशमा जाँदैछन्। त्यसअघि नै सरकारले कार्कीलाई आइजिपीमा नियुक्त गरेको हो।
उनी नेपाल प्रहरीमा एसएसपी हुँदा जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुख भएका थिए। त्यतिबेला नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरी मुद्दा समेत दर्ता भएको थियो। कार्की २०२९ साउन १५ गते गुल्मीमा जन्मिएका हुन्। उनी २०५४ चैत १८ गते प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका थिए।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा कार्कीले आन्दोलनकारीहरु र रबि लामिछानेलाई जेल बाट निकाल्न सहयोग गरेको भन्दै कार्कीको पनि आलोचना निकै भएको थियो तर सरकारले कार्कीलाई नै प्रहरी प्रमुख नियुक्त गरेपछि यसबारेमा थप बहस हुनसक्ने देखिएको छ




















