काठमाडौँ, राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने निर्वाचनको महायज्ञलाई सफल पार्दै इतिहास रच्न जेनजीहरूलाई आग्रह गरेका छन । राष्ट्रपति भवन शीतल निवासमा विहिबार राष्ट्रपति पौडेलले अन्तरिम सरकारसहित जेनजी अभियान्तहरूसँगको छलफलमा उक्त कुरा बताएका हुन । युवा पुस्ताले चलाएको आन्दोलनले चाहेको देश साच्चिकै भ्रष्टाचार, नातावाद, कृपावाद मुक्त होस्, पक्षपातपूर्ण व्यवहारबाट मुक्त होस र सही मानिसले देश चलाओस् भनेर नै नयाँ चुनाव घोषणा गरिएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले यो चुनावलाई सामान्य रुपमा नलिई राष्ट्रको काँचुली फेर्ने महाअभियानका रुपमा लिएर अगाडी बढ्न युवाहरुलाई आग्रह गरेको पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
‘यो चुनावमा तपाईं युवाहरू अघि सरेर राम्रो प्रतिनिधिसभा बनाउनुस्, भ्रष्ट र बदमास जित्न नपाउन्, असल र इमान्दारहरू जितेर आउन,’ राष्ट्रपति पौडेको भनाई उदृत गर्दै पोखरेलले भने–‘त्यसपछि देश न्यायको बाटोमा जानुपर्छ, सुशासनको बाटोमा जानुपर्छ र मुलुकले उन्नति गर्नुपर्छ । र, युवाहरू बाध्याताले विदेश पलायन हुने अवस्थाको अन्त्य हुनुपर्छ ।’
राष्ट्रपति पौडेलले यो संविधान र संसदीय प्रणालीमा राष्ट्रपति कार्यकारी नभएपनि युवाहरूले गरेको आन्दोलनको सम्मान गर्न आफ्नो उपस्थितीमा सरकारलाई समेत सहभागि गराएर जेनजीहरूका प्रतिनिधिलाई राखेर छलफल गरेको उल्लेख गर्दै आन्दोलनकारीहरूका बाँकी मागका बारेमा सरकारले ध्यान दिने बिश्वास ब्यक्त गरे ।
अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले बृद्ध उमेरमा पनि स्वास्थ्यलाई ख्याल नगरी राष्ट्रपतिले देशको विषम परिस्थितिलाई सम्हाल्न गरेको अथक प्रयासका प्रशंसा गर्दै राष्ट्रपतिले युवाहरूलाई गरेको आग्रह राष्ट्रपिताको जस्तो भावुक र मार्मिक रहेको बताईन । उनले राष्ट्रपति कलिलो उमेरदेखि नै देश र जनतका लागि निरन्तर संर्घष गरेको परिपकव नेता भएको उनले उल्लेख गरिन ।
जेनजीका प्रतिनिधिहरूले युवाहरूको आन्दोलन सामाजिक आर्थिक न्यायका लागि कुशासन र भ्रष्टाचार विरुद्ध भएको उल्लेख गर्दै संविधान, लोकतन्त्र, संघीयता, समावेशीता विरुद्ध नरहेको स्पष्ट पारेका थिए । उनीहरुले आफूहरू सम्पूर्ण रुपले निर्वाचन सम्पन्न हुनुपर्छ भन्नेमा दृढ रहेको उल्लेख गर्दै तर त्यसका लागि आन्दोलनलाई मान्यता दिदै आन्दोलनका मागहरू पूरा हुनुपर्नेमा जोड दिए ।
बैठकमा अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीसहित सबैमन्त्री सहभागी थिए । बैठकमा मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापा, शिव यादव, उर्पाजुन चाम्लिङ, निकुन्ज भण्डारी, रिजन राना, बब्लु गुप्ता, ओजस्वीराज थापा, पुरुषोत्तम यादव, आदित्य आचार्य, खेमराज साउद, अप्सना बानु, प्रदीप पाण्डे, गुन्जन शाह ठकुरी र धिरज जोशी सहभागी थिए ।















