पोखरा, नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज मंगलवारको लागि डाकिएको छ । तर, बैठक अगाडी नै सभापति शेरबहादुर देउवा र पार्टीका महामन्त्रीद्वय गगन थापा एबम विश्वप्रकाश शर्मासहित केही पदाधिकारीहरूसहित कार्यसम्पादन समितिको बैठक गरेपछि मात्र केन्द्रीय समितिको बैठक बस्ने भएको छ। केन्द्रीय कार्यसम्पादन तथा केन्द्रीय समिति बैठक बस्नुअघि सभापति देउवाले केही पदाधिकारीहरूसँग छलफल गर्न लागेको बुझिएको छ। उक्त बैठक सकिएपछि केन्द्रीय समितिको बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ।
कांग्रेस केन्द्रीय समितिको बैठक बस्ने दिनसम्म पनि बैठकका एजेन्डा निश्चित भैसकेको छैनन। केन्द्रीय समितिमा सभापतिको परामर्शमा महामन्त्रीहरूले एजेन्डा पेस गर्ने प्रचलन छ। महामन्त्री गगन थापाले यो कार्यसमितिको म्याद थप गर्ने प्रस्ताव आफूले केन्द्रीय समितिमा पेस नगर्ने सार्वजनिक रूपमा बताइसकेका छन्। पदाधिकारी तथा केन्द्रीय कार्यसम्पादन समिति बैठक उपसभापति पूर्णबहादुर खड्का नेतृत्वमा केही दिनदेखि बसे पनि केन्द्रीय समितिका एजेन्डा तय हुन सकेको छैन। मंसिरभित्रै नियमित महाधिवेशन गर्न सकिने वा नसकिने तथा विशेष महाधिवेशनमा जाने वा नजानेबारे मुख्य रूपमा छलफल हुने बुझिएको छ।
पार्टीका अधिकांश नेता र कार्यकर्ताहरु यथाशिघ्र नियमित महाधिबेशन हुनुपर्ने पक्षमा रहेको भएपनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बिशेष महाधिबेशन गर्नुपर्ने भन्दै हस्ताक्षर संकलन अभियाननै चलाएका थिए नेता शेखर कोइरालाले पनि मंसिरभित्रै नियमित महाधिवेशन गर्नुपर्ने पक्षमा छन । तर सभापति देउवा पक्ष भने नियमित महाधिबेशन गर्नुपर्ने पक्षमा रहेपनि मंसिरभित्र नियमित महाधिवेशन गर्न तयारी नपुग्ने बताउँदै बताउंदै आएको बुझिएको छ।
मंसिरभित्र नियमित महाधिवेशन नभएका खण्डमा विशेष महाधिवेशनमा जानुपर्नेमा महामन्त्री थापा र शर्मा छन्। महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्न हस्ताक्षर गरेका छन्। हस्ताक्षर संकलन अभियानमा सक्रिय नेता गुरूराज घिमिरेका अनुसार अहिलेसम्म ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले शिघ्र महाधिवेशनको माग गर्दै हस्तक्षर गरिसकेका छन्। आज केन्द्रीय समिति बैठकअघि केन्द्रीय कार्यालयमा हस्ताक्षर बुझाउने तयारी रहेको उनले बताए।
जेनजी पुस्ताको भदौ २३ र २४ गते भएको आन्दोलनमा प्रदर्शनकारीहरूले सभापति देउवा दम्पतीमाथि घरमै सांघातिक आक्रमण गरेका थिए। त्यसपछि उपचारमा रहेका देउवा दम्पति सार्वजनिक रूपमा देखिएका छैनन आज दिउँसो १ बजे केन्द्रीय समिति बैठकमा भने देउवा उपस्थित हुने प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए। सभापति देउवाले आफै सभापतिमा निरन्तरता दिने वा उपसभापति पूर्णबहादुर खड्का वा अरू कसैलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिन्छन भन्ने कुरा भने अझैसम्म यकिन भइसकेको छैन।















