काठमाडौँ, सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने शीर्ष नेताहरूसंग छलफलमा बस्न नमानेपछि राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरू र विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दोश्रो तहका नेताहरुसंग छलफल गर्ने भएका छन् । शुक्रबार (आज) अपराह्न चार बजे राष्ट्रपति पौडेलले सरकार र सबै राजनीतिक दलका दोश्रो तहका नेताहरूसँग शीतलनिवासमा निर्वाचनबारे छलफल गर्न लागेको स्रोतले जानकारी दिएको छ।

बिहीबार नै अन्तरिम सरकारकी प्रधामन्त्री कार्की सहित अर्थमन्त्री रामेश्वर खनाल र संचारमन्त्री जगदिश खरेल राष्ट्रपति पौडेललाई भेट्न शीतलनिवास पुगेका थिए। भेटमा राष्ट्रपति पौडेलले निर्वाचनको बारेमा चासो राख्दै सबै राजनीतिक दलहरूसँग संवाद र पहल गर्नुपर्ने बताएका थिए । निर्वाचन आयोगले निर्बाचन कार्यतालिका स्वीकृत गरिसकेको भएपनि सरकारले संवाद अगाडि नबढाएको भन्दै राजनीतिक दलहरूले प्रश्न उठाइरहेका छन्। निर्बाचनको मिति फागुन २१ गतेको लागि तय गरिएको छ।
प्रधानमन्त्री कार्कीले निर्वाचनको वातावरण बनाउन दलहरूसँग संवादको पहल गरिदिन राष्ट्रपति पौडेललाई अनुरोध गरेकी थिइन्। सोही अनुसार राष्ट्रपति पौडेलले शुक्रबार बस्नेगरी सरकार र विघटित प्रतिनिधि सभामा रहेका सबै दलहरूलाई छलफलमा बोलाएको स्रोतले जनाएको छ। तर अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीले अहिले नै शीर्ष नेताहरूसंग छलफलमा बस्दा असहज हुने भन्दै दोश्रो तहका नेताहरूबाट छलफल थालिदिन आग्रह गरेको बताइएको छ ।
यसैबीच आगामी फागुन २१ गतेको दिन निर्वाचन गर्ने भनि मिति सार्वजनिक भइसकेको भएपनि सरकार अझै संवाद र सहमतिको बाटोबाट टाढा रहेको भन्दै एमालेका नेता महेश बस्नेतले सरकारको आलोचना गरेका छन । सरकारले गर्नुपर्ने काम राष्ट्रपतिले गर्न लागेक भन्दै बस्नेतले
प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगको तयारीलाई मुखौटा बनाएर राजनीतिक संवाद टार्ने कोसिस गरिरहेको भएपनि राष्ट्रपति पौडेलले संविधानको आत्मा जोगाउने प्रयास स्वरूप पहल थालेको बताएका छन।

आफ्नो सामाजिक संजाल फेसबुकमा लेख्दै एमाले नेता बस्नेतले राष्ट्रपतिको पहललाई असफल बनाउन खोज्नेहरूले देशलाई फेरि अस्थिरतामा धकेल्न चाहिरहेको उल्लेख गरेका छन। उनले लोकतन्त्रको प्रतिको सरकारको प्रतिबद्धताको परीक्षा अहिले हो भन्दै संवादबाट होइन, अदूरदर्शी अहंकारबाट सरकार चलाउने प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको उल्लेख गरेका छन।














